बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्छ : अर्थमन्त्री

मङ्गलबार, ३१ चैत २०७७, १८ : ०९
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबदेखि सिंहदरबारमा पनि मन्त्रिपरिषदको बैठक बस्ने र पत्रकारले छायांकन गर्न पाउने बताएका छन् । प्रधानमन्त्री कार्यालय पुनःनिर्माण भएकाले अब मन्त्रिपरिषदको बैठक सिंहदरबारमा पनि बस्ने मन्त्री पौडेलले बताए । मंगलबार रातोपाटीसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले आवश्यकताअनुसार सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बोलाइने जानकारी दिए ।

‘भूकम्पले हाम्रो सिंहदरबारको भवन क्षतिग्रस्त भएको थियो, यो यहाँहरु सबैलाई थाहा भएको विषय हो । त्यो भवन पुनर्निर्माणको क्रममा  थियो’ मन्त्री पौडेलले भने, ‘सिंहदरबारको एउटा हिस्सा, जहाँ प्रधानमन्त्रीको कार्यकक्ष छ, उपप्रधानमन्त्रीको कार्यकक्ष छ, मन्त्रिपरिषदको बैठक बस्ने कार्यकक्ष छ, यिनीहरूको पुनःनिर्माण सकिएको छ । अब हामी सिंहदरबारमा पनि बैठक बस्छौँ ।’

बालुवाटारमा पनि आवश्यकताअनुसार बैठक बस्न सक्ने बताउँदै अर्थमन्त्री पौडेलले अगाडि भने, ‘आवश्यकता र सुविधाअनुसार कहिले सिंहदरबारमा बस्छौँ, कहिले प्रधानमन्त्री निवासमा पनि बस्छौँ । सिंहदरबारमा बैठक बस्न सक्ने भौतिक परिस्थिति निर्माण भएको छ । तपाईले छिट्टै सिंहदरबारमा बसेको बैठकको छायाङ्कन गर्न सक्ने स्थिति बन्छ ।’

लामो समय प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार नआएको र मन्त्रिपरिषदको बैठक बालुवाटारमै हुने गरेको टिप्पणी भइरहेका बेला अर्थमन्त्री पौडेलले अबदेखि बैठक सिंहदरबारमा पनि बस्ने जनाएका छन् ।

प्रधानमन्त्री ओलीले गत फागुन ३ गते आफ्नो नयाँ कार्यकक्षको उद्घाटन र निरीक्षण गरेका थिए । त्यसबाहेक उनी २०७७ सालमा सिंहदरबार गएनन् । मंगलबार बिहान नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै देशवासीका नाममा सम्वोधन गर्ने कार्यक्रम छ ।

यो पनि...

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप