शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : प्रदेशसभाको अधिवेशन अन्त्य भएसँगै मुख्यमन्त्री गुरुङ कहिलेसम्म सुरक्षित ?

बिहीबार, ०२ वैशाख २०७८, १२ : ०३
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो नेतृत्वको सरकार टिकाउनका लागि केही दिन समय प्राप्त गरेका छन् । आफूविरुद्ध अविश्वास प्रस्ताव आउने सम्भावना प्रवल भएसँगै प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस गरेका उनले बहुमत जुटाउनका लागि केही दिनको समय प्राप्त गरेका हुन् ।

 

मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन अन्त्यका लागि बिहीबार प्रदेश प्रमुखसमक्ष सिफारिस गरेसँगै सरकारको पक्षमा बहुमत जुटाउन आवश्यक चलखेलका लागि समय पाएका छन् । यद्यपि उनले लामो समय भने राहत पाउन नसक्ने देखिन्छ ।

 

 

संविधानको धारा १८३ मा प्रदेशसभाको अधिवेशन आह्वान र अन्त्यसम्बन्धी व्यवस्था छ । धारा १८३ को उपधारा ३ अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ । त्यसरी तोकिएको मिति र समयमा प्रदेशसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्ने सो उपधारामा उल्लेख छ ।

 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासहितका दलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको समयमा मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस गरेका हुन् । स्वाभाविक रुपमा विपक्षी दलहरुले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखसमक्ष प्रदेशसभा बैठक आह्वानका लागि लिखित माग गर्नेछन् ।

यसरी माग भएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले यी प्रक्रिया पूरा नहुन्जेलसम्म मुख्यमन्त्री गुरुङले राहत महसुस गरे पनि अन्ततः केही दिनमै प्रदेशसभाको सामना गर्नैपर्ने अवस्था आउने विपक्षी दलका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप