बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओलीको नक्कली राष्ट्रवाद पछिल्लो घटनाले उदाङ्गियो : डा.संग्रौला

सोमबार, ०६ वैशाख २०७८, १३ : ५०
सोमबार, ०६ वैशाख २०७८

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी, अलोकतान्त्रिक राष्ट्रवादको नक्कली खोल पछिल्लो घटनाक्रमले उदांगो भएको बताएकी छन् । उनले प्रधानमन्त्री ओलीको राष्ट्रवादको मुकुण्डो भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटपछि उदाङ्गो हुँदै गएको बताएकी हुन् । 

सोमबार नेपाल प्रेस युनियनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राष्ट्रवादका ठूला–ठूला गफ गर्ने प्रधानमन्त्री ओलीले मध्यरातमा भारतीय गुप्तचर प्रमुखसँगको भेटपछि  नक्कली राष्ट्रवाद उदांगो भएको बताइन । 
नेतृ संग्रौलाले कोरोना संक्रमणसँगै आर्थिक अवस्था कमजोर भएका जनता गाँस, बास र कपास जस्ता आवश्यक सेवाबाट बञ्चित भएको बेलामा प्रधानमन्त्री केपी ओलीको सरकार बालुवाटारमै सीमित भएको आरोप लगाइन् । काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जितेमा हाँस्न रुन नै नपाइने बताउँदा खिसीट्युरी गरिएको स्मरण गर्दै उनले अहिले देशको अवस्था त्यस्तै रहेको टिप्पणी गरिन् । 

नेतृ संग्रौलाले सरकारमा बसेकाहरु पार्टीको आन्तरिक झगडामा रुमल्लिएको बताउँदै प्रतिनिधिसभा भंग भएपछि पनि प्रधानमन्त्री ओलीले नैतिकता नदेखाएको आरोप लगाइन् । ‘प्रधानमन्त्री ओलीले भंग गरेको संसदलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्दा समेत प्रधानमन्त्री कुर्सीमै टाँसिए’ उनले भनिन् । ‘उहाँमा कुनै नैतिकता देखिएन । उहाँमा राजनैतिक नैतिकता भन्ने चिज नै हराएछ ।’

नेतृ संग्रौलाले पाँच वर्ष देश चलाउन जनताले दिएको जनादेशलाई लत्याएर दुई तिहाईको सरकारले मुलुकलाई बन्दुक बनाएको आरोप लगाइन् ।  कम्युनिष्ट पार्टीको आन्तरिक झगडापछि काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने आवाज उठेसँगै काँग्रेसले त्यो भूमिका निर्वाह गर्न लागेको उनले बताइन् ।

नेतृ संग्रौलाले वर्तमान सरकारले हत्या हिंसा रोक्न नसकेको, महिला हिंसालाई नियन्त्रण गर्न नसकेको र पीडितले न्याय पाउन नसकेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप