राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन् । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उनले भने ।
गौतम बुद्ध जन्मेको देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति अघि बढाइएको ज्ञवालीले सुनाए । ‘शान्ति हाम्रो परराष्ट्र नीतिको अभिन्न अङ्ग हो, हामीले संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विश्वका अन्य देशमा समेत शान्ति कायम गर्न चाहेका छौँ’ मन्त्री ज्ञवालीले भने । नेपालले सधैँ हातहतियार निशस्त्रीकरणका लागि जोड दिँदै आएको र यसमै नेपालको विदेश नीति केन्द्रित रहेको उनको भनाइ थियो । परराष्ट्र नीतिमा जलवायु परिवर्तनलाई विषेश प्राथमिकतामा राखेको मन्त्री ज्ञवालीले सुनाए ।
आन्तरिक नीतिको विस्तारित नीति नै परराष्ट्र नीति भएको मन्त्री ज्ञवालीको भनाइ थियो । “आर्थिक कूटनीतिमा जोड दिएका छौँ, लगानी र पर्यटन प्रवद्र्धन मुख्यरुपमा अघि बढाएका छौँ”, उनले भने । झण्डै ५० लाख नेपाली विदेशमा रहेको सुनाउँदै मन्त्री ज्ञवालीले दक्ष र बौद्धिक जनशक्ति रहेकाले त्यसलाई नेपालको हितमा उपयोग गरिने स्पष्ट पारे । परराष्ट्र सम्बन्ध राम्रो बनाउनमा सबै तह र तप्काको भूमिका आवश्यक हुने उनले उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले विदेश नीतिका मामिलामा सत्ता पक्ष र प्रतिपक्ष एउटै ठाउँमा उभिनुपर्ने बताए । “सत्तामा छँदा होस् वा बाहिर रहँदा होस् विदेश नीति सबैको एउटै हुनुपर्छ”, उनले भने । परराष्ट्र नीति सार्वजनिक गरे पनि सरकारले सबै निकायसित आवश्यक छलफल र परामर्श नगरेकोमा उनले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष आपत्ति प्रकट गरे । “परराष्ट्र नीतिबारे सबैसित गहन रूपमा छलफल गरिनु पर्छ”, नेपालले भने ।
समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले नेपालको परराष्ट्र नीति बेलाबेलामा परिवर्तन हुँदै आएको र अबका दिनमा त्यस्तो हुन नहुने बताए । उनले सन्तुलनको कूटनीति आवश्यक भएको उल्लेख गरे । राणाकालीन अघिको सन्तुलित नीतिबारे सरकारद्वारा जारी परराष्ट्र नीतिमा उल्लेख नगरिएकोमा कार्कीले आपत्ति प्रकट गरे । “सरकारले जारी गरेको परराष्ट्र नीति परिष्कृत र परिमार्जन गरिनु आवश्यक छ”, उनले भने ।
समितिका अर्का सदस्य दिव्यमणि राजभण्डारीले बाह्य सम्बन्धबारे सबै पार्टीको धारणा एउटै हुनुपर्ने बताए । सबैको अनुभव समेटेर परराष्ट्र नीति बनाउनुपर्नेमा उनले जोड दिए । यस्तै समितिका सदस्य मोहन बानियाँले सरकारैपिच्छे फरकफरक परराष्ट्र नीति हुन नहुनेमा जोड दिए । समितिका अर्का सदस्य डा.दीपकप्रकाश भट्टले परराष्ट्र नीतिबारे विस्तृत रूपमा छलफल आवश्यक भएको बताए । “विभिन्न कालखण्डमा विभिन्न काम भए, व्यवस्था फेरिए त्यो फरक कुरा हो, कोहीलाई कुनै व्यवस्था मन पर्यो, कोहीलाई मन परेन, तर त्यसबेला अपनाइएको उचित परराष्ट्र नीति अबका दिनमा पनि अवलम्बन गरिनुपर्छ”, उनले भने । सरकारले जारी गरेपनि परराष्ट्र नीतिबारे सांसदहरु नै अनभिज्ञ रहेको उनको भनाइ थियो । उक्त छलफलमा समितिका सदस्यहरू प्रेमलाल तुलाचन र रेणुका गुरुङले समेत छलफलमा भाग लिएका थिए । बैठकको अध्यक्षता समितिका सभापति पवित्रा निरौला खरेलले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा