शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

बुधबार, ०१ वैशाख २०७८, १३ : ३२
बुधबार, ०१ वैशाख २०७८

म्याग्दी । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । वि.सं २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । 

रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक महिनादेखि न्यायाधीशविहीन बनेको हो । रेग्मीको ठाउँमा सर्वोच्चले जनकपुर जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेललाई म्याग्दीमा सरुवा गरेको थियो । मुद्दाको सुनुवाइ, फैसला, मिलापत्रलगायतका सेवा रोकिएको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भेषराज पौडेलले बताए ।

“मुद्दाको पुनरावेदन गर्ने अधिकार स्रेस्तेदारलाई भए पनि पुनःविचार गर्ने अधिकार न्यायाधीशलाई मात्र हुन्छ,” उनले भने, “मुद्दाको पुनः विचार गर्ने न्यायाधीश नहुँदा केही बन्दी बढी समय हिरासत र कारागारमा बस्नुपरेको छ ।”

कानून व्यवसायी चिरञ्जीवी शर्माले न्यायाधीश नहुँदा नागरिकको मौलिक अधिकारसँग जोडिएको न्याय सेवा प्रभावित भएको बताए । सबैभन्दा बढी वैदेशिक रोजगार प्रयोजनका लागि अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने प्रभावित भएका छन् । जापान, अष्ट्रेलिया, अमेरिकालगायत देशमा आश्रित भिसामा जानका लागि कागजी प्रक्रिया पूरा गर्न अदालतमा विवाह र सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ । 

जनकपुर अदालतमा न्यायाधीश पौडेलले हेर्नुभएका मुद्दा टुङ्गो लगाउनुपर्ने र फैसला भएका मुद्दाको पूर्णपाठ तयार पार्न समय लाग्ने भएकाले म्याग्दी आउन ढिलाइ भएको श्रेस्तेदार पौडेलले बताए । मुद्दाको पूर्णपाठ तयार पार्न २१ दिन र सरुवा भएको ठाउँमा पुग्न बाटोको म्याद सात दिनको हुन्छ । न्यायाधीश पौडेल वैशाख ६ गते म्याग्दी आउने तयारी गर्नुभएको अदालतले जनाएको छ । 

म्याग्दी जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि चैत महिनासम्म २२६ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षबाट १५३ वटा मुद्दाको जिम्मेवारी सरेर आएका थिए । १७५ वटा मुद्दाको फैसला भएको छ । 

यसैगरी अदालतले विभिन्न समयमा गरेको फैसला अनुसार रु पाँच करोड ४३ लाख २८ हजार ४२७  जरिवाना र ७५० वर्ष तीन महिना २६ दिन कैद सजाय असुल उपर गर्न बाँकी छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेको रु ९५ लाख २४ हजार ३४९ र यस वर्ष थपिएको रु आठ करोड १४ लाख ४६ हजार ६८३ मध्ये रु तीन करोड ६६ लाख ४४ हजार ६०५ असुल उपर भएको छ । 

जिम्मेवारी सरेर आएको रु पाँच लाख ६२ हजार ६४ र यो आर्थिक वर्षको रु तीन करोड ६० लाख ८२ हजार ५४१ असुल भएको हो । नौ महिनाको अवधिमा २३५ वर्ष ११ महिना १ दिन कैद सजाय फस्छौट भएको अदालतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप