शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पौडेलको सर्वदलीय बैठकमा विपक्षी तीन दल अनुपस्थित

सोमबार, ०६ वैशाख २०७८, १४ : ५४
सोमबार, ०६ वैशाख २०७८

मकवानपुर । बागमती प्रदेशको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र विवेकशील साझा पार्टी अनुपस्थित भएका छन् ।  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवरुद्ध प्रदेशसभा सञ्चालन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका बारेमा छलफल गर्न आह्वान गरेको बैठकमा प्रमुख प्रतिपक्षसहित प्रतिपक्षका तीनैवटा दल अनुपस्थित रहे ।

ललितपुरको जावलाखेलस्थित सुशासन केन्द्रमा आयोजित बैठकमा नेपाली काँग्रेस अनुपस्थित भए पनि काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले टेलिफोनमार्फत आफ्नो पार्टीको धारणा राखेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।

बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आइसोलेशन, क्वारेन्टिनको संख्या वृद्धि तथा व्यवस्थित गर्ने, स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न लगाउनेबारे छलफल भएको उनले बताए । पाण्डेका अनुसार प्रमुख प्रतिपक्षको अवरोधका कारण अवरुद्ध बनेको प्रदेशसभा बैठक सञ्चालनका बारेमा भने कुनै निर्णय भएन । 

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले माग गरे अनुसार विद्युतीय बस खरिद प्रकृयामा ब्याक हुन नसक्ने अडान सरकारले कायमै राखेको उनले बताए । विद्युतीय बस सञ्चालन प्रदेश सरकारको विगतका तीन आर्थिक वर्षदेखिको योजना भएको र हरेक वर्षको नीति तथा कार्यक्रममा उक्त विषय समावेश गर्दै आएकाले यस सम्बन्धमा प्रदेश सरकार ब्याक नहुने उनले बताए ।

‘प्रदेश सरकारले विद्युतीय बस सञ्चालनका लागि संघीय सरकारसँगको सहकार्यमा प्रदेशका विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउने काम सुरु भइसकेको छ, यो योजनामा कुनै समस्या नरहेकोले यस विषयमा सरकार ब्याक हुँदैन,’ उनले भने ।

माओवादी केन्द्रले उठाएका अन्य विषयमा भने समस्या नरहेको उनले बताए । सरकारले सबै काम नीतिगत रुपमा प्रकृया पु¥याएर नै गरेकाले छलफल गर्न आवश्यक नरहेको उनले बताए । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा केही विषयमा सामान्य छलफल भएको पाण्डेले बताए । 

बैठक सार्न आग्रह गरेको हो : सचेतक लामा

नेपाली काँग्रेसका सचेतक छिरिङ दोर्जे लामाले सर्वदलीय बैठकका प्रतिपक्ष नै नजाने भएपछि उक्त बैठकमा आफु पनि नगएको बताए । उनले बैठकका बारेमा पनि ढिलो गरी जानकारी आएको र उक्त बैठकमा प्रमुख प्रतिपक्ष दलसहित अन्य दल उपस्थित नहुने जानकारी पाएसँगै बैठक सार्न आग्रह गरेको बताए ।

‘बैठकका बारेमा दलको नेतालाई जानकारी गराइएको थियो होला तर मलाई बिहानमात्र दलको नेताले जानकारी गराउनु भयो । त्यस लगत्तै अन्य दलहरूसँग कुरा गर्दा उहाँहरु उपस्थित नहुने भएपछि मैले टेलिफोनबाट बैठक सार्न आग्रह गरेको थिएँ,’ उनले भने ।

बैठकका एजेण्डाका बारेमा आफुले कुनै प्रतिकृया नदिएको भन्दै उनले पार्टीको धारणा दलका नेताले राख्ने र दुई दिनपछि बैठक राखेर प्रमुख प्रतिपक्ष दलसहित अन्य दललाई उपस्थित गराउन आग्रह गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप