शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली भारतको शरणमा पुगे : सभापति देउवा

सोमबार, ०६ वैशाख २०७८, १८ : ३१
सोमबार, ०६ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन् । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरू अवसरवादी भएकोले अहिले नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए । आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि बताए ।

उनले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद । त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन । यिनीहरु खाली एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन । आर्ट अफ पोसिबिलिटी पनि भन्छन त्यसकारण हामीहरू लागिरहेका छौं ।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए । उनले भने, ‘नेपालमा धेरै ठूलो चुनौति आएको छ । प्रजातन्त्रमाथि खतरा आएको छ । एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हर ठाउँमा हतकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ । अर्कोतिर पाण्डामिकको पनि हाहाकार छ । त्यसैले ओलीलाई हटाउन चाहिहाल्छु नी किन चाहँदैन मैले । कुरा के हो भने स्योरसट हुनुपर्यो । त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ । अहिले मैले केही भन्न सक्ने अवस्था छैन । झुट बोलेर काम पनि छैन् । मैले तपाईहरुलाई भनिसके प्रचण्डको पार्टीले फिर्ता लिएकै छैन । बहुमतको सरकार छ त्यहाँ । अहिले सम्म बहुमतको सरकार भन्नु प¥यो नी फिर्ता निलए सम्म त । माओवादी र एमाले मिलेर बहुमत छ । के गर्ने अब । प्रचण्डले फिर्ता लिएका छैनन् ।’ 

कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्य सहित अगाडि बढिराखेको बताए । त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपूर दुरुपयोग भइरहेको पनि बताए । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप