शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनतालाई निराश बनाउने प्रयासहरु भए तर हामीले आशा जगायौँ : प्रधानमन्त्री

‘नेपालमा हिंसाको राजनीति अवलम्बन गर्ने कुनै समुह छैन’
बुधबार, ०१ वैशाख २०७८, ०८ : ३५
बुधबार, ०१ वैशाख २०७८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताएका छन् । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताएका हुन् । ‘जनतामा आशा जगाउने काम गरेका छौँ । सरकारका क्रियाकलापप्रति विश्वास दिलाउने काम गरेका छौँ,’ उनको भनाइ छ ।
सम्बोधनमा प्रम ओलीले सरकारका उपलब्धीहरु गनाएका छन् । उनले भने, ‘हामी नयाँ काम गर्यौँ । सभागृह धेरै बनायौँ । लुम्बनीमा ५ हजार क्षमताको र गोदावरीमा ३ हजार क्षमताको सभाहल निर्माण गर्यौँ । अरु थुप्रै ठाउँमा पनि बनायौँ । हामीसँग संसद भवन थिएन, त्यसको निर्माण प्रक्रिया पनि अगाडि बढायौँ ।’

प्रम ओलीले दिनमा साढे पाँच किलोमिटर बाटो बनाएको दाबी गर्दै एक दिनमा कम्तिमा १२ वटा दरले आवासहरू पनि निर्माण गरेका बताए । उनका अनुसार सामाजिक सुरक्षा पाउने नागरिकको संख्या ३० लाख ६० हजार पुगेको छ । महिनाको एक सयबाट सुरु गरेको ‘सामाजिक सुरक्षा भत्ता आज दिनको एक सयमा सुरु भएको छ । आगामी बजेटबाट यसमा पनि बृद्धि हुन्छ,’ उनले भने । श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको नयाँ अवधारणा पनि सरकारले ल्याएको उनले स्मरण गराए ।

हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काउन सरकार सफल भएको पनि उनको जिकिर थियो । ‘नेपालमा हिंसाको राजनीति अवलम्बन गर्ने कुनै समुह छैन । सम्पूर्ण राज्य शक्तिको स्रोत हत्या र हिंसा होइन, जनता, जनताको मन र जनताको अभिमत हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप