केन्द्रीय संस्करण
फोटो

मध्यपुरको जीवित संस्कृतिः बुद्धकृष्णले आठौँ पटक छेडे जिब्रो (फोटोफिचर)

person explore access_timeबैशाख २, २०७८ chat_bubble_outline0

भक्तपुर । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा बिहीबार मध्याह्न सम्पन्न भएको छ । बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेडाउँदै जात्रा सकिएको छ । मध्यपुर थिमि नगरपालिका८ बोडेका श्रेष्ठले आठौं यो पटक पनि जिब्रो छेडाएका हुन् । प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमि८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्म गरी सातौं जिब्रो छेडेका थिए । बुद्धकृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो ।

 जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए ।   यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार्य गर्ने जात्राको रुममा रहेको छ ।

यो भन्दा अघि चार पटक सम्म जिब्रो छोडेका बुद्धकृष्णले २०७४ सालदेखि पूनः जिब्रो छेडेका हुन् । यो उनको आठौँ पटक हो ।

ब्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तीले खानाखान गर्न नहुने,आइमाई छुन नहुने,जुठो,सुतकपरेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुर लगायतका जनावरहरुलाई समेत छुन नहुने परम्परा रहेको छ । नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौं मानिसहरूकै अगाडि जिब्रो छेडिएको थियो ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ ।

प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा मेडिकलको औषधि लाउनुनपर्ने जानकारहरुले बताएका छन ।

किम्बदन्ती यस्तो छः

प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत,पिशाच,ख्याक तथा कङ्काल (बउचा)ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त कर्माचार्यले त्यहाँ आएर तान्त्रिक विद्या अनुसार बोडेभरि पासो राखिदिएका थिए ।

त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि ती ख्याक नीलबाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजे । बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिम तर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा प¥यो ।

भीमदत्तले लामो कपाल,लामो जिब्रो,डरलाग्दो पिशाच नीलबाराहीको दाहिने पाले भएको थाहा पाएपछि उसको कपाल काटे,लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए ।

बोडे देशमा दुःख नदिने,बोडेमा रोग,अनिकाल,महाभूकम्प हुन नदिने,धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई पिचाशलाई छाडिदिएको किंबदन्ती  छ ।

     एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए,अहिलेसम्म पनि कायमै छ ।

     वाचा अनुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेको किंवदन्ती रहेको छ ।

 बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर   राखेको सुइरोले जिब्रो छेडेपछि चन्द्राकारकोे महाद्वीप बोकेर टोलटोल घुमेका बुद्ध कृष्ण पुनः भाँगु टोलमा पुगेर पाँचौ गणेश मन्दिरमा जाने र त्यसपछि सुइरो निकालेर महालक्ष्मी मन्दिरमा उक्त सुईरो ठोकिने परम्परा रहिआएको छ ।

कसले कति पटक जिब्रो छेडाए ?

मध्यपुरमा मनाइने यो जात्रामा हालसम्म ककसले जिब्रो छेडाए भन्ने तथ्यांक नभएपनि जानकारहरुले बताए अनुसार,हर्क नरसिंहले २२,बेखानारायण हाय श्रेष्ठले ३२,हरिदेव किला श्रेष्ठले १ पल्ट जिब्रो छेडेका थिए ।

हरिभासिक श्रेष्ठले ३,इन्द्र बाटा श्रेष्ठले २,हर्केश्वर ब्याँ श्रेष्ठले ३,चन्द्रसेन घो श्रेष्ठले ७,दिलकुमार खपे श्रेष्ठले ७,मुनि घो श्रेष्ठले १,धर्मराज बलाम श्रेष्ठले १,कृष्णचन्द्र बाग श्रेष्ठले १२,जुजुभाइ बास श्रेष्ठले ८ र बुद्धचन्द्र बाग श्रेष्ठले यो पटक समेत गरेर ८ पटक जिब्रो छेडेका छन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.