शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाले सबैभन्दा लामो युद्धबाट सैनिक फर्काउँदै

बिहीबार, ०२ वैशाख २०७८, ११ : २३
बिहीबार, ०२ वैशाख २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने योजनाबारे बुधबार औपचारिक घोषणा गरेका छन् । ‘यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने समय हो,’ ह्वाइटहाउस ट्रिटी रुमबाट बाइडेनले भने ।

वर्ल्ड हमलाको २० औं वार्षिकी पारेर ११ सेप्टेम्बरसम्म बाँकी रहेका सबै २५ सय सैनिकहरुलाई फिर्ता ल्याउने योजना बाइडेनले सार्वजनिक गरेका हुन् । १ मईबाट सेना फिर्ताको प्रक्रिया सुरु हुने बाइडेनले बताएका छन् ।

११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतंकवादी हमला भएको केही दिनभित्रै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले ‘आतंकवादविरुद्धको लडाइँ’ सुरु भएको घोषणा गरेका थिए र अफगानिस्तानमा तालिवानको सत्ता पल्टाउनेगरी अमेरिकी सैनिक परिचालित भए ।

त्यसयता अफगान युद्धमा २४ सय अमेरिकी मारिए भने १ ट्रिलियन अमेकिी डलरभन्दा धेरै खर्च भयो । यस युद्धका क्रममा अफगानिस्तानमा भएको क्षति हिसाब गरेर साध्य छैन । अहिलेसम्म लाखौं मानिस मारिइसकेका छन् भने दशौं लाख शरणार्थी बनेका छन् । अफगानिस्तानका राष्ट्रपति असरफ घानीका अनुसार २०१४ देखि २०२० सम्मको अवधिमा मात्रै कम्तिमा ४८ हजार अफगान सुरक्षाकर्मी मारिएका छन् ।

अफगानिस्तानमा ९ हजार ६ सय नेटो छन्, त्यसमध्ये अमेरिकी सैनिकको संख्या  २५ सयको हाराहारीमा रहेको  अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि फेब्रुअरी २०२० मा अफगान सरकार र तालिवानबीच भएको शान्तिवार्ताअनुसार  १४ महिनाभित्र विदेशी सेना फिर्ता गर्ने सहमति बनेको थियो । तर, हिंसात्मक गतिविधि कम नहुँदा तालिवानप्रति शंका पनि उब्जिएको थियो । यद्यपी, पछिल्लो समय तालिवानले हिंसा कम गर्ने वाचा पालना गरेकाले सेना फिर्तीको पहल थालिएको अमेरिकाले जनाएको छ ।

अफगानी राष्ट्रपति असरफ घनीले अमेरिकी निर्णयको सम्मान गर्ने र सबैसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताएका छन् । आफ्नो देश र जनताको रक्षाका लागि अफगान सेना पूर्ण रुपमा सक्षम रहेको पनि उनले बताए ।

अफगान सरकारलाई सहयोग कायमै रहन्छ – बाइडेन

सेना फिर्ता गरेपनि अफगानिस्तानमा शान्ति कायम गर्नका लागि आफ्नो सहयोग जारी रहने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । ‘अफगानिस्तानमा हाम्रो उपस्थितीलाई लम्ब्याउने वा बढाउने चक्रलाई अब जारी राख्न सक्दैनौं । यद्यपी, सैनिक उपस्थिती नभएपनि हाम्रो कुटनीतिक र मानवीय सहयोग जारी रहनेछ,’ उनले भने ।

अफगान सुरक्षा बललाई अमेरिकाका तर्फबाट भविष्यमा पनि सहयोग रहिरहने उनले बताए । जर्ज डब्ल्यु बुसको समयमा सुरु भएको यस युद्ध चारवटा राष्ट्रपति कायम रहदाँसम्म चलिरहेको छ । बुसपछि राष्ट्रपति बनेका बाराक ओबामा र डोनाल्ड ट्रम्पले सेना फिर्ता गर्ने घोषणा गरेपनि त्यसलाई पूर्ण कार्यान्वयन गर्न सकेनन् ।

स्रोत: अल जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप