बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ

शनिबार, ०४ वैशाख २०७८, १६ : २८
शनिबार, ०४ वैशाख २०७८

बाग्लुङ । बाग्लुङ्गको बुर्तिबाङ्गस्थित रिनाम गाउँमा भएको हत्या काण्डमा अर्का एक अभियुक्त पनि पक्राउ परेका छन् । उक्त हत्या काण्डमा बुटवल प्रहरीले शुक्रवार दिउँसो गौरीशंकर खनाललाई पक्राउ गरेको हो । 
यसअघि बिहीबार प्रहरीले सोही काण्डमा मित्रलाल खनाललाई पक्राउ गरेको थियो । 

शुक्रबार पक्राउ परेका खनाललाई शुक्रबारै बाग्लुङ्ग पठाएको ईलाका प्रहरी कार्यालय वुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । 
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्वर ३ केवरेनीका ३२ बर्षीय युवा नारायण बस्यालको शव बैशाख १ गते बुधवार बुर्तिवाङ प्रहरीले फेला पारेको थियो । उनी गत चैत ४ गते  बुटवलबाट बेपत्ता भएका थिए । 

बस्यालको शव ढोरपाटन नगरपालिका वडा नम्वर २, साविक वुर्तिबाङ्ग गाविसको रिनाम बन्ने स्थानमा गाडिएको अवस्थामा फेला परेको हो । गौरिशंकर भन्दा अघि पक्राउ परेका मित्रलालले आफुले हत्या नगरेको तर शव लुकाउन  आफुले सहयोग गरेको बयान दिएका थिए । ‘हत्यामा  खनालका अन्य आफन्त पनि संलग्न हुन सक्ने लागेर अनुसन्धान गर्दै जाँदा निजको दाजु अन्दाजी ४२ बर्षीय गौरीशंकर खनाल बस्यालको हत्यामा मुख्य अभियुक्त भएको  पाईयो र खोजतलासका क्रममा पक्राउ गरेको हो’ ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी  प्रतित सिंह राठौरले रातोपाटीलाई बताए ।

गौरीशंकर भारतमा आवतजावत गर्ने गरेको र खनाल र बस्यालबीच आर्थिक लेनदेन समेत हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

‘भाइसँग पटक पटक ११ लाख रुपैयाँ लगेको प्रमाण नै फेला परेको छ । त्यही रकम लिन भनि अघिल्लो दिन फोनमा बोलाएको र अर्को दिन पैसा लिन कोठामै लगेर हत्या गरेको प्रहरीले हामीलाई बताएको छ’, घटनाबारे मृतकका दाजु भागिरथ बस्यालले जानकारी दिए । उनका अनुसार मृतक बस्याल करिव २ बर्ष यता बुटवलमा बसेर ब्यवसाय सञ्चालन गर्दै आएका थिए ।  त्यस अघि उनी ७ बर्ष सम्म  जापान बसेर फर्किएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप