शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्सामा कोरोनाबाट २ जनाको मृत्यु

मङ्गलबार, ३१ चैत २०७७, २२ : १८
मङ्गलबार, ३१ चैत २०७७

पर्सा । प्रदेश नम्बर २ को पर्सामा कोरोना संक्रमणबाट २४ घण्टाभित्र २ जनाको मृत्यु भएको छ । वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा दुबै जनाको मंगलबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित प्रगतिनगर बस्ने ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनपूर्व अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान अन्दाजी ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिनापूर्व नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

स्वासप्रस्वासमा समस्या देखिनुका साथै खोकी र ज्वरो लागेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यस्तै बाराका संक्रमित पनि आज विहान नारायणी अस्पतालमै मृत्यु भएको डा. निरज सिंहले जानकारी दिए । उनले भने– ‘खोकी, ज्वरो र मुखबाट रगत आएपछि निजी अस्पतालमा उपचार गराएका रहेछन्, दुवै फोक्सोमा कोभिड निमोनिया थियो’ डाक्टर सिंहले भने, ‘हाई फ्लो अक्सिजन दिँदा पनि ४० प्रतिशतभन्दा बढेन, ज्वरो पनि घटिरहेको थिएन, जति प्रयास गर्दा पनि बचाउन सकिएन ।’

भारतको हैदरावादबाट होली पर्व मनाउन उनी चैत १४ गते घर फर्किएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि चैत २६ गते उनलाई वीरगञ्जको एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

एड्भान्समा उपचारका क्रममा हेमोग्लोविन ४.७ मात्रै भएकोले ३ पिन्ट रगत चढाएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । दुई दिन कोरोना परीक्षण गराउन नमानेका उनलाई चिकित्सकले सम्झाइ बुझाइ स्वाब संकलन गरेर नारायणीमा परीक्षणका लागि पठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप