शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्री बादल : तीन वर्ष भोगियो, ६ महिना बाँकी !

आइतबार, ०५ वैशाख २०७८, २० : ०९
आइतबार, ०५ वैशाख २०७८

काठमाडौँ । माओवादीको कारवाहीमा परेर राष्ट्रियसभा सदस्य पद गुमेपछि आइतबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलको गृहमन्त्री पद केही घण्टाका लागि खोसियो । बिहान बादल हटेर काठमाडौंको आकाश पनि सफा देखिएको थियो । साँझ पर्दै गएपछि आकाश बादलले ढाक्यो र मेघ गर्जनसहित पानी पर्न थाल्यो ।

बिहान पदमुक्त भएका थापा बेलुका शीतलनिवासमा सपथग्रहण गरेर पुनः गृहमन्त्रीको कुर्सीमा बसे । अब उनी कात्तिकसम्म मन्त्री बन्न पाउनेछन् ।    

कमाण्डरको भूमिकामा दश वर्षे युद्धमा होमिएका ‘बादल’ गणतन्त्र आएपछि रक्षामन्त्री भए । रक्षामन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र थिए ‘बादल’ । अहिले केपी ओलीका विश्वासपात्र बनेका छन् ।

रक्षा मन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवालसँग निहुँ खोज्दासम्म बादल आफूलाई दमदार राजनीतिज्ञ ठान्थे । तर, कटुवालसँगको झमेला बादललाई मात्रै नभएर प्रचण्डलाई नै भारी बन्न पुग्यो । कटुवाल प्रकरणपछि प्रचण्डले २०६६ मा राजीनामा दिए ।

कटुवालसँग अनावश्यक बखेडा झिकेर माओवादी र देशमा परिवर्तनको गतिलाई नै कमजोर बनाएको दोष बादलको टाउकोमा थोपरियो । त्यसपछि सत्तासँगको बादलको साइनो पनि बिरानो बन्यो ।

 प्रचण्डको साथ छाडेर मोहन वैद्य समूहको महासचिव बनेर चुनाव बहिस्कार गरेका बादल अन्ततः माओवादी केन्द्रमा फर्किए । एमाले र माओवादीबीच एकता भएपछि ०७४ को निर्वाचनपछि गृहमन्त्रीका रुपमा बादल फेरि सत्तामा आए । सत्तामा आएपछि उनले प्रचण्डको साथ छाडे । माओवादी पार्टी पनि छाडे । र, एमाले ओली समूहमा लागे ।

०७४ फागुन १४ मा गृहमन्त्रीको कार्यभार सम्हाल्दा बादलले भनेका थिए ‘जनअपेक्षाअनुसार काम गर्छु ।’

गृहमन्त्रालयमा बादलको शुरुवात आशलाग्दो रहेको प्रहरीहरु बताउँछन् । मन्त्रालयको पर्खाल बाहिर रहेको महानगरीय प्रहरी वृत सिंहदरबारमा जवानहरूसँग खाना खाँदै बादलले भनेका थिए ‘सिनियर अधिकृत र तल्लो दर्जामा भएको रासनको विभेद हटाउँछु ।’

मन्त्री भएपछि बादलको अर्को प्रतिवद्धता थियो–‘सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउँछु ।’ ०७४ फागुन १६ मा नक्सालस्थित प्रहरी हेडक्वार्टर निरीक्षण गर्दै बादलले भनेका थिए, ‘प्रहरीलाई सरकारले उपलब्ध गराउँदै आएको बजेटमा बढोत्तरी गर्छु, नेपाल प्रहरीलाई विश्वकै नमुना बनाइन्छ ।’

‘बादल’ले उठाएको अर्को आशालाग्दो कमद थियो, ‘सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरण’ मा उनको कठोर निर्णय । चूडामणि उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलबाट पास गराएको ३३ किलो सुन र सो सुन लुकाएको निहुँमा मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या भयो । सो सुन बादल गृहमन्त्री हुनुभन्दा दुई साताअघि विमानस्थलबाटै भित्रिएको थियो । बादलकै प्रस्तावमा ०७४ चैत २० मा बसेको मन्त्रिपरिषद्ले सुन तस्करी छानविन गर्न शक्तिशाली उच्चस्तरीय समिती बनायो ।

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करीको अनुसन्धान गरेको थियो । सुन तस्करी बारेको अनुसन्धान हुँदै गर्दा सार्वजनिक मञ्चमा बादल भाषण गर्थे, ‘टनमा सुन तस्करी हुन्छ, हुण्डीबाजहरुसँग पैसाको गोदाम छ ।’

विस्तारै बादलले कामभन्दा बढी ‘सस्तो भाषण’ गर्न थाले । उनले सुन्धाराका कैदीलाई कारागार प्रशासनका कर्मचारीले ठमेलका दोहोरीमा घुमाएको आरोप लगाए । तर, छानविन र प्रमाणित गर्न सकेनन् ।

समयमा काम नसक्ने निर्माण ब्यवसायीमाथि ‘बादल’ले डण्डा चलाउने प्रयास गरे । तर, सो प्रयास ‘ब्याक फायर’ हुन पुग्यो । आयोजना समयमा पूरा नगर्ने व्यवसायीलाई पक्राउ गर्न आदेश गरेपछि बादलको विरुद्धमा मोर्चाबन्दी भयो । अन्ततः केपी शर्मा ओलीकै क्याविनेटका तत्कालीन भौतिक योजना मन्त्री रघुवीर महासेठले बादलको कदमलाई खुल्ला चुनौती दिए । तथापि बादल अध्यक्ष प्रचण्डको लाइन छाडेर केपी ओलीतिर लागे ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सचिवालयमा ओलीका लागि बादलको आवश्यकता थियो । बादल आफ्नो कुर्सी जोगाउन चाहन्थे । त्यसैले पार्टीभित्र खेमा परिवर्तन गरेर भए पनि कुर्सी जोगाए ।

८२ बुँदे कार्ययोजना : हात्तिको देखाउने दाँत !

गृहमन्त्रीको बागडोर सम्हालेपछि बादलले  ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना’ ल्याए । ०७४ चैत १९ मा ल्याइएको  कार्ययोजनाको प्रभावकारी कार्यान्वयन भएको छैन ।

‘गृह प्रशासन सुधार कार्ययोजना’ अनुसार काठमाडौं उपत्यकामा बिरोध प्रदर्शन गर्ने स्थान तोकियो । माईतीघरमा प्रदर्शन गर्न रोक लगाउने मन्त्रीको कदमलाई अदालतले रोकिदियो ।

गुनासो सुन्नका लागि गृह मन्त्रालयमा शुरु गरिएको ‘१११२’ नम्बरको टोल फ्री नम्बरमा आएको गुनासो कार्यान्वयन गर्ने संयन्त्र अझै प्रभावकारी बनेको छैन ।

बादलले सुरुमा सार्वजनिक यातायात क्षेत्रमा रहेको एकाधिकार (सिन्डिकेट) तोड्ने अठोट गरे । तर, तोड्न सकेनन् । यातायातको सिन्डिकेट अहिले पुरानै ठाउँमा छ ।

८२ बुँदे कार्ययोजनाको ४२ र ४३ नम्बर बुँदामा काठमाडौं उपत्यकाको जाम घटाउन इन्टेलिजेन्ट ट्राफिक लाईटसहित एकीकृत ट्राफिक व्यवस्थापनको योजना ल्याए ।

उपत्यकाका केही चोकमा ट्राफिक बत्ती बलेका छन् । कतिपय ठाउँमा बत्ती अलपत्र छन् । सडकको जाम कम भएको छैन । राडार गनको प्रयोग गरेर सवारी साधनको गति अनुगमन गर्ने कार्यायोजना पनि अघि बढेको छैन । गृहमन्त्रीको टोल–टोलमा प्रहरी अभियान भन्ने नारा मोडिफाई गरेर प्रहरी प्रधान कार्यालयले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अहिले सेलाएको छ ।  

मन्त्रीको योजनाअनुसार सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट ‘बिओपी’को संख्या बढाउँदै छ । तर, भौतिक सुविधा र जनशक्ति चाहिँ मन्त्रालयले बढाउन सकेको छैन् । ड्रोन क्यामेराबाट सीमा क्षेत्रको निगरानी उनको योजना कागजमा मात्रै सिमीत भएको छ । पहुँचवालाको घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता गराउनमा चाहिँ बादलको भुमिका महत्वपूर्ण रह्यो । आम चाहना अनुसार गृहमा बादलले गृहमा सकारात्मक शुरुवात गरेका पनि हुन् । तर, निरन्तरता दिन सकेनन् ।

पूर्वगृहसचिव चण्डीप्रसाद श्रेष्ठ गृह प्रशासन सरकारको मियो भएपनि अपेक्षित काम हुन नसकेको बताउँछन् ।

उपत्यकाको मुख्य सड्कमा कम्प्युटर जडित लाईट जडानको प्रयास भइरहेको ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) जनक भट्टराई बताउँछन् ।

बोल्दैनन् बादल

गृहमन्त्री बनेका बेला बादल विस्तारै सेलाउँदै गए । सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउने उनको बाचा ‘भाषण’ मै सीमित बन्यो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ‘निर्माण व्यवसायीलाई पक्राउ नगर्न’ चेतावनी दिएपछि ‘बादल’ त्यहीबेलादेखि ‘ब्याक’ भएका हुन् ।

पछिल्लो समय उपप्रधानमन्त्री ईश्वर पोखरेलले गृहप्रशासनमा हस्तक्षेप गर्दा ‘बादल’ चुपचाप छन् । मन्त्रिपरिषद्को प्रशासनिक समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले गृहमन्त्रालयको प्रस्तावविना नै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थप्ने प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय गराउँदा पनि बादल बोलेनन् ।

थप गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पोखरेलले आफ्ना नाता पर्ने विश्वराज पोखरेललाई बढुवा सिफारिस गर्न गृहसचिव महेश्वर न्यौपानेलाई दबाव दिए । ‘बादल’ले त्यसमा कुनै प्रतिवाद गर्न चाहेनन् ।

प्रहरी सरुवा बढुवामा पनि थापा कुनै चासो राख्दैनन् । सरुवा–बढुवामा बालुवाटार र गृह–सचिव न्यौपानेको बोलवाला रहन्छ ।  तत्कालीन गृहसचिव प्रेमकुमार राईका पालामा ‘बादल’ छायाँ मन्त्री जस्ता थिए । अहिले गृह प्रशासनमा सचिव महेश्वर न्यौपानेको बोलवाला रहने गरेको स्रोत बताउँछ ।

कोरोना महामारीको जोखिम शुरु भएपछि गृह मन्त्रालयले गर्नुपर्ने विपद व्यवस्थापनसम्बन्धी काममा ईश्वर पोखरेलले नेपाली सेनालाई अगाडि सारेर हस्तक्षेप गरे । आफु मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यक्षेत्रमा पर्ने काममा रक्षा मन्त्रालयले हस्तक्षेप गर्दा उनी बोलेनन् । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत लगिँदा पनि बादल चुप रहे । गृह मन्त्रालयको बागडोर समालेको तीन बर्ष पूरा हुँदा उनी झन–झन निरीह हुँदै गए ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । बादलले त्यसबेला ‘अरु देशमा पनि बलात्कार हुन्छ’ भनेपछि उनको निकै आलोचना भयो । निर्मला पन्तका हत्यारा चाँडै पत्ता लाग्ने बताएका बादलको गृह प्रशासनले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।

शुरुमा चाहिने भन्दा धेरै बोल्ने उनी पछिल्लो समय चुपचाप बस्ने गरेका छन् । सिपाही–हवल्दारसँग एकछाक खाना खाए तर, प्रहरीको ऐना मानिने काठमाडौं प्रहरी र अपराध महाशाखाका जवान–हवल्दारले अहिले पनी त्रिपालमुनी रात बिताएको देखेनन् । देशभरका ८५० भन्दा बढी प्रहरीका युनिटहरुमा शौचालय नभएको रिपोर्ट उनी सुन्छन् तर, बोल्दैनन् ।

निकटस्थहरुले ‘बोली कन्ट्रोल’ गर्न सुझाएपछि बादल बोल्न छाडेका हुन् । अचेल ढुंगो बोल्ला, ‘बादल’ बोल्दैनन् । उनीसँग नजिकबाट संगत गर्नेहरु भन्छन्–उहाँ बोल्नुुहुन्न ।

अब, बादल ६ महिनासम्म गृहमन्त्री पदमा रहने पक्का भएको छ । यस अवधिमा उनले पहिलेजस्तै मन्त्रालय गएर प्रशासनिक काममा सीमित हुन्छन् या नयाँ केही काम गर्छन्, हेर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप