शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप ६ अन्तर प्रदेश हवाई सेवा विस्तार गर्दै बुद्ध एयर, यस्तो छ भाडा दर

आइतबार, ०५ वैशाख २०७८, १५ : १८
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । आन्तरिक उडानका लागि निकै लोकप्रिय विमान कम्पनी बुद्ध एयरलाइन्सले थप अन्तर प्रदेश हवाई सेवा विस्तार गर्ने भएको छ ।

हाल केन्द्रीय राजधानी काठमाडौंबाट प्रदेशका मुख्य मुख्य शहरहरुमा मात्र उडान भर्दै आएको कम्पनीले पहिलो पटक पोखरा–नेपालगञ्ज, पोखरा–विराटनगर, पोखरा–सिमरा, तुम्लिङटार–विराटनगर, पोखरा–भैरहवा र भैरहवा–भद्रपुर सिधा उडान भर्ने भएको हो । यी स्थानहरुमा एकैपटक आगामी १ मे २०२१ बाट उडान शुरु गर्ने कम्पनीले जनाएको छ । 

हालसम्म केन्द्रिय राजधानी काठमाडौंसँग मात्र क्षेत्रीय हवाई सेवा जोडिरहेको अवस्थामा अब अन्तर प्रदेशको हवाई सेवा सुविधालाई समेत ध्यानमा राख्दै कम्पनीले अन्तर प्रदेश सेवा समेत विस्तार गर्न लागेको कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेतले जानकारी दिए । 

यस्तो सेवा विस्तार भएसँगै सर्वसाधारणले अन्तर प्रदेश हवाई सेवाको लाभ लिन सक्ने साथै पोखरा लगायत मुख्य मुख्य पर्यटकीय क्षेत्रको विकासमा समेत टेवा पुग्ने उनले बताए । 

यसअघि कम्पनीले क्षेत्रीय मुख्य शहर पोखरालाई नै टार्गेट गरेर पोखरा–भैरहवा, पोखरा–चितवन र पोखरा–विराटनगरको सिधा उडान शुरु गरेको थियो । यसको अलावा कम्पनीले विराटनगर–तुम्लिङटार सिधा उडान समेत सञ्चालनमा ल्याएको थियो ।

यस्तो छ नयाँ गन्तव्यको हवाई भाडादर
पहिलो पटक अन्तर प्रदेश ६ नयाँ स्थानमा उडान विस्तार गर्न लागेको कम्पनीले हवाई भाडादर समेत सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको भाडादर अनुसार पोखरा–नेपालगञ्जका लागि न्यूनतम ४ हजार ५ सय, पोखरा–विराटनगरका लागि ६ हजार, पोखरा–सिमराका लागि ४ हजार ३ सय, तुम्लिङटार–विराटनगरका लागि २ हजार ५ सय, पोखरा–भैरहवाका लागि ३ हजार १ सय र भैरहवा–भद्रपुरका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यी उल्लेखित भाडादर एटीआर–७२ को सञ्चालन खर्चमा आधारित भएर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यद्यपी सुरुवाती उडानहरु यही भाडादरमा कम्पनीका सानो जहाज ‘विचक्राफ्ट’ बाट उडान भर्ने र यात्रुहरूको चाप र माग बढे आगामी दिनहरुमा उडानहरूलाई दैनिक बनाई ठूला जहाज एटीआरबाट समेत उडान भर्ने कम्पनीले बताएको छ । 

हाल कम्पनीले मुलुकका २० भन्दा बढि स्थानमा दैनिक १२० भन्दा बदी उडान भर्दै आएको छ । यसैगरी, बुद्धले अन्तर्राष्ट्रिय तर्फ भारतको कलकत्ता र बनारसमा उडान भर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप