बरामद गरिएका १७ मोटरसाइकल र ९ स्कुटर सम्बन्धित धनीलाई बुझाइयो

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ । महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बरामद गरिएको १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीबार (आज) सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बरामद गरिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई बुझाएका हुन् । ती मोटरसाइकलहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु तथा धादिङ, चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका थिए ।
एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिइरहेको बताए । चोरी भएका मोटरसाइकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई बेचविखन गर्ने गरेको पाइएको समेत एसएसपी भट्टराईले बताए ।
महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुनेलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको पनि बताए । यस्तै सवारीसाधन हराउन नदिन निगरानी बढाउने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको एसएसपी भट्टराईले बताए ।
ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाएको छ । यस्तै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित