बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकमा एमसीसीबारे चासो, कसले के भने ?

शनिबार, ०४ वैशाख २०७८, १६ : २४
शनिबार, ०४ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरूको छलफलमा उनले संसदमा लामो समय देखि संसदमा विचाराधीन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । 

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए । 
उनले भने, ‘एमसिसी पास गर्नै कि नगर्ने संसदलाई अधिकार छ । तर सभामुखले तजबिजी अधिकार प्रयोग गरेर जुन तजबिजी अधिकार उहाँसँग छैन,त्यसलाई लामो समय सम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलहरूको साझा धारणा रह्यो । केही दलहरु एमसीसीप्रति आलोचक पनि हुनुहुन्थ्यो । उहाँहरुले एमसीसी प्रतिका केही आशंकाहरु प्रकट गर्नुभयो । तर संसदले जे गर्छ बिजनेस चाही रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ । यो विषयमा सभामुख र कार्यव्यस्थामा छलफल गरेर टुंगोमा पुर्याउनुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने सम्बन्धमा आफुहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्य व्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए ।  उनले एमसीसी लाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफु सधै तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका थिए । 

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप