शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्जावविरुद्ध दिल्ली क्यापिटल्सको रोमाञ्चक जित

आइतबार, ०५ वैशाख २०७८, २३ : ४४
आइतबार, ०५ वैशाख २०७८

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किङ्ग्समाथि रोमाञ्चक जित हासिल गर्दै महत्त्वपूर्ण २ अंक जोडेको छ । दिल्लीले १० बल बाँकी छँदै ६ विकेटको जित हासिल गरेको हो । जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । तीन खेल खेलिसकेको दिल्लीको यो दोस्रो जित हो भने पञ्जावको तीन खेलमा दोस्रो हार हो ।

आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ औं ओभरको दोस्रो बलमा चार विकेटको क्षतिमा जित हासिल गरेको हो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रनको योगदान गरे । ४९ बल सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै पृथ्वी शाले ३२, रिसभ पन्तले १५, मार्कस स्टोइनिसले २७ र ललित यादवले १२ रन बनाए ।
पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मयंक अग्रवाल र केएल राहुलले शानदार प्रदर्शन गर्दै शतकीय साझेदारी गरेका थिए । दुवैले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । आइतबार नै जन्मदिन सेलिब्रेसन गरेका कप्तान राहुलले ६१ रन बनाए भने अग्रवालले ६९ रन बनाए ।

यस्तै क्रिस गोल ११ रन बनाएर बाहिरिए भने निकोलस पुरनले ९ रनमात्र बनाउन सके । दिपक हुडाले २२ र शाहरुख खानले १५ रन बनाए । दिल्लीका लागि कगिसो रबाडा, क्रिस वोकस, लुकमान मेरीवाला र अविश खानले एकएक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप