बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्यपुरमा जात्राको रौनकः सिन्दुर र जिब्रो छेड्ने जात्रा मनाइँदै

बिहीबार, ०२ वैशाख २०७८, ०९ : ४०
बिहीबार, ०२ वैशाख २०७८

भक्तपुर । प्रत्येक वर्ष नयाँ वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमीमा मनाइने  सिन्दुर जात्रा यो वर्ष पनि मनाइँदैछ । 

बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुर जात्रा बिहीबार मनाइँदैछ । 

३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको छ ।

स्थानीयका अनुसार देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । 

जात्रा प्रत्येक चोक, चौबाटो  र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । 

जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ ।

सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । 

परम्पराअनुसार नै देवता लाय्कु दरबारभित्र पस्न नपाउन भनेर लायकु प्रवेशद्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ । 

बिहीबार  दिउँसो  मध्यपुरथिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिदेखि राजाजगत ज्योती मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप