शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वेन्द्र खनालको जीवन : ‘देशका लागि हानिकारक तत्व धेरै सिध्याएँ’

राजनीतिबाट महत्त्वपूर्ण निकायमा पुगेर काम गर्ने इच्छा छ
शनिबार, ०४ वैशाख २०७८, १५ : ०१
शनिबार, ०४ वैशाख २०७८

काठमाडौं । सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् । प्रहरी निरीक्षकबाट वि.सं २०४६ मा सेवा सुरु गरेका उनले महानिरीक्षकको कार्यकाल सकेर अघिल्लो वर्ष अवकाश लिइसकेका छन् । तनहुँमा जन्मिए पनि बाल्यकाल काठमाडौँमा बिताएका खनालले नेपाल प्रहरीमा रहँदा थुप्रै उल्लेखनीय कार्य गरेका थिए । एक समय नेपाल प्रहरीमा ‘सेलिब्रेटी अफिसर’का रूपमा चिनिएका खनालले महानगरीय अपराध महाशाखामा रहँदा कुमार ‘घैँटे’ को इन्काउन्टर गरेका थिए । फुटबलको म्याच फिक्सिङ काण्ड पर्दाफास गर्ने श्रेय पनि उनैलाई जान्छ । महानिरीक्षक बनेपछि भने कार्यसम्पादन राम्रो गर्न नसकेको भन्दै खनालमाथि आलोचना पनि भयो । खासगरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको अपजस उनले बोक्नुपर्‍यो । अवकाशपछि पनि उनी राजनीतिक विवादमा तानिए । प्रहरी सेवामा रहँदा प्रशंसा र आलोचना दुवै कमाएका नेपाल प्रहरीका २६औँ प्रहरी महानिरीक्षक खनालको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरेको छ । सर्वेन्द्र खनालको जीवन, उनकै शब्दमा–

मेरो पेसा

जीवनको धेरै समय अर्थात ३० वर्ष प्रहरी सङ्गठनमा बिताएँ । २०४६ सालमा प्रहरी निरीक्षकबाट सुरु गरेको सेवा प्रहरी महानिरीक्षक भएर अवकाश लिएँ ।

प्रहरीमा जागिर सुरु गर्दा महानिरीक्षकसम्म हुन्छु भन्ने थियो, त्यहीअनुसार अपडेट गर्दै लगेँ र भएँ पनि ।

प्रहरी जागिरको सिलसिलामा माओवादीको कथित जनयुद्धको सामना पनि गर्नुपर्यो । त्यो समय जिन्दगी नै जोखिम पर्ने अवस्था र डरले रातभरि जाग्राम बसेर दिनभर सुत्नुपर्ने अवस्थाको समेत सामना गरियो ।

जागिरको अवधि दुःखैदुःखमा बित्यो । काम र कर्तव्यको सिलसिलामा समय, ठाउँ, घामपानी, भोक र निन्द्रा केही भनिएन । त्यो समय किन यस्तो पेसामा रोजेछु भन्नेसमेत भयो । राम्रो काम गर्दा पनि नेगेटिभ नजरले हेरिँदा जागिर छोडौँ जस्तो लागेको थियो ।

पेसा अनुसारको कामको सिलसिलामा अनैतिक, आपराधिक क्रियाकलापविरुद्ध लड्दै गर्दा उनीहरुको नेटवर्क बलियो हुँदा आफूमाथि पनि प्रहार भयो । जीवनसँग जोडेर विभिन्न धम्कीसमेत आउँथ्यो । देश लागि हानिकारक तत्त्व धेरै सिध्याएँ । राष्ट्र र जनताका लागि धेरै काम गरेँ । नराम्रोसँग भिडेँ, राम्रोलाई राम्रो गरेँ, नराम्रोलाई सिध्याएँ पनि । जीवनमा थ्रेट कति आए कति ।

प्रहरी सेवा रोजेकोमा अहिले भने म सन्तुष्ट छु । पछिल्लो समय सांसद अपहरणमा पनि मलाई जोडिन्छ । त्यो भन्ने विषय होइन । जीवनभर त्यस्तो गर्ने व्यक्तिसँग म सधैँ जुधेर हिँडे । त्यो विषयमा राज्यले अनुसन्धान गरिसक्यो । अहिले यो विषयमा केही भन्दिनँ ।

प्रहरी पेसामा रहँदा मृत्युलाई कयौँपटक नजिकबाट देखियो । सम्झँदा पनि कहालीलाग्दो अवस्था धेरै छन् । सशस्त्र समूहसँग दोहोरो भिडन्तमा पनि परियो । प्रहरीको पेसामा ज्यानको जोखिम कति कति ।

खाना

दाल, भात, तरकारी नै मेरो मनपर्ने खाना हो । यो बिहान मात्र खान्छु । कालो दाल, सब्जी, चिकन, माछासमेत मनपर्छ । मन नपर्ने खानेकुरो भन्टा र पहेँलो दाल हो । धेरै पीरो र चिल्लो पनि खान्नँ ।

साथीभाइको गेट टुगेदर हुँदा र कहिलेकाहीँ फरक टेस्टका लागि रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा यही खान्छु भन्ने छैन, फरक–फरक खानेकुरा मनपर्छ । पकाउन रुचि छैन र जान्दिनँ पनि ।

मापसे

साथीभाइको जमघट, पार्टी, कार्यक्रमहरुमा कहिलेकाहीँ लिन्छु । धेरै मन पर्ने ह्विस्की हो । बियर, वाइन पनि कहिले कहिले खान्छु । अहिले घरमा बार बनाएर मापसे राख्ने चलनसमेत चलेको छ, मैले भने त्यसो गरेको छैन ।

रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । कहिलेकाहीँ रुघाखोकी, ज्वरो आउनु सामान्य हो । पिनासले भने धेरै सताउँछ ।

फिटनेस

फिटनेसको मामलामा म पहिलेदेखि नै सजग छु । फिट्नेसककै लागि नियमित ब्याडमिन्टन खेल्छु । कहिलेकाहीँ क्लब गएर हल्का जिम गर्छु । घरमा एक्सरसाइजका सामान केही छैनन् ।

खेलकुद

खेलकुदमा रुचि छ । स्कुल कलेज पढ्दा फुटबल, बास्केटबल खेल्थेँ । त्यो समय कलेज र आफ्नो टोलको राम्रो खेलाडीमा पर्थें । जागिरको सिलसिलामा कामले समय मिलेन । त्यो समय खेल्ने भन्ने कुरै भएन । हेर्न भने महत्वपूर्ण गेम मात्र हेर्थें । अहिले समय छ, अबका दिनमा धेरै गेम हेर्ने सोच छ ।

पोशाक

मनपर्ने र लगाउने पहिरन यही भन्ने छैन । जिन्स, टिसर्ट, ट्राउजर लगायतका क्याजुअल र फर्मल पहिरन दुबै प्रयोग गर्छु । फर्मल कार्यक्रममा जानुपर्दा दौरा, सुरुवाल कोट, पाइन्ट लगाउँछु । अन्य समय यही भन्ने छैन ।

पहिरनमा मनपर्ने रङ कालो र नीलो हो । पहिरनमा ब्रान्ड खोज्दिनँ । मन परेको, आफूलाई फिट हुने, सुहाउने किन्छु । बाहिर ट्राभल गर्दा रेडिमेड किन्छु । अन्य समय सिलाएर लगाउँछु । कहिलेकाहीँ टोपी पनि लगाउँछु ।

मोबाइल

अहिले मसँग सामसुम ब्रान्डको एउटा मोबाइल छ । पहिले युएसमा बस्दा त्यहाँको आइफोन बोक्थेँ । मोबाइलमा सौखिन छैन । अहिलेको समयमा आवश्यक फङ्सन भएको मोबाइल भए पुग्यो ।

फोन गर्ने, उठाउनेका अतिरिक्त मोबाइलमा फेसबुक, ट्विटर, भाबरलगायतका एप प्रयोग गर्छु । साथीभाइबाट मोबाइल केही गिफ्टसमेत पाएको छु । नहराए, नबिग्रिएसम्म मोबाइल फेर्ने बानी छैन ।

टीभी

टीभी प्रायः बेलुका हेर्छु । टीभीमा हेर्ने भनेको  समाचार नै हो । सीएनएन, नेपाली टेलिभिजनका समाचारहरु प्रायः हेर्छु । अन्तरवार्ताहरु धेरैजसो मोबाइलमै हेर्छु । कहिलेकाहीँ राम्रा र इन्ट्रेष्ट लाग्ने कार्यक्रमका लागि पनि टीभी हेर्छु ।

चलचित्र

चलचित्र नहेरेको धेरै भयो । पहिले स्कुल कलेज पढ्दा हलमै गएर धेरै चलचित्र हेरियो । त्यसपछिका दिनमा छानेर, घरबाट सिफारिस भएका र साथीभाइसँग कुरा गर्दा यो छुटाउन नहुने भनेका चलचित्र हेर्ने गरेको छु ।

भिडियो

स्कुल कलेज पढ्दा साथीभाइ माझ पनि फिल्मको गफ हुन्थ्यो । फिल्म हेर्न इच्छा पनि लाग्थ्यो । प्रहरीमा रहँदा काममा धेरै व्यस्त रहेकाले चलचित्र हेर्न पाइएन । हिन्दी, नेपाली फिल्म हेर्छु ।

फुर्सद

जागिरबाट रिटायर्ड भएपछि फुर्सदै फुर्सद छ । तर, भेटघाट, छलफल लगायतले समय बितेको पत्तै हुँदैन । परिवारलाई पनि अहिले धेरै समय दिइरहेको छु ।

घुमघाम

प्राकृतिक सौन्दर्यले भरिएका, राम्रा विकास निर्माण भएका ठाउँ घुम्न मनपर्छ । देशका हरियालीले भरिएका, मनमोहक दृश्यले भरिएका ठाउँ मनपर्छ ।

देशको धेरै र विदेशका पनि देशहरु घुमेको छु । केही देश जाने रहर हुँदा पनि जान नपाएका पनि छन् । अहिले ब्राजिल, अस्ट्रेलिया लगायतका देश घुम्ने इच्छा छ ।

अध्ययन

अध्ययनमा रुचि छ । समय छिर्नेवित्तिकै पढ्छु । बिहान र खाना खाएपछि पनि पढ्छु । पहिले–पहिले पेसासँग जोडिएका किताबहरू पढ्थेँ । अहिले विदेश सम्बन्ध विषयका, राजनीतिक र अन्य व्यक्तिका जीवनी पढ्छु ।

अहिले पढ्दै गरेका किताब मिसेल ओबामा, कमला ह्यारिसको बायोग्राफी र अन्य केही छन् । मन परेका किताब धेरै छन् । नाम भने ठ्याक्क भन्न सकिनँ ।

गीत सङ्गीत

गीत सङ्गीतप्रति मेरो धेरै लगाव छ । मनपर्छ, सुन्छु । नारायण गोपाल, बच्चु कैलाश लगायतका गीत मन पर्छन् । पछिल्लो समय बजारमा आएका गीत सुन्ने गरेको छु ।

प्रहरीको एउटा गीत पनि लेखेको छु । प्रहरीमा जुन दुःख गरिरहेको थिएँ, त्यो समय समाजले त्यही हिसाबले हामीलाई नहेरेको महसुस भएर प्रहरीका दुःखको गीत कोरेको थिएँ ।

राशि 

मेरो राशि मिथुन हो, त्यही अनुसार हेर्छु । राशिले कहिलेकाहीँ प्रभाव पर्छ भन्ने लाग्छ । पूजा पाठ गर्नैपर्ने कार्य मात्र गर्छु ।

विवाह

विसं २०४९ मैले विवाह गरेको हो । दुवै परिवारको चिनजान पहिलेदेखि थियो । पारिवारिक सहमतिमा मागी विवाह गरेँ । विवाहपछि श्रीमतीसँग प्रेम बस्यो । त्यो प्रेम अहिले पनि चलिरहेको छ । स्कुल कलेज पढ्दा अध्ययनका लागि फोकस भएकाले बाहिर प्रेम गर्न जानिएन ।

सपना

प्रहरी सङ्गठनमा रहँदा त्यहाँबाट गर्न सक्ने राष्ट्रका काम गरेँ । देशको विकास राम्रो होस्, समृद्ध देशका नागरिक बन्न पाइयोस् भन्ने अहिलेको सपना हो ।

विदेशीले अहिले नेपालीलाई हेर्ने जुन दृष्टिकोण छ, त्यो फेरियोस् भन्ने पनि छ । त्यसका लागि मैले दिन सक्ने केही योगदान छ भने तयार छु ।

जागिरको सिलसिलामा म भएको ठाउँमा काम लिएर आउने व्यक्ति निराश भएर फर्किएको रेकर्ड सायद छैन होला ।

मेरो दुःख

मैले जीवनमा राखेको लक्ष्य नै पीडितको सेवा र न्याय दिलाउने हो । प्रहरीमा रहँदा दुःखी र पीडितको सेवा गरेँ । मैले यो मुलुकमा राम्रा काम मात्र गरेको छु । प्रहरीमा विभिन्न उपयोगी कार्यक्रम ल्याएको छु । त्यसले सबैका पीडा सुनेर अगाडि बढ्न सहयोग मिलेको छ ।

देशका नागरिक मात्र होइन, विदेशका पर्यटकले समेत यो देशमा सुरक्षित महसुस गरून् भनेर त्यो अनुसारको काम गरेँ ।

समाजमा अरूको विषयमा प्रोपोगान्डा गर्ने, नराम्रा क्रियाकलाप गर्ने, लाञ्छना लगाउने व्यक्ति र प्रवृत्ति देख्दा भित्रभित्र दुःख लाग्छ ।

खुसी

म अरूको सेवा गर्दैमा खुसी रहेँ । अरूले तपाईंले यो गरिदिँदा मेरो राम्रो भयो भनेको सुन्दा खुसी भएँ । मेरो जीवन नै अहिलेसम्म त्यसरी चल्यो । अबको जीवन पनि त्यस्तै चाहन्छु ।  

मेरो भुल

जीवनमा किन यस्तो गरेँ भनेर पश्चाताप गर्नुपर्ने भुल केही छैन । सानातिना जानी नजानी भुल भएको हुन सक्छ । जानीजानी भुल गर्नु हँुदैन भन्ने मेरो धारणा हो ।

राजनीति

प्रहरीमा रहँदा राजनीतिमा आउने सोच केही थिएन । अहिले बाहिर बसेर हेर्दै गर्दा राजनीतिले नै पूरै देश चलाउने रहेछ भन्ने बुझेँ । त्यसैले राजनीतिमा जानुपर्छ कि भन्ने लागेको छ । राजनीतिबाट देशको महत्वपूर्ण निकायमा पुगेर काम गर्ने इच्छा छ ।

मृत्यु

मृत्युको विषयमा केही सोचेको छैन । अहिलेसम्मको अवस्था हेर्दा कुनै पनि बेला, जुनै पनि ठाउँमा जे पनि हुन सक्छ । मृत्यु सत्य हो । तर, आफूलाई पर्छ भनेर सोच्न सकिँदो रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप