शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसी पारित भए चीनसँग सम्बन्ध बिग्रन्छ : जनमोर्चा

आइतबार, ०५ वैशाख २०७८, १७ : १५
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गरिए आफ्नो पार्टीले आन्दोलन गर्ने जनाएको छ । एमसीसी पारित भएमा चीनसँगको सम्बन्ध बिग्रने जनमोर्चाको दाबी छ ।

‘एमसीसी देशको हितमा छैन, यो पारित भएमा प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि धुमिल हुन्छ र नेपाल चीन सम्बन्ध पनि बिग्रन्छ’ जनमोर्चाका सचिव हिमलाल पुरीले शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा भने, ‘ठूला दलले एमसीसी पारित गरेमा हामी आन्दोलनमा उत्रन्छौं ।’

शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक कोरोनाबारे छलफल गर्न भनिए पनि मुख्यतः एमसीसी पारित गर्ने उद्देश्यले नै डाकिएको आफूले महसुस गरेको पुरीले रातोपाटीलाई बताए ।

जनमोर्चाका सचिव रहेका पुरीले भने, ‘कोरोना र उपनिर्वाचनका बारेमा पनि सामान्य छलफल त भयो तर बैठकको मुख्य उद्देश्य नै एमसीसी रहेको पाइयो ।’

सर्वदलीय बैठकमा जनमोर्चाका नेता पुरीले एमसीसी देशहको हितमा नरहेको बताएपछि बैठकपश्चात प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पुरीलाई अलग्गै भेटेर सम्झाउने प्रयास गरेका थिए ।

एमसीसी सम्झौता खराब नरहेको बताउँदै डा. भट्टराईले विगतमा एमसीसीभन्दा धेरै खराब सम्झौताहरु पनि गरिएको र चीनसँगै गरिएका कतिपय सम्झौताहरु पनि त्यस्ता रहेको तर्क गरेको पुरीले बताए । उनले भने,‘ तर हाम्रो पार्टी एमसीसी सम्झौता देशको हितमा छैन भन्नेमा प्रष्ट छ ।’

एमसीसीको विरोध गर्ने राष्ट्रिय जनमोर्चाको प्रतिनिधिसभामा एक सिट मात्र छ । मंगलबारको बैठकको प्रारम्भमै एमसीसी सम्बन्धी प्रस्ताव पारित गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको बताउँदै पुरीले आफ्नो पार्टी त्यसको विपक्षमा उभिने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप