बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘निजी क्षेत्र एक ढिक्का भएमात्र उद्योग व्यवसायको क्षेत्र बलियो हुन्छ’

आइतबार, ०५ वैशाख २०७८, २० : १७
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । नीजि व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रको एकताले मात्र व्यवसायिक क्षेत्र मजबुत हुने निश्कर्ष निकालेका छन् ।  आइतबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको हालै मात्र सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत कार्यक्रममा यी दुई संस्थाका पदाधिकारीहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।

निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुँदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनुपर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिएका छन् । 

संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिड पश्चात अर्थतन्त्रको पुनरूत्थान लगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आव्हान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्ने लगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो सन्देश गएको समेत व्यवसायीहरुले बताएका छन् । 

‘एकता नै बल हो भन्ने कुरालाई हामी तीनैवटा संस्थाहरूले मनन गरेर अगाडि बढ्नुपर्छ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी एक अर्काका प्रतिस्पर्धी होइन बरु एक अर्काका परिपूरक हौं । आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौ, सहकार्यलाई घनिभूत ढंगले अगाडि बढाऔं । हामीले बोल्ने भाषा एकै हुनुपर्छ । हामीले एकता देखाउन सक्यौ भने हामी अझ बलियो हुन्छौं’ गोल्छाले भने ।

सो अवसरमा अध्यक्ष गोल्छाले महासंघले सिंगो निजी क्षेत्रकै प्रतिनिधित्व गर्दै राष्ट्रिय आर्थिक रूपान्तरण २०३० को महत्वपूर्ण भिजन पेपर सार्वजनिक गरेको बताउँदै उक्त भिजन पेपर कार्यान्वयनका लागि एकजुट हुन जोड दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप