नजरअन्दाज गरिएको कोरोनाको अर्को पाटोः किन ब्राजिलमा भइरहेछ यति धेरै बालबालिकाको मृत्यु ?
महामारी सुरु भएको एक वर्षभन्दा धेरै समय बितिसकेको छ । ब्राजिलमा अहिले मृत्युदर उच्च छ । कोरोनाले दुर्लभै मात्र बालबालिकाको मृत्यु हुन्छ भन्ने प्रमाण विपरीत ब्राजिलमा यस अवधिमा १३ सय बच्चाहरुको ज्यान यही भाइरसका कारण गइसकेको छ । जेसिका रिकार्टेका १ वर्षे छोरालाई एक डाक्टरले कोरोना परीक्षण गरेनन् । उनमा कोरोनाको लक्षण देखिएको छैन भनिएको थियो । तर, दुुई महिनापछि यी बालक रोगका कारण सिर्जित जटिलताले मरे ।
बच्चा नभएपछि दुुुई वर्षसम्म जेसिका उपचारका लागि धाइन् । अन्तत, लुकास जन्मिए । ‘उनको नाम लुमिनोअस (प्रकाश) बाट जुरेको थियो । र उनी हाम्रो जीवनको ज्योति थिए । खुसीको परिभाषा हामीले कल्पना गरेभन्दा ठूलो हुन्छ भन्ने उनले नै देखाएका थिए,’ जेसिकाले भनिन् ।
जेसिकालाई पहिलो शंका त्यतिबेला लाग्यो, जब लुकासले खानमा मन गर्न छाडे ।
पहिले त दुधे दाँत आउँदैछ भन्ने लाग्यो । पेशाले नर्स रहेकी लुकासकी हजुरआमाले नातिको घाँटीमा समस्या भएको हुनसक्ने बताइन् ।
तर केही समयपछि ज्वरो आयो । त्यसपछि थकान सुरु भयो र बिस्तारै सास फेर्न गाह्रो भयो । अनि, जेसिकाले उनलाई अस्पताल लगिन् र कोभिड परीक्षण गर्न खोजिन् । ‘डाक्टरले अक्सिमिटर राखे । लुकासको लेभल ८६ थियो । अनि, मलाई लाग्यो कि यो सामान्य होइन,’ जेसिकाले भनिन् । तर, डाक्टर नभर्स थिएनन् । उनले भने,‘चिन्ता नलिनुस् । कोभिड परीक्षण गर्नुपर्ने जरुरत छैन । यो केवल सामान्य घाँटी दुखाई हुनसक्छ ।’
बालबालिकामा कोभिड १९ दुर्लभैमात्र हुने उनले बताए । त्यसपछि केही एन्टिबायोटिक्स दिएर घर पठाए ।
घरमै लुकासलाई कोरोना परीक्षण गर्नसक्ने अवस्था थिएन । जेसिकाका अनुसार १० दिनसम्म एन्टिबायोटिक्स सेवन गर्दा केही लक्षणहरु हटेर पनि गए । तर, थकान र कोरोनाप्रतिको जेसिकाको शंका बाँकी नै रह्यो । ‘मैले मेरा बाबु–आमा र सासुलाई धेरै भिडियोहरु पठाएँ । र, सबैले मलाई धेरै बढाई–चढाई गरेको भनेँ । मैले समाचार हेर्न छाड्नुपर्ने उनीहरुको सुझाव थियो । समाचारले ममा त्रास सिर्जना गरेको उनीहरु बताउथेँ । तर, मलाई थाहा थियो मेरो छोरा पहिलेजस्तो थिएन, उसले स्वभाविक रुपमा सास फेरिरहेको थिएन ।’
मेइ २०२० मा कोरोना भाइरसको महामारी बढिरहेको थियो । उत्तरपूर्वी ब्राजिलस्थित जेसिकाको सेरा शहरमा दुुईजना व्यक्तिको निधन भइसकेको थियो । र, यो शहर स्तब्ध थियो । फेरि अस्पताल जाँदा श्रीमती र छोरालाई कोरोना संक्रमण हुने जोखिम देखेर जेसिकाका श्रीमान् इजरेल आत्तिएका थिए । साताहरु बित्दै गयो, लुकास धेरैभन्दा धेरै सुतिरहन थाले । ३ जुलाईमा लुकासले खाना खाइसकेपछि पटक–पटक वान्ता गरे । त्यसपछि जेसिकाले नजिकको अस्पताल लिएर गइन् । शंका निवारण गर्न यहाँ डाक्टरले कोरोना परीक्षण गर्यो ।
लुकासकी हजुरआमा, जो यस अस्पतालमा काम गर्छिन्, ले नै आफ्ना नाती संक्रमित भएको खबर यो जोडीलाई सुनाइन् । अस्पतालमा स्रोत साधनको अभाव भएका कारण लुकासलाई दुई घण्टा पर रहेको सोब्रलस्थित पेडियाट्रिक इन्टेन्सिभ केयर युटिनमा लगियो । यहाँ, चेकजाँच गराउँदा लुकासमा ‘मल्टी सिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम (एमआईएस) भएको पत्ता लाग्यो ।
यो भाइरसविरुद्धको त्यस्तो अतिवादी प्रतिरोध हो, जसले महत्वपूर्ण अंगहरुमा क्षति पुर्याउन सक्छ । विज्ञहरु यो सिन्ड्रोम, जसले कोरोना भाइरस भइसकेको ६ सातासम्म बालबालिकालाई असर गर्छ, अति दुर्लभ भएको बताउँछन् । तर, साओ पावलो विश्वविद्यालयकी सरुवारोग विज्ञ डाक्टर फातिमा मारिन्होका अनुसार महामारीका दौरान उनले विगतमा भन्दा ‘एमआईएस’ धेरैमा देखिन् । यद्यपी, सबै मृत्युको कारण यो मात्रै होइन ।
जब लुकासलाई कृत्रिम सास दिइएको थियो, त्यतिबेला जेसिकालाई एउटै कक्षमा बस्ने अनुमति थिएन । आफुलाई चिन्ताबाट टाढा राख्ने प्रयासस्वरुप उनले पटक–पटक भाउजुलाई फोन गरेकी थिइन् । ‘ मेसिन बन्द नहुँदासम्म त्यसको आवाज सुनिरहेका थियौं र त्यो आवाज निरन्तर थियो । मानिस मरेपछि यस्तो हुन्छ भन्ने थियो हामीलाई लागेको थियो । केही मिनेटपछि मेसिनले फेरि काम गर्न सुरु गर्दा म रोएको थिएँ ।’
डाक्टरले लुकासलाई कार्डियाक अरेस्ट भएको र उनलाई बचाउने प्रयास भइरहेको बताएका थिए ।
लुकासलाई साब्रेलस्थित अस्पतालको आईसियुमा एक महिनाभन्दा लामो समय उपचार गर्ने डाक्टर मानुयल मोन्टेका अनुसार लुकासमा कुनै गम्भीर समस्या देखिएको थिएन । तर, पनि उनको अवस्था गम्भीर थियो ।
फोर्टालेजास्थित अल्बर्ट साबिन बाल अस्पतालका पेडियाट्रिक इन्फेक्टोलोजिस्ट लोहान्ना टाभारेजका अनुसार कोभिडबाट संक्रमित अधिकांश बालबालिकालाई कोमोर्बिडाइटिस ( डायवेटिस वा कार्डियोभास्कुलर रोगजस्ता विद्यमान समस्या) वा तौल बढ्ने हुन्छ । तर, लुकासको अवस्था फरक थियो ।
३३ दिनसम्म लुकासलाई आईसियुमा राखिँदा जेसिकालाई तीनपटकमात्रै भेटघाटको अनुमति मिल्यो । मुटुलाई कम चलायमान बनाउन लुकासलाई अति महंगो उपचार ‘इम्मुनोग्लोवुलिन’ चाहिएको थियो । भाग्यवस्, एक वयस्क रोेगीले यो औषधि आफ्ना लागि किनेका थिए र बाँकी रहेको एम्पोल अस्पताललाई नै दान गरेर हिँ डेका थिए ।
लुकास यति धेरै बिरामी थिए कि उनलाई ‘इम्मुनोग्लोवुलिन’ को दोस्रो डोज चाहियो । शरीरमा खटिरा आएको थियो र ज्वरोले ग्रस्त थिए । उनलाई सास फेर्न पनि सहयोग चाहिन्थ्यो ।
त्यसपछि लुकासमा सुधार सुरु भयो र डाक्टरहरुले उनलाई अक्सिजन ट्युबबाट बाहिर निकाल्ने निर्णय गरे । उनीहरुले जेसिका र इजरेलसँग लुकासको भिडियो कल गराइदिए, छोरा होसमा आइसकेकाले बाबु–आमाले एक्लो महसुस नगरुन् भन्ने उनीहरुको चाहना थियो ।
‘जब उसले हाम्रो आवाज सुन्यो, तब चिच्याउन थाल्यो,’ जेसिकाले भनिन् ।
यो अन्तिमपटक थियो, जब उनीहरुले छोराले प्रतिक्रिया जनाएको हेर्न पाए । अर्कोपटक भिडियो कल हुँदा लुकास ‘प्यारालाईज्ड’ थिए । अस्पतालले सिटी स्क्यानका लागि आग्रह गर्यो र लुकासमा स्ट्रोक थियो भन्ने खुल्यो ।
अझै पनि, राम्रो हेरचाहले लुकास निको हुन्छन् भनेर यो जोडीलाई भनियो । र, त्यसपछि चाँडै आईसियुबाट निकालेर जनरल वार्डमा लगिदैँ थियो । जब जेसिका र इजरेल छोरा भेट्न अस्पताल पुगेका थिए, तब उनीहरुजस्तै डाक्टरहरु पनि रोग चाँडै निको हुनेमा आशावादी थिए ।
‘त्यसरात मैले आफ्नो फोन साइलेन्ट मोडमा राखेँ । म भए ठाउँ आएर लुकासले मेरो नाकमा चुम्बन गरेको सपना देखेँ । प्रेम र स्नेहले भरपुर यो सपना निकै उत्साहप्रद थियो र म निकै खुसीसाथ उठेकी थिएँ । त्यसपछि मैले फोन हेरेँ, जहाँ डाक्टरले १० पटक कल गरेको देखिएको थियो ।’
लुकासको मुटुको धड्कन र अक्सिजन लेभल एक्कासी घटेको अनि त्यस बिहानै मृत्यु भएको दुःखद् खबर डाक्टरले जेसिकालाई सुनाए ।
यदि गत मेइको सुरुवातमै लुकासलाई कोभिड परीक्षण गराइएको भए उनी बाँच्ने थिए भन्नेमा जेसिका ढुक्क छिन् । ‘डाक्टरले सम्भावना र शंका दुर गर्नका लागि परीक्षण गर्न जरुरी छ । उनीहरुलाई बिरामी संक्रमित छन् भन्ने नलागेपनि यस्तो गर्नुपर्छ,’ उनले भनिन्, ‘आफूले के महसुस गरेको छु भने बच्चाले भन्दैनन् । त्यसैले हामी परीक्षणमा निर्भर रहन्छौं ।’
जेसिकालाई लाग्छ, सही उपचारमा ढिलाई भएकैले लुकासको अवस्था थप गम्भीर बनेको हो । ‘लुकासमा धेरै खराबी थियो । फोक्सोले ७० प्रतिशत काम गर्न छाडेको थियो, मुटुको धड्कन ४० प्रतिशतले बढेको थियो । यस्तो अवस्थालाई रोक्न सकिन्थ्यो,’ उनले भनिन् ।
आईसियुमा लुकासको उपचार गरेकी डाक्टर मोन्टे यो कुरालाई स्विकार्छिन् । ‘तथापि, ‘एमआईएस’ लाई रोक्न सकिन्नँ । तर, यदी यो अवस्था समयमै पत्ता लागेको र उपचार गरिएको भए उपचार थप सफल हुन्छ,’ मोन्टेले भनिन्, ‘यदी उनले विशेष उपचार समयमै पाएको भए, राम्रो हुने थियो । अस्पताल आउँदासम्म उनी गम्भीर बिरामी भइसकेका थिए । हामीले उनलाई चाडैं उपचार गर्न पाएको भए नतिजा फरक हुने थियो भन्ने मेरो विश्वास छ ।’
अहिले जेसिकाले लुकासको कथा अन्य व्यक्तिहरुलाई सुनाइरहेकी छिन्, गम्भिर लक्षणको ख्याल गर्न नसकेकाहरुलाई सहयोग मिलोस् भनेर ।
‘मैले चिनेका हरेक बच्चाहरु केही चेतावनीबाट जोगिएका छन् र आमाले भन्छिन्, ‘मैले तिम्रो पोस्ट हेरेको थिएँ, मेरो छोरालाई अस्पताल लगेँ र अहिले घरमा छ । उसलाई पनि लुकासलाई जस्तै थोरै समस्या देखिएको थियो,’ जेसिका भन्छिन्,‘म त्यही काम ती व्यक्तिहरुका लागि गरिरहेको छु, जो उनीहरुले मेरा लागि गरेको भए मेरो आजको अवस्था आउँदैनथ्यो । यदी मसँग जानकारी हुन्थ्यो त म अझै धेरै सचेत हुन्थेँ ।’
बालबालिकाहरु कोभिडको शून्य खतरामा छन् भन्ने भ्रम समाजमा विद्यमान रहेको स्वास्थ्य सम्बन्धि आईएनजिओ ‘भाइटल स्ट्र्याटिजिज’ की वरिष्ठ सल्लाहकार डाक्टर फातिमा मारिन्होले बताइन् । मारिन्होको अध्ययनले ठूलो संख्यामा बालबालिका तथा शिशुहरु भाइरसबाट ग्रस्त रहेको तथ्य फेला पारेको छ । फेब्रुअरी २०२० देखि १५ मार्च २०२१ सम्म कोभिडले ९ वर्षभित्रका कम्तिमा ८ सय ५२ जना ब्राजिली बालबालिकाहरुको ज्यान लिएको ब्राजिलको स्वास्थ मन्त्रालयको आँकडाले देखाउँछ, यसमा ५ सय १८ जना एक वर्षमुनीका शिशुहरु पनि पर्छन् । तर डाक्टर मारिन्होको अनुमानमा योभन्दा दोब्बर संख्याका बालबालिकाको ज्यान कोभिडले लिएको छ । कोभिड परीक्षणको अभावका कारण बाहिर नआएका घटनाहरुले संख्यालाई कम देखाएको उनी बताउँछिन् ।
पहिचान नभएको एक्युट रेस्पिरेटरी सिन्ड्रोमले (स्वासप्रश्वास सम्बन्धी समस्या) महामारीका दौरान मृत्यु हुनेको संख्या कतिसम्म बढायो भनेर उनले हिसाब निकालेकी छिन् र नखुलेको रेस्पिरेटरी सिन्ड्रोमबाट ज्यान गुमाउनेको संख्या यस अवधिमा विगतको दाँजोमा १० गुणाले बढेको भेटिएको छ । यो संख्यालाई समेत जोडेर उनले गरेको प्रक्षेपण अनुसार भाइरसले ब्राजिलमा ९ वर्षमुनीका २ हजार ६० जना बालबालिकाको ज्यान लिएको छ, जसमा १३ सय २ जना शिशु समावेश छन् ।
किन यस्तो भइरहेछ ?
विज्ञहरुका अनुसार ब्राजिलमा कुल संक्रमितको संख्या धेरै भएकाले शिशु र बालबालिका संक्रमित हुने सम्भावना पनि अत्यधिक छ । कोरोनाका कारण ज्यान गुमाउने देशको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो नम्बरमा छ, कुल संक्रमितको सूचीमा अमेरिका र भारतपछि तेस्रो स्थानमा छ । ‘अवश्य पनि हाम्रोमा धेरै संक्रमित देखिइरहेका छन्, नतिजास्वरुप अस्पताल भर्ना हुनेको संख्या धेरै छ । जब मृतकको संख्या धेरै हुन्छ, तब बालबालिकासहित सबै उमेर समूहमा मृत्यु पनि धेरै देखिन्छ,’ ब्राजिलियन सोसाइटी अफ पेडियाट्रिक्सअन्तर्गत साइन्टिफिक डिपार्टमेन्ट अफ इम्युनिजेसन्सका अध्यक्ष रेनेटो कफोरीले भने,‘यदी महामारी नियन्त्रण भयो भने यो अवस्था पक्कै पनि कम हुन्छ ।’
यस्तो उच्च संक्रमणदरले ब्राजिलको सम्पूर्ण स्वास्थ प्रणालीलाई असर गरेको छ । देशभर अक्सिजन र सामान्य औषधीको पनि अभाव छ, देशका धेरै अस्पतालका आईसीयुमा धेरै बेड छैनन् ।
ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारो निरन्तर रुपमा लकडाउनको विपक्षमा खडा भएका छन् र पि. वान नामक नयाँ स्वरुपको कोरोनाले संक्रमण दर बढाइरहेको छ । उत्तरी ब्राजिलको मानासमा गत वर्ष पहिलोपटक देखिएको यो नयाँ स्वरुप थप संक्रामक मानिन्छ ।
विगतका महिनाको दाँजोमा गत महिना मृत्यु हुनेको संख्या दोब्बर रह्यो र यो दर उकालो लागिरहेको छ ।
बालबालिकामा संक्रमण दर बढ्नुको अर्को कारण परीक्षणको अभाव पनि हो । मारिन्होका अनुसार बालबालिकाका हकमा प्रायजसो परीक्षण निकै ढिला हुन्छ, जतिबेला उनीहरु गम्भीर बिरामी भइसकेका हुन्छन् ।
‘संक्रमण पहिचान गर्न मै गम्भीर समस्या छ । हामीसँग आम जनसंख्याका लागि पर्याप्त परीक्षण छैन, बालबालिकाका लागि अझै कम छ । जब पहिचानमा ढिलाई हुन्छ, तब उपचारमा पनि ढिलाई हुन्छ,’ उनले भनिन् ।
परीक्षण क्षमताकै कारण मात्र यस्तो भएको भने होइन । किनकी, बालबालिकामा लक्षण नदेखिने वा परीक्षण नै गलत पनि हुन्छ । कोभिड १९ भएका कम उमेरका व्यक्तिहरुमा भाइरस र यसको लक्षण फरक रुपमा देखिन्छ ।
‘प्रचलित कोभिडको तस्बिर विपरीत बालबालिकामा झाडापखाला, अत्यधिक पेट दुख्ने, छाती दुख्ने हुन्छ । पहिचानमा ढिलाई भएकाले अस्पताल आउँदासम्म बालबालिका गम्भीर अवस्था हुन्छन् र जटिलता बढ्ने अनि ज्यान जाने हुनसक्छ,’ मारिन्होले भनिन् ।
गरिबी र उपचारमा पहुँचले पनि यसमा अर्थ राख्छ । २० वर्षमुनीका ५ हजार ८ सय ५७ जना कोभिड १९ बिरामीमा गरिएको अध्ययनले बालबालिकामा कोभिड १९ को प्रभाव खराब देखिनुको कारणका रुपमा एकभन्दा बढी स्वास्थ समस्या र आर्थिक–सामाजिक कमजोरी दुबैलाई औंल्याएको थियो । साओ पावलो स्कूल अफ मेडिसिनका ब्राइएन सोसाको नेतृत्वमा पेडियाट्रिसियन्सहरुले यो अध्ययन गरेका थिए । यसलाई महत्वपूर्ण पक्ष मान्न मारिन्हो सहमत छिन् । ‘विपन्न परिवारका र अश्वेत बालबालिकाहरु धेरैजसो जोखिममा छन् र उनीहरुलाई सहयोगको निकै अभाव छ । यी बालबालिकाहरु नै मृत्युको सबैभन्दा ठूलो जोखिममा छन्,’ उनले भनिन् ।
भीडभाडयुक्त इलाकामा बसोबास गर्नेहरुका लागि सामाजिक दुरी असम्भव हुन्छ र संक्रमित भएको अवस्थामा विपन्न समुदाय सामू आईसियुको पहुँच पनि हुँदैन । मारिन्होका अनुसार यी बालबालिकाहरु कुपोषणको समेत जोखिममा छन् । प्रतिरोध प्रतिक्रियाका लागि यो निकै घातक हुने उनको बुझाई छ । जब कोभिड महामारीपछि सरकारले दिएको सहयोग रोकियो तब दशौं लाख फेरि गरिबीमा धकेलिएका छन् । ‘एकै वर्षको अवधिमा ७० लाखबाट २ करोड १० लाख मानिस गरिबीको रेखामा पुग्यौं । त्यसकारण हामीहरु भोकै छौं । यसले पनि मृत्युदरमा असर गरेको छ,’ उनले भनिन् ।
सोसाका अनुसार उनको अध्ययनले खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बालबालिकाको निश्चित जोखिम समुहलाई पहिचान गरेको छ । तर, १६ वर्षमुनीका बालबालिकाका लागि अहिले पनि कुनै खोप उपलब्ध छैन ।
महामारी सुरु भएदेखि नै संक्रमणको त्रासका कारण आईसीयुमा रहेका बालबालिकालाई भेट्न आफन्तलाई कडाई गरिएको छ ।
अल्बर्ट सबिन बाल अस्पतालकी डाक्टर सिनारो कार्निरोका अनुसार यो नियम अति चुनौतीपूर्ण रहदैँ आएको छ किनकी बालबालिकाले आफ्ना अभिभावकसँग सहज महसुस गर्छन्, यतिमात्रै होइन, बाबु–आमाले चिकित्सकीय रुपमा पनि सहयोग पुर्‍याउनसक्छन् । ‘उनीहरुले कतिबेला आफ्नो बच्चा पीडा वा मनोवैज्ञानिक समस्यामा छ र कतिबेला औषधीको साटो बच्चालाई आराम आवश्यक छ भनेर भन्न सक्छन्,’ कार्निरोले भनिन् । बच्चा बिरामी छ भन्ने सुनेर पनि उनीहरुको साथ रहन नपाउँदा अभिभावकहरुमा समेत मानसिक समस्या बढ्ने पनि उनले बताइन् । ‘आफ्ना बाबु–आमालाई हेर्न नपाई बच्चा मरेको देख्दा निकै पीडा हुन्छ,’ कार्निरोले आफ्नो अनुभव सुनाइन् । बच्चा र अभिभावकबीचको सञ्चारलाई सुधार्ने प्रयासस्वरुप अल्बर्ट साबिन अस्पतालका कर्मचारीहरुले भिडियो कलका लागि आफैं रकम संकलन गरेर फोन र ट्याबलेट्स खरिद गरेका छन् । यसले निकै सहयोग पुर्याएको कार्निरो बताउँछिन् । ‘हामीले बिरामी र उसको परिवारका सदस्यलाई १ सयभन्दा धेरैपटक भिडियो कलमार्फत् जोडेका छौं । यस्तो सम्पर्कले ठूलो रुपमा तनावलाई कम गरेको छ ।’
वैज्ञानिकहरुका अनुसार बालबालिकामा मृत्युको जोखिम अझै निकै कम छ । अहिलेको तथ्याङ्कले देखाएअनुसार ब्राजिलमा मृत्यु भएका ३ लाख ४५ हजार २ सय ८७ जना कोभिड बिरामीमध्ये (०–९) वर्ष उमेरसमूहका ० दशमलव ५८ प्रतिशतको मात्रै ज्यान गएको छ । तर, संख्यात्मक रुपमा यो २ हजारभन्दा धेरै हो । ‘संख्या साँच्चै डरलाग्दो छ,’ डाक्टर कार्निरोले भनिन् ।
कतिबेला सहयोग खोज्ने ?
जब कोरोना भाइरसले बच्चालाई संक्रमण गर्छ, तर कमैमात्र अवस्थामा यो गम्भीर हुन्छ । यदि तपाईंको बच्चा बिरामी छ भने यो कोरोना भाइरस नभएर अन्य कारणले हुनसक्छ । बेलायतको रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थले आफ्ना बालबालिकामा यस्तो समस्या देखिएमा तत्कालै उपचारको खोजी गर्न अभिभावकहरुलाई सल्लाह दिएको छ ।
– पहेंलो देखिनु, धब्बा देखिनु र स्पर्श गर्दा असामान्य रुपमा चिसो महसुस हुनु ।
– सास फेर्दा रोकिनु, अनियमित श्वास प्रश्वास हुनु वा घुर्नु ।
– सास फेर्न कठिन हुनु, बेचैन हुनु वा प्रतिक्रिया नजनाउनु ।
– ओठ निलो हुँदै जानु ।
– फरक व्यवहार देखाउनु, अचेत वा बेहास् हुनु ।
– अति विक्षिप्त हुनु (व्याकुलताका बाबजुद रुनु), दुविधाग्रस्त हुनु, उठ्न समस्या हुनु वा प्रतिक्रियाविहीन हुनु ।
– छालामा प्रेसर (ग्लासले) दिँदा पनि नहट्ने खटिराहरु शरीरमा देखिनु ।
– विशेषगरी किशोरहरुमा अण्डकोष दुख्नु ।
नाथालिया पारारिन्हो/लुई बारुचोद्वारा लिखित बीबीसीको लेख अन्वेषण अधिकारीद्वारा अनुवादित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई अदालत लगियो
-
भारतले आफ्नो सबै खेल यूएईमा खेल्ने, यस्तो छ खेल तालिका
-
महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक
-
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
-
लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’