शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधीहरुलाई विलासी गाडी, आगलागी नियन्त्रणमा दमकल छैन

शुक्रबार, ०३ वैशाख २०७८, १० : ४१
शुक्रबार, ०३ वैशाख २०७८

गुल्मी । पहाडी जिल्ला गुल्मीमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।

जिल्लामा विपद व्यवस्थापन समिति छ । तर आगो नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा सुरक्षाकर्मीले आगो निभाउने क्रममा ज्यान गुमाएका घटना पनि नभएको होइन । केही वर्ष अघि हस्तीचौरमा आगो निभाउने क्रममा एकजना सैनिक जवानको जलेर मृत्यु भएको थियो । त्यसपछि पनि आगो नियन्त्रणका क्रममा गुल्मीको बडागाउँमा एक युवाको मृत्यु भएको थियो ।

यस्तो अवस्था भोग्दा भोग्दै पनि जिल्लाका जनप्रतिनिधिले जिल्लामा दमकल ल्याउनका लागि पहल गरेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार जिल्लामा एउटामात्र दमकल छ । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा रेसुङ्गा नगरपालिकासँग मात्र दमकल छ । अन्य ११ स्थानीय तहसँग दमकल नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थी बताउँछन् ।

दमकल खरिद सम्बन्धमा प्रशासन कार्यालयमा छलफल भए पनि ठोस प्रक्रिया अघि नबढेको उनी बताउँछन् । दुई स्थानीय तह बराबर एक दमकल खरिद गर्ने भनिए पनि यो लागू हुन सकेको छैन ।

करोडौं मूल्यमा सरकारी गाडी किन्ने र करोडौं रकम भाडा तिरेर निजी गाडीमा सवार गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले दमकल खरिद चासो नदेखाएका हुन् ।

२०७३ वैशाख १८ गते गुल्मीको दजाकोटमा भीषण आगलागी भएको थियो । सदरमुकाममा दमकल नहुँदा ट्याक्टरमा पानी बोकेर निभाउने प्रयास गर्दागर्दै दजाकोट गाउँ जलेर खरानी बनेको थियो ।

दजाकोटका बासिन्दा तथा मुसिकोट नगरपालिका कार्यसमिति सदस्य हरिप्रसाद छन्त्यालका अनुसार त्यस आगलागीमा ५७ घर र ७२ वटा गोठ जलेर पूर्णरुपमा क्षति भएका थिए ।

गत फागुन–चैतमा ४ जनाको मृत्यु

गुल्मीमा गत फागुन र चैत महिनामा आगलागीका घटना बढेका छन् ।  यस अवधीमा जिल्लाका विभिन्न स्थानमा आगलागीमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लामा करिब १५ घर आगोले जलेर पूर्ण रुपमा नष्ट भएका छन् । थुप्रै गोठमा आगलागी हुँदा पशु चौपायाको समेत मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–२ बागमारेमा पूर्णराम परियारकी श्रीमती ६५ वर्षकी हरिकला परियार आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरको कम्मर मुनिको भाग जल्दा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिका १ कुर्लिचौरमा नन्दबहादुर कुमालकी श्रीमती ४२ वर्षीय मनकुमारी कुमालको पनि खाना पकाउने क्रममा अचानक आगो सल्किएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै, धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोली बले सल्ला सामुदायिक वनमा आगलागी हुँदा शंकर परियारकी छोरी वर्ष ९ की संगिता परियारको मृत्यु भएको थियो । छत्रकोट गाउँपालिका–१ हुँगामा लालबहादुर गाहाकी श्रीमती ५२ वर्षकी मिना गाहा आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप