शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको सचिवालयमा निवेदन दर्ता

बिहीबार, ०२ वैशाख २०७८, १४ : ५०
बिहीबार, ०२ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेश सरकरले अधिवेशन अन्त्य गरेको २४ घण्टा नबित्दै विपक्षमा रहेका चार दलले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने भएपछि रातारात अधिवेशन अन्त्य गरेसँगै ४ दलले  प्रदेश प्रमुख अमिक शेरचनको सचिवालय पुगेर निवेदन दर्ता गराएका हुन् । 

चार दलका सांसद हस्ताक्षर सहित प्रदेश प्रमुखको सचिवालय गएर तत्काल विषेश अधिवेशन बोलाउन निवेदन पेश गरेको काँग्रेसका तर्फबाट प्रदेशसभा सांसद बिन्दु कुमार थापाले जानकारी दिए । ‘चार दलका सांसद प्रदेश प्रमुखकोमा गएर विशेष अधिवेशनका लागि निवेदन दर्ता गराएका छौं’ उनले भने, ‘संविधान अनुसार विषेश अधिवेशन माग गरेको १५ दिन भित्र प्रदेश प्रमुखले अधिवेशन बोलाउनका लागि सरकारलाई निर्देशन दिने व्यवस्था रहेको छ।’  

सांसद थापाले चैत्र २५ गतेदेखि शुरु भएको अधिवेशनमा छलफल गर्नु पर्ने विषय हुँदाहुँदै अकस्मात अधिवेशन अन्त्य गरेको आरोप लगाए । उनले सरकार विरुद्ध बहुमत सांसद उभिएपछि कुर्सी बचाउने खेलमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लागेको आरोप लगाए । 

प्रतिपक्ष दल नेपाली काँग्रेसको अगुवाइमा अविश्वासको प्रस्ताव पेश हुँदै छ, भन्ने जानकारी पाएपछि प्रदेश सरकारले बुधबार राति १२ बजेदेखि सातौं संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखबाट सचिवालयलाई रातारात पत्र पठाएर अन्त्य गरिएको थियो ।

अविश्वास प्रस्ताव दर्ता प्रक्रियामा प्रमुख प्रतिपक्ष काँग्रेस लगायतका दल लागेको जानकारी पाएपछि मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख समक्ष अधिवेशनका लागि निवेदन गरेका थिए । सरकारले अधिवेशन अन्त्य गरेपछि आजै चार दलको बैठक बसेर छलफल गरी अविस्वास प्रस्ताव समेत दर्ता गरिएको हो । 

अविस्वास प्रस्ताव दर्ता गर्नु पहिले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको र त्यस लगत्तै संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको सांसद थापाले जानकारी दिए ।

प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद मात्र छन् । गुरुङ नेतृत्वको सरकार बिरुद्ध अहिले प्रदेशमा माओवादी केन्द्रका १२, काँग्रेसका १५,राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद खुलेर लागेका छन् । नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन आवस्यक पर्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् । चार दलको मोर्चा मुख्यमन्त्री विरुद्ध उभिएपछि उनी अल्पमतमा परेका छन् । 

संसद सचिवालयमा बिहीबार दर्ता गरिएको अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप