बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

बुधबार, ०१ वैशाख २०७८, १९ : १७
बुधबार, ०१ वैशाख २०७८

–पूर्णप्रसाद मिश्र
काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवतमा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठो मीठो खाने, साथीसङ्गती तथा इष्ट मित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकआपसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ । 

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । साथीभाइ एवं इष्ट मित्रसँग भेटघाट गरेर मनाउनेको लर्को सडकमा देखिन्थ्यो । मठमन्दिर, उद्यान, स्मारकजस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थ्यो । कोरोनाको जोखिम कायमै रहे पनि मानिस वास्ता नगरी नयाँ वर्ष मनाउन लालायित भएझैँ लाग्थ्यो । कोरोना जोखिमका कारण गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएको विसं २०७७ यसरी खुला रुपमा मनाउन नपाएकाले हुनसक्छ आज मानिसको चहलपहल धेरै देखिन्थ्यो ।

पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा

पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो । भीडभाड भई रोग सर्न सक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा दर्शन गर्न भक्तजन लाममा बसेका थिए । पशुपतिनाथ मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।
 
बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्र देवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उनले सुनाए । बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपतिनाथमा आज नयाँ वर्षका अवसरमा १९७ जनाले रसिद काटेर विशेष पूजा गरेका छन् ।

दुई जना रसिद काटेर पनि पूजा गर्न नआएको कोषबाट पशुपतिनाथ मन्दिरभित्र खटिनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिए । एक जनाले रु ५६ हजार, चार जनाले रु ११ हजार, अन्य भक्तजनले रु पाँच हजार १००, रु दुई हजार १०० को रसिद काटेर पूजा गरेको कोषले जनाएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पा देवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ । गत वर्ष यी सबै मेला स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप