बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

सोमबार, ०६ वैशाख २०७८, १७ : ०४
सोमबार, ०६ वैशाख २०७८

– शर्मिला पाठक
काठमाडौं । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । 

मङ्गलबार टावरको साज सज्जाको सम्पूर्ण काम सकिने छ । यही वैशाख ११ गते ११ः०० बजे उद्घाटनको तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ । 

सम्पदा विज्ञ मानन्धरका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भइरहेको जानकारी दिए । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो । गोरखा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको प्रधानमन्त्री ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ । समग्र रुपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको छ । धरहरा पुनःनिर्माणको योजना प्रबन्धक श्याम श्रेष्ठताअनुसार आफूहरुले प्राधिकरणसँग थप २१ महिनाको समय माग गरेको तर आठ महीना मात्रै थपिएको छ । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किल रहेको बताइएको छ ।
‘धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्यीकरण र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुनसक्छ’ प्रबन्धक श्रेष्ठले भने  । रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनः निर्माणमा रु तीन अर्ब ४८ करोड लाग्ने बताइएको छ । निर्माणका लागि अहिलेसम्ममा रु दुई अर्ब १० करोड सकिएको बताइन्छ । 

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ । त्यसमा दुई लिफ्ट पनि छन् । साथै एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिने व्यवस्था गरिने छ । बयालीस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेस रहनेछ । 

धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतका सुविधा हुने छन् । गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइ सकिएको छ । पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेना गृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

बालबालिका तथा ज्येष्ठ नागरिक मैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ । पुरातात्विक हिसाबले महत्व बोकेका काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।  
धरहराको १८ औँ तलामा अवलोकन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउण्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । 

विगतको ११ तले धरहरा विसं १९९० सालको भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो । ऐतिहासिक धरोहर धरहरा विसं १८३२ मा भीमसेन थापाले निर्माण गरेका छन् । गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागको प्राङ्गणमा सारिएको हुलाक सेवा विभागका सूचना अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।
गोश्वारा हुलाक ५० वर्षअघिदेखि सुुन्धाराबाट सञ्चालित थियो । हुलाक भवन भएका ठाउँमा धरहराको तीनतले अण्डर ग्राउण्ड पार्किङ बन्नेछ । हुलाकसँगै धरहरामा जोडिएको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार विभाग पनि विस्थापन भएको छ । टक्सार विभागलाई बबरमहलमै वन विभागसँगै सारिएको छ । 

कर्मचारी सञ्चय कोष पहिलेकै स्थानमा रहेको छ भने त्यहाँ रहेको ढुङ्गे धारालाई थप संरक्षण गर्ने तयारी अनुरुप काम भइरहेको म्यानेजर श्रेष्ठको भनाइ छ । ऐतिहासिक ढुङ्गेधारा भएकाले त्यस धारामा निरन्तर पानी बग्ने व्यवस्था गर्न लागिएको छ । निरन्तर रुपमा पानी बग्ने बनाइएपछि उक्त धाराबाट बगेको पानीका लागि ढलको व्यवस्था गरी त्रिपुरेश्वरमा निकास दिने तयारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप