शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनौली नाका : भारतबाट आएकाहरुको न ज्वरो नापिन्छ, न त सबैको रेकर्ड राखिन्छ

बिहीबार, ०२ वैशाख २०७८, ०९ : ४४
बिहीबार, ०२ वैशाख २०७८

बुटवल । रुपन्देहीको बेलहिया (सुनौली) नाकामा आउजाउ गर्नेहरुको भिड देख्दा कोरोना संक्रमणको यहाँ कुनै प्रभाव नै नभएजस्तो लाग्छ । पछिल्ला दिन भारतमा कोरोना संक्रमितको संख्या निकै बढे पनि यो नाका हुँदै भारतबाट आउनेहरुको संख्यामा कमी आएको छैन । उनीहरुको स्वास्थ्य परीक्षण त परै जावस्, त्यसरी आउनेहरुको न ज्वरो नापिन्छ, न त सबैको रेकर्ड नै राख्ने गरिएको छ ।

गत वर्षकै झल्को दिने गरी नेपाल–भारत सीमा नाकामा भिडभाड देखिन थाले पनि सुनौली नाकामा स्वास्थ्य सुरक्षाका कुनै मापदण्ड पालना भएको छैन । औपचारिकताको नाममा एउटा हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँ एकजना स्वास्थ्यकर्मी र एकजना प्रहरी बस्ने गर्दछन् ।

दैनिक सयौंको संख्यामा मानिसहरु भारतबाट आउने गरे पनि उनीहरुले न सबैको रेकर्ड राख्न सकेका छन्, न ज्वरो नै नाप्छन् ।

​तर स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले कम्तिमा एक हप्ता भारतमा बसेर फर्किएकाहरुको रेकर्ड राख्ने र उनीहरुको ज्वरो नाप्ने गरिएको बताए । उनले भने, ‘यदि लामोसमय भारत बसेको रहेछ र ज्वरोसमेत देखियो भने त्यस्ता मानिसको एन्टिजेन परीक्षण गरिन्छ ।’ यस्तो परीक्षणबाट अहिलेसम्म एक जना कोरोना संक्रमित फेला परेको उनले बताए ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले पछिल्लो हप्ता भारतबाट फर्किने नेपालीको संख्या वृद्धि भएको बताए । तीन हप्ता अगाडिसम्म दैनिक २ सय नेपाली नागरिक यो नाकाबाट भित्रिने गरे पनि अहिले दैनिक ५ सयसम्म फर्किन थालेको उनको भनाइ छ ।

नाकामा भारतबाट आउनेको भिड बढे पनि स्वास्थ्य सुरक्षा प्रवन्ध भने निकै फितलो छ । भारतबाट आउनेहरुले पनि स्वास्थ्य सतर्कता अपनाएको पाइँदैन ।

सुनौली नाकामा झण्डै तीन घण्टा बसेर गरिएको स्थलगत रिपोर्टिङका क्रममा धेरैले मास्कसमेत लगाएको पाइएन भने कतिपयले आफूहरु किनमेलका लागि सुनौली बजार गएको बताए । यो नाका हुँदै आएका भारतीयहरु भने कोही भैरहवाको आँखा अस्पताल र मेडिकल कलेजमा उपचारका लागि आएको र कोही बिरामी भेट्न आएको बताउँछन् ।

सुनौलीका ट्याक्सी चालक अमित गुप्ताका अनुसार दैनिक किनमेलका लागि भारतीय बजार जाने नेपालीहरुको संख्या पनि उल्लेख्य हुने गरेको छ । उनीहरुमध्ये अधिकांशले भारत जाँदा मास्क लगाए पनि फर्कने क्रममा विना मास्क नेपाल भित्रिएको आफूले देखेको उनको भनाइ छ ।

‘उता (भारततिर) जाँदा मास्क लगाउँछन् तर फर्किदा न मास्क हुन्छ, न नाकामा कसैले उनीहरुलाई सोधपुछ गर्छ, न कुनै रेकर्ड राखिएको हुन्छ,’ उनले भने । नाकामा प्रहरी र स्वास्थ्यकर्मीको उपस्थिति औपचारिकतामा मात्र सीमित रहेको उनको भनाइ छ ।

भारतमा कोरोना संक्रमण बढेपछि नेपालीहरु धमाधम फर्किदै

पछिल्लो समय भारतमा कोरोना संक्रमण निकै बढेपछि त्यहाँ रोजगारीका सिलसिलामा रहेका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । यसरी फर्कनेमध्येका एक हुन् अर्घाखाँचीको मालारानी घर भएका उमेश खनाल । कानपुरको होटलमा कुकको काम गर्ने उनी भारतमा कोरोना संक्रमण वृद्धि हुन थालेपछि घर फर्किएको बताउँछन् ।

उनले भने, ‘त्यहाँ पनि कोरोना संक्रमण बढ्न थाल्यो, मालिकले होटल बन्द गर्ने सोच बनायो । म पनि नयाँ वर्ष मनाउन भनेर घरतिर आएको छु, हेरौं के हुन्छ !’

रोजगारीका लागि भारत गएका नेपाली अहिले भारतमा संक्रमण दर बढ्न थालेपछि लुम्बिनी प्रदेशका विभिन्न नाका हुँदै नेपाल फर्किन थालेका छन् । रूपन्देहीको सुनौली, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर नाका हुँदै नेपाल फर्किनेको भिड देखिन्छ ।

एकातिर भारतमा संक्रमण दर बढ्दै जानु, भारतका विभिन्न राज्यमा निषेधाज्ञासहितका आदेश लागू हुनुले रोजगारी गुम्ने त्रासका बीच नेपालीहरु नयाँ वर्षको अवसर पारेर धमाधम फर्कन थालेका हुन् ।

तर सीमा नाकामा फितलो व्यवस्थाका कारण उनीहरुसँगै कोरोना संक्रमण भित्रिने खतरा पनि बढ्दो छ । सीमा नाकामा संक्रमण रोकथाम र नियन्त्रणका लागि सावधानीका कुनै संयन्त्र देखिएको छैन । 

लुम्बिनी प्रदेशको तराईका जिल्लासँग जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको अवस्था भयावह छ । भारतको उच्च जोखिम भएको ठाउँबाट नेपाल प्रवेश गर्नेबाट संक्रमण तीव्र रूपमा फैलिन सक्ने जोखिम रहे पनि नाकामा स्वास्थ्य परीक्षण र भारतबाट आउनेको रेकर्ड राख्ने व्यवस्था फितलो रहेका कारण कुनै पनि समय नेपालमा संक्रमणले भयावह रुप धारण गर्नसक्ने विज्ञहरु बताउँछन् ।

संक्रमित पाइएपछि विद्यालय बन्द

रुपन्देहीका केही विद्यालयमा कोरोना संक्रमित पाइएपछि ती विद्यालय बन्द गर्नु परेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले रातोपाटीलाई बताए ।

बुटवलको कालिका मावि र भैरहवाको निमा प्रतिभा कलेज कोरोना कारण बन्द भएका छन् । कालिका माविका ९ जना शिक्षकमा कोरोना संक्रमण भेटिएको छ । निमा प्रतिभा  कलेजमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि कलेज बन्द गर्नु परेको डा. गिरीले बताए ।

संक्रमित बढ्दै

रूपन्देहीमा फेरि प्रत्येक दिन दुई दर्जनभन्दा बढी संक्रमित बिरामी थपिएर अस्पतालमै भर्ना हुनुपर्ने अवस्थामा पुग्न थालेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले संक्रमितहरु अस्पतालमा भर्ना हुने क्रम बढेको बताए । उनले पछिल्लो समय कोरोनाको ग्राफ वृद्धि भएको बताए ।

सोमबारमात्रै बुटवलको कोरोना अस्पतालमा तीन जना संक्रमितको मृत्यु भएको छ । उनले अहिले भारतबाट आएकाभन्दा पनि स्थानीयहरुमै संक्रमण पाइएको बताए ।

रुपन्देही प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सीमा नाकामा स्वास्थ्य मापदण्ड व्यवस्थित गर्ने बताए । हाल डेस्क राखेर नाकामा ज्वरो र शंका लागेका बिरामीको एन्टिजेन परीक्षण गर्ने काम भईरहेको उल्लेख गर्दै उनले विगतबाट पाठ सिकेर सीमा क्षेत्रलाई अझै व्यवस्थित गर्न लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप