शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारको भोजमा शहिद परिवारको विरोध

मङ्गलबार, ३१ चैत २०७७, १८ : ५६
मङ्गलबार, ३१ चैत २०७७

जनकपुर । प्रदेश सरकार भोजभतेरमा व्यस्त रहेको समयमा मधेस आन्दोलनका सहिद परिवारहरु विरोधमा उत्रेका छन् । नव वर्ष २०७८ को आगमनसँगै जुडशीतल तथा सिरुवा पर्वको अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको शुभकामना आदान–प्रदान एवं चियापान समारोहमा शहीद परिवारले विरोध जनाएका हुन् ।

प्रदेश सरकारले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बाराबाट सैकडौँको संख्यामा जसपाका नेता तथा कार्यकर्तालाई निमन्त्रणा दिएर भोजको आयोजन गरेको थियो । नव वर्ष २०७८ को आगमनपूर्व जुडशीतल तथा सिरुवा पर्वको अवसरमा चियापानको आयोजना गरिएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।

सहभागीहरु भोज खाइरहँदा शहिद परिवारले आफूहरुलाई प्रदेश सरकारले झुक्याएको भन्दै विरोधमा उत्रेका हुन् । प्रदेश सरकारले शहीद परिवारलाई रोजगारी दिने प्रलोभन दिए पनि ठग्दै आएको आरोप शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका प्रदेश नम्बर २ का प्रदेश अध्यक्ष रामनरेश रायले बताए ।

अध्यक्ष रायले भने, ‘हामी ५३ जना शहीद परिवारलाई गत वर्ष जेठ महिनामा नै प्रदेश सरकारले नियुक्तिपत्र दियो, तर त्यसमध्ये अहिलेसम्म २८ जनालाई मात्रै जागिर दिएर अन्यलाई ठगिएको छ ।’  अध्यक्ष रायले गत मंसिर २७ गतेका दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतका सम्बन्धित मन्त्रालयहरूलाई १४ बुँदे माग पत्रसहित ज्ञापन पत्र नै उनीहरुलाई बुझाएको बताउँदै हालसम्म माग पूरा नभएको बताए । सहिदका नाममा प्रदेश सरकारले मधेस सहिद प्रतिष्ठान तत्कालै गठन गरेर सहिद परिवारको समस्या सम्बोधन गर्ने आश्वासन दिएको राय बताउँछन् ।

प्रदेश सरकारले वाचा गरेको डेढ महिना भन्दा बढी भइसक्दा पनि आलटाल गर्दै आएकाले बाध्यतावश आज आन्दोलन गर्नुपरेको सहिद परिवारका सदस्य इन्दुनारायण यादवले गुनासो गरे । मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहिद परिवारहरूले नियुक्ति पत्र पाएकाहरू सबैलाई जागिर, राष्ट्रिय परिचयपत्रको व्यवस्था, बालबालिकाहरूलाई उच्च शिक्षासम्म निशुल्क व्यवस्था, आवास कार्यक्रमअन्तर्गत सुकुम्बासी शहीद परिवारलाई घरको व्यवस्था हुनुपर्ने पीडितहरूको माग छ । मधेस आन्दोलनका क्रममा शीर्ष नेताले घोषणा गरेको ५० लाख रुपैयाँको पनि कार्यान्वयन लगायतका १४ बुँदे माग रहेको अध्यक्ष रायले बताए ।

प्रदेश सरकारले शहीद परिवारलाई जागिरका नाममा केहीलाई कार्यालय सहयोगी पदमा नियुक्ति दिएको छ भने ५३ जनालाई नियुक्ति पत्र वितरण गरे पनि २८ जनाले मात्रै जागिर गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप