बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

सोमबार, ०६ वैशाख २०७८, १६ : २१
सोमबार, ०६ वैशाख २०७८

कास्की । सत्य निरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ । आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा आयोगका अध्यक्ष गण दत्त भट्टले २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कूल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिए ।

आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको जनाउँदै उनले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पारे । आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको जनाउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास व्यक्त गरे । द्वन्द्व पीडितलाई परिचयपत्र प्रदान गर्ने प्रक्रिया पनि थालिएको जानकारी दिँदै उनले उक्त परिचयपत्रका आधारमा राज्यबाट प्रदान गरिने सेवा सुविधाको सुनिश्चितताका लागि पनि पहल गरिएको स्पष्ट पारे । भट्टका अनुसार गण्डकी प्रदेशमा हालसम्म ३४ जनालाई परिचयपत्र प्रदान गरिएको छ । 
    
आयोगका सदस्य मन दाहालले आयोगमा प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानविन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको बताए । आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्वपीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत रहेको जनाउँदै प्राप्त उजुरीका आधारमा आवश्यक छानबिनसहित निष्कर्षमा पुगिने सुनाए । आयोगले निरन्तर द्वन्द्वपीडित एवं अन्य सरोकारवाला व्यक्तिसँग भेटघाट एवं अन्तक्र्रिया गरेको उनले बताए ।

उक्त अवसरमा द्वन्द्व पीडितका तर्फबाट कृष्णप्रसाद पराजुली र सुमित्रा केसीले द्वन्द्वकालीन समयमा परिवारका सदस्य गुमाउनुपरेको पीडा तथा भोग्नुपरेका समस्यामा राज्यले सम्बोधन गर्न नसक्दा दुःख लागेको उल्लेख गर्दै आफूजस्ता पीडितलाई उचित न्याय दिलाउन आयोगको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप