शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अविस्वासको प्रस्ताव प्रतिगामी कदम : मुख्यमन्त्री गुरुङ

बिहीबार, ०२ वैशाख २०७८, २१ : ०९
बिहीबार, ०२ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु अविस्वास प्रस्तावबाट भाग्न नखोजेको बताएका छन् । उनले अविस्वास प्रस्ताव छल्नलाई संसद अधिवेशन अन्त्य गरेको नभई प्रदेशको स्थिरताका लागि अविस्वास प्रस्ताव ल्याउने दलहरूसँग वार्ता र संवाद गर्नकै लागि अधिवेशन अन्त्य गरेको दावी गरेका हुन् ।

संसद अधिवेशन अन्त्यपछि विकसित घटनाक्रमबारे कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले वामपन्थीहरुले मुलुकमा विकास र स्थिरताका कुरा गरेपछि प्रदेश सरकारविरुद्ध अविस्वास प्रस्ताव ल्याएर समृद्धिको यात्रामा अवरोध गरेको आरोप लगाए ।

उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुखले मुलुकमा स्थिरताका कायम हुनुपर्ने बताए पनि अविश्वासको पक्षमा लागेर प्रतिगामी बाटोतर्फ लागेको बताए । ‘चित्रबहादुर केसीले कम्युनिष्ट पार्टीको सरकार भएकाले पार्टीले समर्थन गरेको बताउनु भएको थियो । वामपन्थीको सरकारको पक्षमा छु भन्नु हुन्छ,’ उनले भने, ‘तर, विडम्बना प्रदेश सरकार ढलाउन उहाँले नै प्रतिगामी कदम चाल्नु भयो।’

मुख्यमन्त्री गुरुङले वामपन्थीको सरकार ढालेर गैर वामपन्थीको सरकार बनाउनु भनेको मार्क्सवादी भाषामा प्रतिगामी कदम भएको जिकिर गरे । 

उनले काँग्रेस, माओवादी लगायत विपक्षी दलका शीर्ष नेताले केपी ओलीलाई केही गर्न नसकेपछि रिस साँध्नका लागि गण्डकी प्रदेश सरकार विरुद्ध लागेको टिप्पणी गरे । ‘केन्द्रमा केपी ओली विरुद्ध मुख्य दलका शीर्ष नेताहरुको केही चलेन, त्यसको रिस फेर्न यता जाइ लागे,’ उनले भने, ‘काठमाडौंमा रिसाएको बिरालोले पोखरामा आएर खाँबो चिथोरेको जस्तै गरे ।’

उनले प्रमुख प्रतिपक्ष काँग्रेस लगायतका पार्टीलाई सरकार गिराउने हैसियत भए संघीय सरकार ढलाएर देखाउन चुनौति समेत दिए । मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावलाई आफूले स्वभाविक रुपमा लिएको बताउँदै दलहरुले रिस फेर्न ल्याएको भएपनि त्यो पास ​हुन नसक्ने तर्क गरे ।

राष्ट्रिय जनमोर्चा बाहेकका तीन दलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा जनमोर्चाका सांसदको हस्ताक्षर नभएपनि उनीहरुको सहमति भने रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप