सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सुपारी आयातमा अनियमितता अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन

शुक्रबार, ०३ वैशाख २०७८, १७ : १३
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।  राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । सरकारको नजिकका व्यापारीलाई मन्त्रीस्तरीय निर्णयबाट २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिइएकोबारे समितिमा सांसदहरुले प्रश्न उठाएपछि यसबारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय भएको हो ।

त्यसअघि समिति सदस्य रायमाझीले सुपारी निर्यातमा नीतिगत भ्रष्टाचार भएको भन्दै त्यसबारे अध्ययन गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका थिए  । उनले भने, ‘सरकारले क्याबिनेट निर्णय गरेर २५ हजार मेट्रिक टन सुपारी आयात गर्न व्यापारीलाई इजाजत दिएको छ,के को लागि भन्दा १ किलो सुपारीमा १ सय ५० रुपैयाँ फाईदा हुन्छ । कति अरबको खेल छ । २५ हजार मेट्रिक टन आयातका लागि ३ सय ८४ वटा फार्मले एप्लाई गरेका मध्ये सरकारसंग नजिक भएका केहीले मात्रै अनुमति पाएका छन् । त्यो सुपारी नेपालमा खपत गर्नका लागि ल्याइएको होइन । यहाँ ल्याएको पेपर देखाउने, भारतमा बेच्नका लागि । यस्तो गतिविधि सरकारले खुलेआम क्याबिनेटले निर्णय गरेर अरबौँ रुपैयाँको भ्रष्टाचार गरिरहेको छ ।’  जुन सरकार आएपनि सधै सरकार र सरकारका मन्त्रीलाई अनुकूल हुनेगरी बजेट ल्याउने गरिएको भन्दै उहाँले दिगो विकासका लक्ष्य प्राप्तिलाई प्राथमिकतामा राखे नराखिएको बारे समितिले चासोका साथ अध्ययन गर्नुपर्ने धारणा राखे । राजनीतिक दलका नेताहरु मुलुक र जनताका प्रति जिम्मेवार बन्न नसक्दा पछिल्लो पुस्तामा राजनीति प्रति नै घृणा उत्पन्न हुन थालेको भन्दै उनले सबैले जिम्मेबार हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘लोगो लगायो भने, बाटोमा भेट्यो भने मान्छेले पट्काइदेला भन्ने डर । देश बिगार्ने मध्ये यो पनि एक हो भनेर । ..राजनीति मात्रै गर्यौ हामीले । पार्टीको राजनीति गर्यौ । आफ्नो राजनीति गर्यौ । देश र जनताप्रति हामी जिम्मेबार भएको मलाई कहीँ कतै लाग्दैन । यही हो भने राजनीतिमा मेरो छोरी, छिमेकीको छोरी, मेरा नातागोताका छोराछोरी, पढिरहेका टिनेजरहरु राजनीति भनेर घृणा गर्छन् । बाबुआमालाई घृणा गर्न थालिसके उनीहरुले । तिमीले यो मुलुक बिगार्यौ । तिमीले मुलुकलाई हेरेनौ । मुलुकप्रति जिम्मेबार भएनौ । सिस्टममा मुलुकलाई चल्न दिएनौ । अहिलेले बाटोमा हिड्दा मैले त लोगो लगाउन छोडिसकेको छु ।’

त्यसैगरी समिति सदस्य दिनानाथ शर्माले सुपारी आयातका सम्बन्धमा भएको भनिएको नीतिगत भ्रष्टाचारका विषयमा अध्ययन गरी सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए । सुपारी आयातका लागि दिईएको अनुमति बारे बुझ्नका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप