सरकार ढाल्न खोज्नेविरुद्ध प्रतिकारमा उत्रिनुपर्छः ईश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रनुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् ।
जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने उनले बताए । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।
उनले भने, ‘राजनैतिक अस्थिरता भइरह्यो भने, सरकार ढाल्ने खेल भयो भने । सरकार त ५ बर्षका लागि आएको हो निर्वाचित भएर । सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् । राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल श्रृजना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो राम्रो हुदैन ।’
उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पुर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो । उनले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन