‘नक्कली डाक्टर’: एसएलसीको मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबीबीएस !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार भक्तपुर, ललितपुर र मोरङ लगायतका ठाउँबाट ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुमाथि लगाएको आरोप छ– ‘लिखत सम्बन्धी कसुर ।’ नक्कली भनिएका चिकित्सकहरुले प्रवेशका परीक्षा (एसएलसी)को मार्कसिट फेरबदल गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्म मिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए ।
ब्यूरोको टोलीले त्यसरी मार्कसिट सच्याउने मध्येका धेरैलाई कार्यरत अस्पतालबाट नै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवास प्रसाद शाह र काठमाडौंको चावहिलस्थित दीर्घायु गुरु अस्पतालमा कार्यरत मोहम्मद साहिद राजा छन् ।
सप्तरी घर भएका अखिलेश कुमारदेव विराटनगरस्थित बरगाछीबाट पक्राउ परेका हुन् । महोत्तरी घर भएकी पल्लवी सिंहलाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको छ । ललितपुरको सानेपा घर भएका फराज हुसेन खाँलाई ललितपुरबाट पक्राउ गरिएको ब्युरोका डिआइजी सहकुल थापाले बताए ।
पल्लवी किस्ट मेडिकल कलेजमा एमबीबीएस पढ्दै छिन् । अन्य ६ जनाले बंगलादेश र चिनबाट एमबीबीएसको पढाई पुरा गरेका छन् । एसएलसीको सर्टिफिकेटमा नम्बर तलमाथि गरेर उनीहरुले एमबीबीएस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।
‘आरोपीको वास्तविक सर्टिफिकेट र काउन्सिलमा पेश गरेको एसएलसीको सर्टिफिकेट फरक देखिएको छ’ डिआइजी थापाले भने– ‘हामी थप अनुसन्धान गर्दै छौं ।’ मार्कसिटमा विवरणहरू सच्याइएको आरोपमा ब्यूरोले उनीहरुलाई लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । व्यक्तिगत लाभको लागि सरकारले जारी गर्ने मार्कसिट किर्ते गरेको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
आरोपीलाई डाक्टर पढ्नका लागी बंगलादेश र चीन पठाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बागबजारस्थित ज्योती दिप इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध