बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाको महामारीबीच सकियो बिस्केट जात्रा

आइतबार, ०५ वैशाख २०७८, २३ : ५४
आइतबार, ०५ वैशाख २०७८

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आज साँझदेखि सम्पन्न भएको छ । गत चैत २८ गते तौमढीबाट भैरवको रथ तानेर शुरु भएको जात्रा आज साँझ पुनः भैरवको रथ तानेर सम्पन्न भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका बीचमा भक्तपुर र मध्यपुर थिमिमा नेवार समुदायले मनाउने बिस्केट जात्रा, सिन्दुर जात्रा र जिब्रो छेड्ने लगायत विभिन्न जात्राहरू हजारौँको सहभागितामा भव्य रूपमा मनाइएको छ ।

कोरोना महामारीको जोखिम बढे पनि त्यसको बेवास्ता गर्दै स्वास्थ्य मापदण्डको समेत बेवास्ता गर्दै यहाँका बासिन्दाले हर्षोल्लासका साथ नौ दिनसम्म मनाइएको जात्रा आजदेखि सम्पन्न भएको हो । विक्रम संवत् अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ । जात्राको आज अन्तिम दिन साँझ टौमडीबाट रथ तान्न शुरु गरेको छ । स्थानीयले टौमडीका तल र माथिका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमडी पुर्याएपछि यस वर्षको जात्रा सम्पन्न हुनेछ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइ सकेपछि परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । रथलाई तानिसकेपछि आजै रातिसम्म रथलाई पाँचतले मन्दिर अगाडि तौमढीमा लगेर राखी रथबाट भैरव देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप