कथा : सावित्रीको बाख्रो
लेखक परिचय
भवानी भिक्षुको जन्म १९६६ जेठ २१ गते लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको तौलिहवामा भएको हो । माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा जन्मिएका भवानी भिक्षु तीक्ष्ण बुद्धिका थिए । भिक्षुको न्वारानको नाम नाम नोहरराम गुप्ता हो । उनी सानामा निकै रोगी थिए । आर्थिक अवस्था पनि कमजोर थियो । उनी चार वर्षको हुँदा बिफरले थला परे । छोराको अवस्था दयनिय भएपछि आमा यशोदादेवी तौलिहवाकै कालीमन्दिर पुगेर छोराको स्वास्थ्य सुधारियोस् भनेर भवानी (शीतलादेवी) को पूजाआजा गरिन् । विस्तारै उनको स्वास्थ्यमा सुधार आउन थाल्यो । भिक्षु बिफरबाट निको भए तर उनको मुखैभरि दागले ढाक्यो । आमा यशोदादेवीले माता भवानीसँग छोराको रोग निको होस् भनेर भिख मागेर मागी बचाएकी हुनाले उनलाई घरमा भिक्खा भन्न थालियो र त्यसपछि उनको औपचारिक नाम नै भवानी भिक्षु रहन गएको भनाइ भेटिन्छ ।
आर्थिक दुरवस्थाका कारण हुनसक्छ उनलाई मावलीले हुर्काए बढाएका थिए । यिनको मामा घर कपिलवस्तुको सीमा पारि भारतमा पर्दथ्यो । आफ्नो गाउँको भाषा पाठशालामा चार पास गरेपछि भवानी भिक्षु मामाघर पुगेका थिए । मामाघरमा केही वर्ष बस्न नपाउँदै फेरि उनका बुबाले उनलाई नेपाल नै फर्काएका थिए । तर भवानी भिक्षुको एकोहोरो जिद्धिका कारण उनी पुनः मामा घरै फर्केका थिए । त्यसपछि भने यिनको नियमित पढाइलेखाइ भारतमै हुन थाल्यो । यिनले बाह्र वर्षको उमेरमा हिन्दी माध्यममा कुलभूषण परीक्षा दिए र त्यस परीक्षामा दोस्रो स्थान प्राप्त गरे ।
नेपाल फर्केपछि हरेक जुक्तिले घरको आर्थिक अवस्था उकास्ने काम गर्न थाले । सुरुमा उनी लेखनदास बन्न पुगे । विक्रममणि त्रिपाठीका अनुसार यिनका लेखन गुरु अम्बिकाप्रसाद श्रेष्ठ थिए । घटराज भट्टराईका अनुसार अड्डाअदालतमा लेखापढी गर्दागर्दै उनमा नेपाली अक्षर लेख्ने मन बस्न थालेको थियो । त्यही लेखनदासी लेखनी नै उनको नेपाली भाषाको जग बन्न थाल्यो । त्यस बेला श्रेष्ठले उनलाई बस्नका लागि आफ्नै घरको एउटा कोठा पनि दिए । श्रेष्ठका घरमा डेरा सरेपछि भिक्षु बिहान, बेलुका र दिउँसो लेख्ने काममा मात्रै लागिरहे । त्यसैताका मथुराप्रसाद गुप्ताद्वारा तौलिहवामा श्रीराम पुस्तकालयको स्थापना भएको थियो । त्यसपछि भिक्षु नेपाली साहित्यका कृति पढ्नमा पनि अग्रसर भए ।
काठमाडौँ आएपछि उनी गोरखापत्र पुगे र सम्पादक प्रेमराज शर्मालाई भेटे । साथै सिद्धिचरण श्रेष्ठसँग पनि उनको भेट भयो । त्यस बखतका चर्चित साहित्यकार सिद्धिचरणलाई पनि भेटे । सिद्धिचरणलाई भिक्षुको नेपाली भाषाप्रतिको अनन्यप्रेम, आस्था र लगनशीलताले प्रभावित बनायो । अन्ततः श्रेष्ठले भिक्षुको उत्साहले भरिएको नेपाली भाषासाहित्यप्रतिको समर्पणको नाडी छामे र भिक्षुलाई जोरगणेश प्रेसमा पु¥याइदिए । त्यहाँ पुगेर भिक्षुले आफ्नो रचना ‘शारदा’मा दिए । १९९३ सालमा उनको पहिलो समालोचना नेपाली भाषामा छापिएको थियो । अनि भिक्षु शारदामा नै टाँस्सिन थाले । पछि उनी शारदाकै सम्पादकमा नियुक्त भए ।
भिक्षुको पहिलो रचना ‘शारदा’मा प्रकाशित ‘वियोगरात्री’ गद्यकविता हो । साथै शारदामै प्रकाशित ‘आलोक र आलोचना’ पहिलो निबन्ध र ‘मानव’ पहिलो कथा हो । साहित्यका कविता, कथा, उपन्यास निबन्ध र एकाङ्की जस्ता विभिन्न विधामा कलम चलाएका भिक्षुको महत्त्वपूर्ण क्षेत्र कथा र उपन्यास नै हो । शारदादेखि मधुपर्कसम्मका पत्रपत्रिकामा भिक्षुका लेखनिबन्ध छरिएर रहेका पाइन्छन् । भिक्षुले ‘शारदा’ र ‘धरती’ साहित्यिक पत्रिकाको सम्पादन पनि गरे । यही क्रमा उनी कथा, उपन्यास, कविता सिर्जनातर्फ पनि लागे । उनका विभिन्न विधाका कृतिहरू निम्न छन्-
कथासङ्ग्रहहरू- त्यो फेरि फर्कला ? र अरू कथाहरू (२०१४), गुनकेशरी (२०१७), मैयासाहेब (२०१७), आवर्त (२०२४), अवान्तर (२०३४) ।
उपन्यासहरू- सुभद्रा बज्यै (२०१९), आगत (२०३२), पाइप नं २ (२०३४), सुन्तली (२०४०) ।
कविता सङ्ग्रहहरू- छायाँ (२०१७), प्रकाश (२०१७), परिष्कार (२०१७) ।
एकाङ्की- पर्दापछाडि (२०३०) ।
साहित्यका विविध विधाहरूमा मात्र सीमित नभएर पत्रपत्रिकामा पनि भिक्षुको अतुलनीय योगदान रहेको छ । उनले वि.सं. १९९९ देखि २००३ सम्म शारदा पत्रिकाको सम्पादक, २००८ देखि २०१३ सम्म प्रचार विभागका अतिरिक्त निर्देशक, २०१३ तिर धरती पत्रिकाका सम्पादक, २०१४ मा नेराप्रप्रका सदस्य रहेर काम गरेको पाइन्छ ।
कथाकार भिक्षुको कथागत प्रवृत्ति
शारदा पत्रिकामा ‘मानव’ (१९९५) कथाबाट आधुनिक नेपाली कथामा देखापरेका भिक्षु २०३८ सालसम्म निरन्तर रहिरहे । आफ्नो कथालेखनको ऊर्जाशील समयमा उनले करिब ४८ वटा कथा लेखेका छन् ।
भवानी भिक्षु विश्वेश्वरप्रसाद कोइरालाले सुरु गरेको मनोवैज्ञानिक यथार्थवादी धाराका अग्रणी प्रतिभामध्ये एक हुन् । उनका प्रथम चरणका कथामा नेपालको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक परिवर्तनको युग भएकाले त्यसको प्रभाव यस चरणका कथाहरूमा प्राप्त हुन्छ । दोस्रो चरणमा राणाकालको अन्त्य भई प्रजातन्त्रको उदय भएकाले त्यसताकाका कथाहरू पनि त्यसबाट प्रभावित भएका छन् । २०१७ सालको राजनीतिक परिवर्तनले साहित्यका कुनै पनि विधा अस्पृश्य नरहेकाले तेस्रो चरणका भवानी भिक्षुका कथामा पनि यसको प्रभावजन्य भिन्नता प्राप्त हुन्छ ।
समग्रमा भिक्षुका कथामा चेतन र अचेतन मनका अनेक मनोग्रन्थीको विश्लेषण पाइन्छ । राजनीतिक, सामाजिक परिवेशअन्तर्गतका कथाहरू पनि सिर्जना गर्ने भिक्षु फ्रायडीय यौन मनोविज्ञानलाई कथाको मुख्य विषयवस्तु बनाएर कथा सिर्जनामा रूचि राख्छन् । उनले शिष्ट यौनलाई मात्र स्थान दिन्छन् । यस अतिरिक्त बाल मनोविज्ञानलाई पनि उनले स्थान दिएका छन् ।
कथा
एक दिन एक मित्र सज्जन आए । कुरा कहानी हुनथाल्यो । मेरा खिल्ली उडाउन थाले– “केको लेखक बन्नु भएको ? झुट्टा प्रेम, मोह, ममताको कुरा लेख्नुहुन्छ । स्वास्नी छँदैछैन, प्रेम पनि भए–गरेको कतै देखिँदैन । लेखिएका जम्मै कुरा कितापी प्रेम मात्र ! इत्यादि ।” त्यसबखत मनमा लागेको उत्तर दिएँ । प्रेमको अनुभव कहाँसम्म, के–कस्तो छ इत्यादि पनि भन्न हुने सीमासम्म भनेँ । सज्जन मित्र भने खिल्ली उडाउँदै रहे, मुड नै त्यस्तै लिएर आएका थिए । अन्ततः प्रेम–स्नेहको मामिलामा मलाई वज्रमूर्ख साबित गरी सस्नेह गए । उनी गएका मात्रै के थिए, तल बारीमा रहेकी सावित्रीले हस्याङफस््याङ गर्दै मेरो सफा, राम्रो कोठामा थुप्रै झारपात ल्याइथुपारी– “लौ हेर्नुस् यो काँक्रो, यो फूल, यो फर्सी, लौका जम्मै खायो । दिनहुँ पानी पाटेँ, स्याहारेँ, उमारेँ, जम्मै सखाप ! मारी नै दिन्छु.... ।” भन्दै दाह्रा किट्दै खुट्टा बजार्दै तल ओर्ली । मायाँ–ममता, प्रेम–स्नेहको मुडमा रहेको मलाई विरक्ति लाग्यो, रिस पनि उठ्यो । साँच्चिकै हो नि, कति दुःख गरी गरी लगाएका केनपात बाख्रोले खाइसिध्यायो । छिमेकी सारा त्यस्तै छन् । बोलुँ भने दमाइझगडामा पर्नुपर्छ । चुप रहुँ भने महिनौँको परिश्रम बाख्रा, गाई गोरुले एक मिनेटमा नै सखाप पार्ने मामुली कुरो ! तर चुप लाग्नुमा नै कुशल भन्ठानेर अहिलेसम्मको सहेर पन्छाउने धैर्य, परिश्रम त्यस दिन पनि सँगालेर तल आर्लें । सावित्रीले कुनै तवरले बाख्रोलाई पक्री छिँडीको कोठामा थुनिराखेकी थिई । कोठाभित्र ‘म्याँ म्याँ’ कराएको बाख्रोको बोली सुन्दै बारीमा पुगेँ । जम्मै त होइन तर पलाउँदै आएका तरकारी र फूलका केही बिरुवा खाएको देखेर दुःख पनि लाग्यो ।
“बाख्रो समात्ने जम्मै बारी दगुरेकी सावित्रीले इनारमा हात–खुट्टा पखालिरहेकी थिई । मलाई देख्नेबित्तिकै भनी– “छिँडीमा थुन्दिएकी छु । त्यसलाई भोकभोकै नमारी कहाँ छोड्छु र ? जम्मै खाइसिध्यायो । हेर्नुस् न !” उसको आँखा अलिक रसाएको जस्तो पनि थाहा पाएँ र उस बखतको उसको रिसमा सन्तोष पनि लाग्यो ।
सावित्री मेरो भात पकाउने र अह्राएको घरको काम गर्ने भन्छे केटी ! इच्छा नरहे पनि मेरो रिसको डरले कोठा सफा पार्ने, घरको मालताल थन्क्याउने इत्यादि भएभरको काम ऊ गर्छे । तर रुचिले होइन कि ‘गर्नुपरिहाल्छ, गर्नैपर्छ’ भन्ने विवशताले मात्र ! विवशता केको छ भने राम्रोराम्रो खान–लाउन पाउने तथा उसको शोखअनुसार मनपर्ने राम्राराम्रा मालतालको उपयोग गर्ने, रेडियो बजाउने र यसरी छिनभरिकै लागि भए पनि पाउने सन्तुष्टि–लोभ र गाली–भनाइ खप्नुपर्ने अलिक भया मात्र । उसको आफ्नो दुर्दमनीय इच्छापूर्तिको लोभ र केही बिग्रे–नासेमा गाली भनाइ खप्नैपर्ने भय–चेतना नभए घरका सारा साजसर्जाम, मालताल नष्ट भए पनि, कुनै त्यस्तो अवस्थामा एउटा बेवास्ताको मानिसलाई पनि, हुने स्वाभाविक खेद र दुःख विषदको सहज मानवीय प्रवृत्ति–पर्यन्त उसमा छैन, यो म किटेरै भन्न सक्छु ! मेरो अनुभवमा त त्यो आइमाई भए पनि एउटी त्यस्ती हृदयहीन केटी हो, जसको हृदयतत्त्व स्वार्थ र नोकरीको अभ्यासजन्य व्यावसायिकताले खाइसकेको थियो ! वस्तुतः त्यो निम्नकोटिको संस्कार प्राप्त क्षुद्र र कुटिल लोभ, स्वार्थमा खुट्टादेखि टाउकोसम्म मुछिएकी एउटी नोकर्नीबाहेक अरू केही पनि होइन ।
त्यस्ती सावित्रीलाई बारीको केनपात बाख्रोले आइदिँदैमा यत्तिको दुःखउत्तेजित देखेर अचम्म लाग्नुको सट्टा मलाई, कुन्नि कहाँ हो कहाँ, सन्तोष पनि लाग्यो । बिस्तारै दैनिक कामहरुले छोप्तै ल्याए र सावित्री त्यसैमा व्यस्त हुँदै गई । म पनि आफ्नो अनिवार्य कार्यक्रममा अल्झिएँ, बाख्रोले खाएको फूल, तरकारीका बिरुवाहरु तथा सावित्रीको क्रोधावेगका तात्कालिक उद्वेलन साम्य हुँदै गई बिलायो । तर कामकाजको व्यस्ततामा पनि अलिक फुर्सद पाएका बेला, क्षणहरुमा अचेतनमा भए पनि मेरो मानसमा रही रही यो प्रश्न उठिरहने क्रम छोडेन कि “सावित्रीलाई आज कुनै नोक्सानीमा उद्विग्नता कसरी आयो र कसैको हानि–नोक्सानीका कुरा– उसको जन्मजात–बेवास्ता, बेपर्वाहीले नै पन्छाउने उसको प्रकृति आज कहाँ लुकेर बस्यो, कता बिलायो ?”
साँझ परिसकेको थियो, डुलेर बाहिरबाट घर पुगेर तल छिँडीकोठामा हेरेँ,
बाख्रो एक कुनामा चुपसित बसिरहेको थियो । माथि पुगेर अलिक आराम गर्न ओछ्यानमा त्यसै पल्टेँ । एकछिनपछि सावित्री पनि भान्साबाट आई र आउँदाआउँदै भनी– “बाख्रोले लिन कोही पनि आएन । तल बाँधिराखेकी छु । लिनै आए पनि अब त दिन्नँ ! यस्तरी दुःख गरी गरी लगाएका जम्मै बिरुवा कसरी खाइदियो, हरे...!” अनि करुवा बोकेर पानी लिन गई । म ओछ्यानमा नै लडिरहेँ । केहीबेरपछि तल बाख्रोले कराएको स्वर र सिँढीमा उक्लिने सावित्रीको पदचाप दुवै सँगै सुनेँ । पानी आएपछि उठेर हात धुन थालेँ, मेरो हातमा पानी हाल्दै सावित्रीले भन्नथाली– “मलाई देख्नेबित्तिकै बाख्रो कराउन थाल्छ, मलाई चिन्यो, तल पुगेपछि पटकैपिच्छे ऊ कराउँछ !” म रुमालले हात पुछ्तै थिएँ, केही सम्झेझैँ अनुहार लाएर उसले फेरि भनी– “बाख्रो त भोकले कराएको हो क्यार ! भरदिन केही खानै दिइनन्, अलिक घाँसपात हाल्दिन प¥यो कि ? हाल्दिनै प¥यो, विचरा भोकै छ !” ऊ फेरि तल गई, बाख्रो कराएको स्वर पनि सुनेँ । एकछिनपछि माथि आएर सावित्रीले सम्चार सुनाई– “हलुवाबेतको पात पनि खाइरहेको छ । अब त चुप लाग्यो ।” सुनेर पनि म चुप नै रहेँ, केही भनिनँ । राति भात खाएर सुत्न जाने बखत उसले मसित सोधी– “पानी नखुवाए बाख्रो मर्दैन र ? पानी केमा राखुँ त ?” प्रश्न सुनेर मलाई कुन्नि किन हो, हाँसो उठेर आयो । तर हाँसिनँ । बिस्तारै भनेँ– “कुनै माटोसाटोको भाँडोमा राखिदेऊ न !” एउटा फ्याँकिएको कहतारोमा पानी लिएर ऊ तल ओर्ली । बाख्रोलाई पानी दिएर माथि आफ्नो कोठामा गएर सुती ।
बिहान साढे चार बजे नै बिउँझिने मेरो बानी छ । उठेर आँखा, मुख पखाली, एक गिलास पानी खाएर लेख्न बसेँ । एक घण्टा काम गरिसकेपछि थकाइ मार्न चिया खाने गर्थें । तर ठीक समयमा नै चिया तयार पारिदिने सावित्री आज त आइन ! “किन यसरी सुतेकी होली” भनी सम्झँदै कराएर उसलाई बोलाएँ, जवाफ आएन । अलि जोरसितै चिच्याएँ । ‘हजुर’ भन्ने प्रत्युत्तर त आयो तर सावित्रीको कोठाबाट होइन कि तल बारीबाट ! अनि भ¥याङ उक्लेको पदचाप सुनेँ । मेरो कोठामा पुगेर अलिक उत्फुल्लतासाथै हाँस्तै सावित्रीले भनी– “बाख्रो अब कराउँदैन, मलाई देख्नेबित्तिकै जुर्मुराउँदै उठ्यो । लामो डोरीमा बाँधेर नासपातीको रूखमा बाँधिदिएको त चुरुम चुरुम चर्न थाल्यो ।” सुनेर झर्कंदै भने– “चिया पकाउनु त कहाँ कहाँ अब बाख्रोलाई खुवाउनै जरुरी प¥यो । अहिल्यै बाख्रो चराउन केको जरुरी थियो र ?” उत्तरै नदिएरै उसले स्टोभ बाली ।
पाँच सात दिनसम्म कसैले बाख्रोलाई खोज्न, लिन आएन । कदाचित उसको मालिकले पत्तै पाएको थिएन होला कि बाख्रो यहाँ छ । यता त्यतिन्जेल बाख्रो र सावित्रीसम्बन्धी कयौँ घटना घटे, अनेकौँ नयाँ स्थापन भइसके । एक दिन डोरीबाट घाँटी फुत्काएर बाख्रोले फेरि दुई चारवटा तरकारी, काँक्रोका बिरुवाहरु चरिखायो । त्यस दिन सावित्रीले हाँस्तै समाचार मात्र सुनाई । ‘बाख्रो त बाठो छ, के गरेर हो, कसरी डोरीबाट घाँटी फुत्काएछ, झ्यालबाट यस्सो हेर्दा त बिरुवाहरु खाइरहेको ? दगुर्दै गएर समातेँ, फेरि कसेर बाँधिदिएँ । धेरै त बिगारेको छैन है !’ समाचार सुनाउनुमा आक्रोश, क्रोध थिएन । बरु ‘म नरिसाउँ’ भन्ने सावधानीले हो कि केले हो, बाख्रोको दुष्ट्याइँलाई सकेसम्म महत्त्वहीन, नरम पारी उसप्रति मेरो सहानुभूति र स्नेह उमाल्नेतर्फ बढ्ता जोर थियो । अनि यस्तै एक दिन बडो प्रसन्नता साथ सावित्रीे एउटा नयाँ सफलताको कुन समाचार सुनाई भने– ‘बाख्रोलाई अब त बाँध्नु पर्दैन । फुकाएरै राखे पनि भाग्दैन । अब त ऊ मलाई देख्नेबित्तिकै मेरो पछिपछि लाग्छ । आजै दिउँसो फुकाइदिएको त सँगसँगै उक्लेर माथि भान्सासम्म आइपुग्यो । चावल–दालको कनिका हाल्दिएँ, मजासित खायो ।” कुरा सुनेर मनमनै अचम्म अनुभव गरेँ । साथै एउटा रहस्यमयता र ईखले पनि समात्यो । सावित्रीलाई प्रत्येक सम्भव सुविधासाथ मैले पनि दुई–तीन वर्षदेखि पालेको हुँ । उसको जम्मै नोकर प्रवृत्तिको कुरुप संस्कारलाई समेत विचार र हृदयशीलतामा प्रश्रय दिएको हुँ । उसलाई पनि यो थाहा छ कि मकहाँ पाए जतिको सुखसुविस्ता अन्त कतै पनि भान्सेको वा अन्य कुनै सेवा कार्य गररेर ऊ पाउँदिनँ । कमसेकम उसको जिद्दी, जो मैले नचाहेर पनि दुःशील र वणिकपना जस्तो देखिनजाने कुुनै पनि व्यवहारको प्रति स्वयंभित्रै उब्जने लज्जाबोधको कमजोरी भावनाशीलताले गर्दा कुनै रूपमा पूरा नै हुँदै आएको थियो, अन्त कतै पनि मालिक नाउँको कुनै जन्तुकहाँ अवश्यमेव चल्ने व्यावहारिकता होइन । किन्तु यतिको पाएर पनि यस घरको कुनै राम्राभन्दा पनि राम्रा मूल्यवान् निर्जीव वस्तु वा सजीव तत्त्वमा ममता, मोह र विचारशीलता भन्ने कुनै भावको परिचयपयन्त स्वीकार नगर्ने सावित्रीको अर्काको बाख्रोप्रति ममता वा मोहमिश्रित लोभ नै लिएकोमा पनि म अचम्मको र त्यस बाख्रोप्रति ईष्र्याको सङ्घात पनि स्वभावतः नै लिएको थिएँ । मेरो काम गर्नु त कहाँ–कहाँ, घरको सेवा–स्याहार गर्नु त कहाँ कहाँ बाख्रो चराउने धौ–धौ, कहिले उसलाई पानी खुवाउने सतर्कता, कहिले बाख्रोको गुणवर्णन सुन्दासुन्दै मेरो मालिकत्व भने मनमनै भुटभुटिन थाल्यो । चार पाँच दिनमा त कहाँसम्म भयो भने बाहिरबाट आएर एक गिलास पानी खान भनी ‘सावित्री, सावित्री’ चिच्याइरहँदा पनि बारीमा बाख्रो चराउन बसेकी र उसलाई आफ्नो पछिपछि हिँड्न लगाएर बाख्रोमाथि आफ्नो स्वामित्वको तुच्छ विजयलाभ पाउन खोज्ने, सावित्रीनजिक मेरो चिच्याहट पुगेर पनि अरण्यरोदनसरह उपेक्षित भई मतिरै फर्किआउने गथ्र्यो । अन्ततः मैलाई उठेर झ्यालबाट कराउनुपथ्र्यो । फेरि अनिच्छापूर्वकै भए पनि कृत्रिम रवाफ बनाई आफ्ना राता आँखाप्रति उसको ध्यान आकर्षित गरेर म नै आफ्नो क्षमता बलको महत्त्व व्यक्त गरेपछि मात्र ऊ प्रष्ट अनिच्छ देखाउँदै उठ्थी । अझ माथि आएर एक गिलास पानी मेरो हातमा दिँदादिँदै पनि चुपसितै यो पनि व्यक्त नगरी छोड्दैनथी कि बाख«ाकी मान्य स्वामिनी ऊजस्तीलाई मैले पानी ल्याउन लगाएर गरेको अपराध पानी दिएर पनि, उसले केवल क्षमा मात्र गरेकी छे र जसप्रति मलाई कृतज्ञ कृतार्थसमेत हुनैपर्छ ! यसरी क्रमशः बाख्रोको स्याहारसुसारमा नै ऊ कहाँसम्म व्यस्त हुनगई भने, एक साताभित्रैमा म बाख्रोको तमासा हेरिबस्ने एउटा उपेक्षित अपदार्थ दर्शक मात्र रहन गएँ ।
एक दिन बिहानै नियमानुसार बसी लेखिरहेको र विषय प्रवाह निर्विरोध चलिरहेकाले लेखन तन्मय भइरहेको बखत भ¥याङमा जोडसित खुट्टा बजार्दै मेरो कोठामा आएर सावित्रीले भनी– “हुर्नुस् न, बाख्रो लिन आइछ, भन्छे– बाख्रो मेरो हो । उसको हो होइन, हामीलाई के थाहा ? उसले भन्दैमा बाख्रो दिने र ?”
केही पनि नबुझेर सोधेँ– “लिन आउने को हो, के भन्छ ?”
“ऊः मूल सडकपारि गल्लीमा बाहुनको छिँडीमा बस्ने केदारकी आमाले भन्छे बाख्रो उसको हो । आज दस बाह्र दिनदेखि हराएको थियो रे ! हराएको थियो भने यति नजिकै लिन आउनु पर्दैनथियो ? साराको बारी खुवाउन बाख्रो छोडिराखेको, हराएको थियो र ! तर बाख्रो भने त उसको हुँदैहोइन, के लिने ?”
यत्तिकैमा बाख्रोको घोषित मालिक्नी पनि मेरो कोठाको ढोकाअगाडि आई उभिई । आफ्नो मालिकत्व र बाख्रोलाई बाँधिराखेको अभियोग पनि उसले फलाक्न थाली । विरक्त भएर पनि उसलाई बिस्तारै कुरा गर्न भनी झपारेर सोधेँ– “तिम्रो बाख्रो भए अर्काको बारीमा चराउन किन छोडिराखेको त ? मेरो जम्मै तरकारी फूलका बिरुवापात खाइसिध्याएको नोक्सानी कसले तिर्ने ?”
मेरो त्यति समर्थनात्मक कुरा सुनेर सावित्रीलाई अब के चाहियो ! बिरुवाहरुको कष्टसाध्य उब्जा, परिमाण र फूल, तरकारीहरुको कठिन–प्राप्य गुन, फल, सौन्दर्य, स्वाद, सौरभ जम्मैको महत्त्वसंयुक्त तर्कका अजस्रधारा मूल्य र क्षतिको दुःसाध्य परिमाणमा बगे । बीचबीचमा बाख्रोकी मालिक्नीले पनि जबाफको ढुङ्गा हाल्दै बगिरहेका विभिन्न तर्कधारामा अवरोध पार्ने कोसिस गरी । तर सावित्रीका वाक्य–प्रवाहको वेगअगाडि ती त्यसै गुडिँदै बगेर गए । कुशल यति मात्रै थियो कि मेरो कोठाअगाडि, मरै सामुन्नेको भनसुन भएर प्रवाह–गर्जन भने मद्धिम थियो । पन्ध्र बीस मिनेटपछि जब दुवैका पक्ष मेरो निर्णयलाई उन्मुख भए, मैले भने– “हेर, नोक्सानी धेरै भयो, बाख्रोलाई त अड्डामा नै पु¥याउनुपर्ने, लिलाम हुन्थ्यो तर भो, अबदेखि यस्तरी बाख्रो छोडेर कसैको फलफूल केनपातमा चर्न नलगाऊ ! अब फेरि यतातिर बाख्रो आयो भने मारिदिन्छु । जाऊ, बाख्रो लिएर यस पटक जाऊ !”
हाम्रा कुराको बीच–बीचमा फतफताउँदै गरेकी सावित्री मेरो निर्णय सुन्नेबित्तिकै मौन हुन गएकी थाहा पाएर अचम्म लाग्यो । अनि मेरो न्यायादेशको सम्पूर्ण अवज्ञात्मक प्रतिरोधलाई तयार तत्पर सावित्रीको कल्पित अनुहारमा नजर पुर्याएको त मनमनै त्रस्त हुन गएँ । मेरो यतिका दिनका सम्पर्क अनुभवमा रहेकी त्यस्ती दरिली र कठिन सावित्रीको त्यस्तो रूप मैले अझसम्म हेर्न पाएको थिइनँ । छिनभरमा नै ऊ त्यस्ती कोमल र त्यस्तरी क्लान्त, असहाय भएर देखाहापर्छे र उसको त्यस्तो पीर– निर्बल, अबला मुद्रा म हेर्न सकुँला भन्ने आशा त के ममा कुनै कल्पनापर्यन्त थिएन !
कदाचित् सावित्रीको मूकता र मेरो आश्चर्य आकृतिको प्रभाव बाख्रोकी स्वामिनीमा पनि प¥यो, र ऊ केही नबोलेरै बिस्तारै तल ओर्ली । एकछिनपछि नै बाख्रो ‘म्याँ... म्याँ...’ स्वर सुनियो । अनि सावित्रीले पनि लस्त भएकी झैँ पाइला हाल्दै तल ओर्ली । आधा मिनेट जति होला, म चुप नै बसिरहेँ । अनि कुन्नि कुन चेतनाले हो, केले मैले पनि उठेर कोठा बाहिरको मटानको झ्यालबाट मुन्तिर हेरेँ । बाख्रोलाई डो¥याएर उसकी मालिक्नी गइरहेकी थिई, र बाख्रो चाहिँ इनारमा उभेकी सावित्रीतिर घुमीघुमी मुख फर्काउँदै, ‘म्याँ... म्याँ’ कराउँदै तानिइँदै गइरहेको थियो । सावित्री अपलक आँखाले टुलुटुलु हेरिरहेकी थिई । दृश्य चाहिँ मलाई पनि कस्तो कस्तो लागिरहेको थियो । अनि बाख्रो आँखा–ओत भएपछि सावित्री लर्खरिँदै रामतोरियाँ र फूलका बिरुवा भएको खेतको आलीमा थचक्क बसी । मैले देखेँ, उसको आँखाबाट अबोध आँशुका थोपा उत्निखेरै झरझर झरेर गालामा गुड्न थालेका छन् । खपिनसक्नु भएर म पनि तल ओर्लें । भय थियो कि मलाई देख्नेवित्तिकै ऊ डाको छोडेर रुन थाल्छे । तर आश्चर्य, त्यस्तो केही भएन र उसको नजिक पुग्दानपुग्दै मतिर हेरी । आँसुले भरिरहेका आँखा र भिजेका गाला भए पनि उसमा एकाएक कुन्निकस्तो आवेग टल्केको अनुभूति मलाई हुँदानहुँदै ऊ आँधीजस्तो हुर्रिएर खेतमा पुगी र तरकारी तथा फलफूलका बिरुवाहरु उखेल्दै मतिर फाल्न थाली, साथै फल्ने क्रमको हरेक पटक कराउँदै पनि गई– लौ, यो पनि लिनोस्, लिनोस्, जम्मै त्यसै राँडीकहाँ पु¥याइदिनोस् ! यति दुःख गरी गरी लगाएको यसमा अब छँदै के छ र ? बाख्रोले जम्मै चरेको यै होइन र ? लिनोस्न, लिनोस्, पठाइदिनोस्न !”
वाल्ल परेर अलिक टाढै मूक, हतबुद्धि म उभिई नै रहेँ । खेतका छेउछाउ भएभरका तरकारी र फलफूलका बिरुवाहरु उखेली फालेपछि ऊ दगुर्दै माथि पुगी । जम्मै घटित दृश्यमा जिल्ल, उभिरहेर पनि अलिक संयम भई म पनि माथि पुगेँ । हेर्छु त ऊ मेरै कोठाको भुइँमा घोप्टिई बुझिनै नसकिने कुन्निकस्तो वेदना विह्वल मसिनो सुरमा रोइरहेकी थिई । कोठाका ढोका बाहिरै निस्तब्ध उभिरहेर उसको घोप्टिएको जिउ म हेरिरहेँ । मनमा अनेक अस्तव्यस्त भावधारा ओहोर–दोहोर गर्न थाले– “यसले अनाहकमा खेतका बिरुवा किन उखेलिफली ? रिस लागेपछि यस्तरी धुरुधुरु किन रोइरहिछ ? यो रुवाइ दुःख हो कि क्रोधोद्वेग ? इत्यादि ।” अनि एकाएक, बाख्रो यहाँ छँदै एक पटक घाँटीको बन्धन फुत्काएर बिरुवाहरु चरिदिँदा र बाख्रोकै पक्षसमर्थन गरेकी यही सावित्रीकै अनुहार सम्झेँ । वर्तमान आवेग रुदनको समस्यामाथि कुनै प्रकाशजस्तो परेको अनुभव भएर कुनै पनि मर्यादावरोध नमानी घोप्टिएकी सावित्रीलाई उठाएर उसको आँसु भिजेको रातो अनुहार हेरेँ । निमेषभित्रै मानौ जम्मै छर्लङ्ग पारेर भित्रको कुनै देउताले झ्याली पिट्तै चिच्यायो– “यो आँशु क्रोध होइन, यो आँशु दुःख पनि होइन, हरे यो त हो त्यस बाख्रोप्रति मानवीय मोहको त्यो उत्सर्ग, जो आज सावित्रीजस्तीको पनि सारा प्रवृत्तिलाई वर्जित पारी, डोहोरिइँदै आफ्नी मालिक्नीको साथमा गइदिएको छ । त्यसैका उत्सर्ग हुन् ती तल उखेलिएका, फालिएका बिरुवाहरु ! र आह ! त्यसैका स्नेह, ममताका उत्सर्ग होइनन् यी आँसु, यी मोहका तरल अर्घ्य ?”
यो कथा भवानी भिक्षुको आवर्त कथा सङ्ग्रह (तृतीय संस्करण २०३८) बाट लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
-
यु–१९ एसिया कप खेलेर नेपाली टोली स्वदेश फर्कियो, तस्बिरहरू
-
आसिफ र आरिफका बुबा भन्छन्– नेपाली क्रिकेटले विश्वकप जितेको हेर्ने धोको छ
-
नेता कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी, कार्यविधिले रोक्ला अराजकता ?
-
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
-
प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने