शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको ‘मिनी रोल्पा’ मा विप्लवको केन्द्रीय कार्यालय बन्ने

चार तले भवनको शिलान्यास, एक करोड बढी लागत अनुमान
बिहीबार, ०२ वैशाख २०७८, ११ : ५८
बिहीबार, ०२ वैशाख २०७८

नेपालका अधिकांश राजनीतिक दलहरूको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भने कपिलवस्तुमा पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्ने भएको छ । पार्टीका महासचिव चन्दकै गृहजिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको कार्यालय बनाउने भन्दै भवनको शिलान्यास गरेका हुन् । शिवगढीलाई ‘मिनी रोल्पा’ पनि भनेर चिनिन्छ ।

अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई नै पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको पार्टीले जनाएको छ । सरकारसँग २१ फागुनमा तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपाले अहिलेसम्म काठमाडौँमा औपचारिक कार्यालय पनि खोलेको छैन । अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य खोमा तरामु मगरले गरिब, किसान र मजदुरसँग नजिक भएर काम गर्न कपिलवस्तु रोजिएको रातोपाटीलाई बताए ।

यस्तो भवन बन्ने छ

पार्टी केन्द्रीय सदस्य सञ्जीव कुमारले पार्टी कार्यालय ४ तलाको हुने जानकारी दिए । असारसम्म एक तला निर्माण गरिसक्ने गरी निर्माण कार्य थालिने उनले बताए । अर्को दुई तलामा करिब तीन सयभन्दा बढी अटाउने सभाहल बनाउने पार्टीको योजना रहेको छ । यसका लागि असारपछि अरु काम गर्ने उनको भनाइ छ । पानी पर्ने सिजन भएकोले असारसम्म काम फटाफट गर्ने तयारी गरेको उनले बताए ।

भवनका लागि एक करोडभन्दा बढी लागत अनुमान गरिएको  छ । भवनका लागि ४ कट्ठा जमिन स्थानीयसँग खरिद गरिएको उनको भनाइ छ । भवनसँगै पार्टीले सहिद स्मृति पार्कसमेत निर्माण गर्नेछ ।

भवन निर्माण कार्यमा पार्टीका नेता–कार्यकर्ताले श्रमदान गर्नेछन् । भवनको शिलान्यासका क्रममा पार्टी महासचिव चन्दले यस्ता भवनहरु देशैभरी निर्माण हुने बताए । शिवगढी क्षेत्रमै चन्दको घर पनि रहेको छ । उनको परिवारका सदस्यहरु त्यहीँ बसोबास गर्दै आएका छन् । उनका दाइ वीरजंग पनि सोही ठाउँमा बसेर पार्टीको राजनीति गर्दै आएका थिए ।

मिनी रोल्पाको नामले चिनिने उक्त ठाउँमा गत वर्ष प्रहरीले सर्च अपरेसन चलाउँदा एक जना पार्टी कार्यकर्तालाई गोली पनि लागेको थियो भने प्रहरीले ठुलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप