बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री शिल्पाका कारण प्रकाश सुवेदीका दुबै कार्यक्रम निलम्बन

सोमबार, ०६ वैशाख २०७८, १९ : ०७
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा  चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजत पट’ अहिलेलाई निलम्बनमा परेको छ । एपिवान टेलिभिजनले अभिनेत्री शिल्पा पोखरेलको उजुरीको आधारमा कार्यक्रम अहिलेलाई स्थगित गरेको हो । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै कार्यक्रम विरुद्ध टेलिभिजनमा उजुरी दिएपछि टेलिभिजनले छानबिनका लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले बताए ।

‘दुवै कार्यक्रम अब चल्दै नचल्ने गरेर बन्द गरिएको होइन । अहिले प्रसारमात्र स्थगित गरिएको हो’ निर्देशक पौडेलले भने ‘शिल्पाको उजुरीको आधारमा कार्यक्रम छानबिन भैरहेको छ । त्यसपछि मात्र चल्छ चल्दैन टुङ्गो लाग्नेछ ।’ कार्यक्रम अब प्रसारण नै हुँदैन भनेर अहिले भन्न नमिल्ने पौडेलको भनाई रहेको छ ।

कार्यक्रम सञ्चालन प्रकाश सुवेदीले कार्यक्रम निलम्बन भएको मिडियाबाट सुन्दा आफु पनि आश्चर्यमा परेको बताए । ‘मेरो कार्यक्रम निलम्बन भएको अहिले समाचार आइरहेको छ । हो, होइन केही थाहा छैन’ सुवेदीले भने ‘त्यस विषयमा आधिकारिक पत्र हात परेपछि भनौँला ।’ टेलिभिजनको पत्र हात परेपछि मात्र यो विषयलाई आफुले आधिकारिक मान्ने सुवेदीको भनाई रहेको छ ।
आफु अहिले पनि नयाँ कार्यक्रम बनाइरहेको बताएका सुवेदीले कार्यक्रममा आफुले कसैको चरित्र हत्या नगरेको दाबी समेत गरे । ‘मैले कार्यक्रममा प्रमाणसहित सबै बिषय प्रप्ट पारेको छु’ सुवेदीले थपे ‘चित्त नबुझे फेरि युट्युवमा हेर्दा हुन्छ ।’
एपिवान टेलिभिजनले कार्यक्रम बन्द गरेपनि आफुलाई केही फरक नपर्ने सुवेदीले बताए । उनले अगाडि भने, ‘मलाई कार्यक्रमका लागि धेरैले बोलाएका छन् । म गलत छैन ।’ एक टेलिभिजनले कार्यक्रम बन्द गर्दैमा आफ्नो कार्यक्रम नरोकिने बताएका सुवेदीले कुनै टेलिभिजनले कार्यक्रम नदिए युट्युवमा भएपनि जारी राख्ने सुनाए ।

केही दिन अगाडि सुवेदीले आफ्नो कार्यक्रममा अभिनेत्री शिल्पाका पूर्व पति छविराज ओझाको अन्तरवार्ता प्रस्तुत गरेका थिए । उक्त अन्तवार्तामा आफ्नो थप चरित्र हत्या प्रयास गरेको भन्दै शिल्पा एपिवान टेलिभिजन पुगेकी थिइन् । यस अगाडि सुवेदीले शिल्पाको पहिलो पतिको विषयमा पनि समाचार बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप