बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो

आइतबार, ०५ वैशाख २०७८, १० : ३४
आइतबार, ०५ वैशाख २०७८

गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत: पदमुक्त भएका छन् । 


नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । 
सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ । 

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका उनी सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए । उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो । 

माओवादीको सूचनाअनुसार प्रतिनिधिसभाबाट माओवादीका ४ निर्वाचित सांसद समेतको पद गइसकेको छ । अर्को दलमा गएपछि दलत्यागसम्बन्धी व्यवस्था आकर्षित हुने भएकाले सोहीअनुसार माओवादीले कारबाही गरेको हो। 

सांसद नरहेपछि संविधानतः मन्त्री पदबाट स्वतः मुक्त भए पनि प्रधानमन्त्री ओलीले थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । किनभने यसअघि पदमुक्त भएका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई ओलीले मन्त्री पदमा पुनर्नियुक्त गरिसकेका छन् । 

सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउँछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप