शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दै कोरोना सङ्क्रमित, भरिँदै अस्पताल

शनिबार, ०४ वैशाख २०७८, २१ : २१
शनिबार, ०४ वैशाख २०७८

शेरबहादुर सिंह

 भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ । केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि यहाँ कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको छ ।

भारतसित ओहरदोहर गर्ने सुदूरपश्चिमको मुख्यद्वार कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यहाँ सुनसान रहेको कोरोना अस्पताल सङ्क्रमितले भरिन थालेका छन् भने बन्द गरिएको आइसोलेशन शय्या स्थानीय प्रशासन र सरोकारवाला निकायले पुनःसञ्चालनको तयारी गरिरहेका छन् ।

कञ्चनपुरको महाकाली अस्पतालस्थित कोरोना अस्पताल सङ्क्रमित बिरामीले भरिएका छन् । अस्पतालमा अहिले ५३ कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । “कोरोना अस्पतालको क्षमता ५० शय्याको भए पनि अहिले बढी बिरामी राखेर उपचार गर्नुपरेको छ”, महाकाली अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले भने, “सङ्क्रमित थपिँदै जाँदा व्यवस्थापनमा थप जटिलता थपिएका छन् ।” स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार यहाँको गड्डाचौकी नाकामा हरेक दिन १० देखि १५ जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

महाकाली अस्पतालले कोरोना सङ्क्रमणका जटिल लक्षण देखिएका बिरामीलाई सघन उपचारका लागि धनगढी पठाउने गरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले यहाँस्थित ‘आइसिएच’ भवनमा आइसोलेशन बनाउने तयारी गरिरहेको बताए । उनले उक्त भवनमा १०० शय्या राखेर उपचार गर्ने गरी आइसोलेशन कक्ष बनाउने काम भइरहेको बताए ।

बितेको एक महिनामा महाकाली अस्पतालमा १०७ सङ्क्रमित भर्ना भएका थिए । जसमध्ये केही वडाध्यक्षको सिफारिसमा होम आइसोलेशनमा छन् भने कोही निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ । नयाँ वर्षको अवसरमा यहाँका नाकाबाट स्वदेश फर्किने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जनाकारी दिए । प्रहरीका अनुसार बितेको एक महिनामा गड्डाचौकी र गौरीफन्टा नाकाबाट झण्डै ४० हजार नागरिक स्वदेश फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चैत महिनादेखि सीमानाकामा स्वास्थ्यकर्मी खटिएर ‘एन्टिजेन’ परीक्षण थालिएको हो । केही समययता सङ्क्रमण बढ्न थालेपछि महाकाली अस्पतालमा पनि कोरोना परीक्षण गराउनेहरूको सङ्ख्या बढिरहेको छ । सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य दशकौँदेखि भारत हो । गत वर्ष कोरोना सङ्क्रमण बढेपछि डेढ लाखभन्दा बढी यहाँका नागरिक भारतबाट रोजगारी छाडेर घर फर्किएको तथ्याङ्क छ । खुला सिमानाका कारण बन्दाबन्दीका बेला लुकीछिपी स्वदेश फर्किने क्रम पनि चल्यो ।

गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले आज बिहान नाकामा ३०० को कोरोना परीक्षण गरिएकामा ३३ जनामा सङ्क्रमण देखिएको बताए । “दैनिक एक हजारदेखि एक हजार ५०० सम्म नागरिक यस नाकाबाट घर फर्किँदैछन्”, उनले भने, “सबैको कोरोना परीक्षण गर्न सम्भव भइरहेको छैन ।”  परीक्षण दायरा बढाउन सरकारले थप कदम चाल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भारतबाट फर्किनेमा कोरोनाको सङ्क्रमण देखिएको बताए । “स्थानीयवासी सङ्क्रमणभन्दा पनि भारतबाट आउनेमा बढी देखिएको छ”, उनले भने, “धनगढी र महेन्द्रनगरका कोरोना अस्पताल सङ्क्रमितले भरिएका छन् ।” अस्पतालको आइसोलेशन शय्या भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको उनले जानकारी दिए । उनले स्थानीय तहहरुले पुनः आइसोलेशन बनाएर सङ्क्रमितको व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप