बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा प्रधानमन्त्री ओली ३६४ दिन गयल !

बालुवाटारबाट साढे ३ किलोमिटर दुरी पार गर्न एक वर्ष लाग्यो
मङ्गलबार, ३१ चैत २०७७, १७ : ३२
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । एक वर्षमा सामान्यतः ३६५ दिन हुन्छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिनमात्र हाजिर भएका छन् । अर्थात्, उनी ३​६४ दिन गयल भएका छन् । सम्भवतः यो नेपालको इतिहासकै अनौठो रेकर्ड हो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि संसद बैठकमा प्रायः गयल भइरहेका प्रधानमन्त्री ओलीले २०७७ सालमा सिंहदरबारमा जम्माजम्मी एकचोटि पाइला टेकेका छन्, त्यो पनि प्रधानमन्त्रीको नियमित काममा लागि नभई पुरानो प्रधानमन्त्री कार्यालय भवनको उद्घाटनका लागि रिबन काट्न ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबार करिब साढे ३ किलोमिटरको दुरीमा छ । वर्ष दिनमा जम्मा एक दिन सिंहदरबार पुगेका प्रधानमन्त्री ओली मन्त्रिपरिषदको कार्यालय र आफ्नो कार्यकक्ष अवलोकन गरेर बालुवाटार फर्केका थिए ।

२०७८ सालको सुरुवाती दिनमा चाहिँ प्रधानमन्त्री ओली नयाँ वर्षको पहिलो दिन नै सिंहदरबार जाने भएका छन् । देशवासीलाई २०७८ सालको शुभकामना दिनका लागि बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओली सिंहदरबारमा उपस्थित हुँदैछन् ।

अघिल्लो वर्ष चैत २ गते सिंहदरबारमा सार्क राष्ट्रका सदस्यबीच कोरोना रोकथामबारे भएको भिडियो कन्फ्रेन्समा सहभागी हुन सिंहदरबार पुगेका प्रधानमन्त्रीले त्यसपछि १० महिनासम्म सिंहदरबारमा पाइला टेकेनन् ।

प्रधानमन्त्री ओलीले गत बर्ष कोरोना संक्रमण सुरु भएयता बालुवाटारमै मन्त्रिपरिषदको बैठक राख्दै आएका छन् ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणापछि देश दौडाहाका क्रममा विभिन्न जिल्लामा पुगेर चुनावी भाषण गरेका प्रधानमन्त्रीले  बालुवाटारबाट सिंहदरबार पुग्न जाँगर देखाएका छैैनन् । विभिन्न स्थानमा उद्घाटन र शिलान्यासका लागि पुग्ने गरेका उनलाई आफ्नै कार्यालय भने बिरानो भएको छ ।

सिंहदरबारबाहिर घुमेको घुम्यै

अघिल्लो वर्ष फागुन २१ गते मृगौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीको  सिंहदरबारको बाटो बन्दजस्तै भयो ।

उनी बालुवाटारमै उपचार गराइरहेका बेला कोरोनाको महामारी शुरु भयो । कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै लकडाउन शुरु गरियो । लकडाउन गर्दै देश बन्द गरेर उनले आफूलाई पनि बालुवाटारभित्रै बन्दजस्तै गरे ।

कोरोनालाई कारण देखाउँदै बालुवाटारबाट बाहिर ननिस्किए पनि प्रधानमन्त्रीले बालुवाटारमा भेटघाटका कार्यक्रमलाई भने निरन्तरता दिइरहे । बालुवाटारकै हलमा बेला–बेला पार्टीको बैठक तथा सरकारसँग सम्बन्धित बैठकहरू भए । भोजहरु र बाँसुरीबादन कार्यक्रमहरु पनि भए ।

गत भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकमा सहभागी हुन उनी पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पनि पुगेका थिए । तर, छोटो समय बसेर उनी बालुवाटार फर्किए । त्यतिबेलासम्म तत्कालीन दल नेकपामा विवाद शुरु भई पार्टी विभाजन हुने स्थितिमा पुगिसकेको थियो ।

गत पुस ५ गते संसद विघटन गरेपछि आफ्नै दल सडक प्रदर्शनमा गयो, उनको चौतर्फी आलोचना हुन थालेपछि त्यसको  प्रतिरक्षाका लागि उनी आफैं बालुवाटारमा बाहिर कार्यक्रमहरुमा निस्कन थाले ।

अघिपछि स्वास्थ्यको समस्या देखाउँदै सिंहदरबार तथा पार्टीको बैठकमा नजाने प्रधानमन्त्री ओली पार्टीमा दरार आएपछि दिनहुँ जस्तो कहिले सुदुरपश्चिम त कहिले सुदूरपूर्वसम्म पुग्न थाले ।

गत पुस ७ गते सर्वोच्च अदालतसँग जोडिएको नवनिर्मित महान्यायधिवक्ताको कार्यालय उद्घाटन गर्न पुगेका उनी सँगै टाँसिएको सिंहदरबार भने पसेनन् ।

सिंहदरबार हुँदै जाने बबरमहलको एउटा पार्टी प्यालेसमा पुस १५ गते भएको सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्तालाई सम्बोधन गर्न पुगेका उनले सिंहदरबार पस्न उचित ठानेनन् ।

त्यसपछि पुस १७ गते भएको काठमाडौं जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न ओली राष्ट्रियसभामा पुगेका थिए । त्यसको भोलिपल्ट अर्थात पुस १८ गते उनले पुनः बबरमहलकै त्यो पार्टी प्यालेसमा पुगेर विद्यार्थीहरुको कार्यक्रमलाई सम्बोधन गरे । पुस २३ गते उनी काठमाडौं उपत्यका बाहिर गए । सुदूरपश्चिम प्रदेशको धनगढीमा गएर सम्बोधन गरेर त्यही दिन काठमाडौं फर्केका थिए ।

पुस २५ गते प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गरे । माघ २ गते प्रदेश १ का काठमाडौंमा उपलब्ध कार्यकर्तालाई तीनकुनेको एउटा पार्टी प्यालेसमा सम्बोधन गरे । पार्टीको कामका लागि सिंहदरबार छेउको बाटो हुँदै तीनकुने पुगेका उनलाई सिंहदरबार छिर्ने फुर्सद मिलेन ।

सिंहदरबार बाहिर प्रधानमन्त्री ओलीको सक्रियता हेर्ने हो भने निकै रोचक छ । गत  माघ ८ गते प्रेस संगठन (ओली समूह) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उनी प्रज्ञा भवन पुगेका थिए । त्यही दिन सशस्त्र प्रहरी दिवस कार्यक्रममा सहभागी हुन हल चोक पुगे । त्यही दिन उनले बबरमहलको एउटा पार्टी प्यालेसमा उपत्यकाका पेशागत बुद्धिजीवीहरुको जिल्ला कमिटीलाई सम्बोधन समेत गर्न भ्याए ।

प्रधानमन्त्री ओली माघ १० गते राष्ट्रियसभामा अपाङ्गता भएका व्यक्तिहरुको सम्बोधन गर्न पुगेका थिए । त्यही दिन उनी शेरधन राईको बिहेको पार्टी खान पनि पुगे । भोलिपल्ट विशेष पूजा पाठका लागि पशुपति मन्दिर पुगेर सुनको जलहरी राख्न ३० करोड दिने घोषणा गरे ।

पशुपतिको विशेष पूजा सकाएर उनी दाङ पुगे । त्यहाँ राप्ती नदीमा बनेको पुलको उद्घाटनपछि भालुवाङको लालमटियामा भाषण गरेर त्यही दिन काठमाडौं फर्के ।

माघ १३ गते प्रधानमन्त्री ओली आदिवासी–जनजातिको राष्ट्रिय भेलालाई सम्बोधन गर्न राष्ट्रिय सभागृहमा पुगे । भोलिपल्ट पुनः प्रज्ञा भवनमा नै गएर उनले जिफन्टद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरे ।

माघ १५ गते सहिदप्रति श्रद्धाञ्जली कार्यक्रमका लागि प्रधानमन्त्री ओली बालुवाटारबाट निस्किए । त्यही दिन प्रज्ञा भवनमा आयोजित काठमाडौं महानगरपालिकाका वडा तहका पार्टीका कार्यकर्ता तथा नेताहरुलाई सम्बोधन गरे ।

प्रज्ञा प्रतिष्ठानमै माघ १६ गते आयोजित कार्यक्रममा सहभागी हुनका लागि उनी बालुवाटारबाट निस्केका थिए । त्यही दिन चितवन पनि पुगे । त्यहाँ उनले जनसभालाई सम्बोधन गर्नुका साथै सिटी हल र सडक उद्घाटन गरे ।

माघ १८ गते उनी धनुषाको ढल्केबर पुगेर त्यहाँ रहेको विद्युत सब स्टेसनको स्विच थिचे । त्यही दिन सिराहा पुगेर जनसभालाई सम्बोधन गरी काठमाडौं फर्किए ।

माघ २० गते प्रधानमन्त्री ओली प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपालले आयोजना गरेको बृहत इन्जिनियरिङ भेलालाई सम्बोधन गर्न बालुवाटारबाट निस्किए ।

यहाँ प्रस्तुत गरिएका केही विवरण सिंहदरबार बाहिर प्रधानमन्त्रीको ओलीको सक्रियता कस्तो छ भन्ने दृष्टान्त हो ।

किन भयो प्रधानमन्त्रीलाई सिंहदरबार बिरानो ?   

आखिर देश दौडाहा गर्न सक्ने प्रधानमन्त्रीले बालुवाटारबाट झन्डै साढे ३ किलोमिटर दुरीमा रहेको सिंहदरबारमा चाहिँ किन पाइला राख्दैनन् त ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता शंकर नेपाल प्रधानमन्त्री सिंहदरबारको मन्त्रीपरिषद् कार्यालय आउँदा त्यसको तथ्यांक नराख्ने भएकाले कहिलेदेखि आए÷नआएको तथ्यांक भन्न नसकिने बताउँछन् ।

‘प्रधानमन्त्री हाजिर गर्नुपर्दैन, त्यही भएर हामीलाई आउने–जाने कुराको कुनै जानकारी हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री आए पनि हामीलाई थाहा हुँदैन, हामी उहाँ आउने बाटो कुरेर पनि बस्दैनौँ, उहाँ आएपछि कुनै काम परेर बोलाउनुभयो भने मात्र जान्छौं, नत्र त्यति सम्पर्क पनि हुँदैन ।’

प्रधानमन्त्री ओलीको निजी सचिवालयमा रहेका समन्तमणि आचार्यले कोभिड–१९ को महामारी शुरु भएयता प्रधानमन्त्री मन्त्रिपरिषदको कार्यालय नआएको बताए । उनले प्रधानमन्त्री ओली सिंहदरवार किन नआएको भन्ने विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई सोध्न आग्रह गरे ।   

बालुवाटार बन्यो ‘मिनी पार्टी प्यालेस’

प्रधानमन्त्री ओलीले पदबहाली लगत्तै बालुवाटारलाई नै शक्तिको केन्द्र बनाउँदै आएका छन् । उनले पार्टीका गुट भेलादेखि ओली थर भएकाहरुको संस्था ओली समाजको भेलासम्म बालुवाटारमा गरे ।

सिंहदरबारमा बस्नुपर्ने मन्त्रिपरिषदको बैठक,  धुम्बाराही कार्यालयमा बस्नुपर्ने पार्टीको बैठक पनि ओलीले सरकारी निवास बालुवाटारमै सारेका छन् । विभिन्न पक्षसँग हुने भेटघाट, छलफल तथा चियापानका कार्यक्रम पनि बालुवाटारमै हुने गरेका छन् ।

सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले छोट्याइदिएपछि पछिल्लोपटक गत चैत ३ गते प्रधानमन्त्री ओलीले बालुवाटारमै एमालेका नेता–कार्यकर्ताका लागि खानपान कार्यक्रम राखे ।

माधव नेपाल पक्ष सहभागी नभएको सो कार्यक्रममा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडिको खुला भागमा टेन्ट टाँगेर क्याटरिङ सर्भिसको व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्री सधैंभरि प्रधानमन्त्री पदमै रहन्छन् भन्ने ग्यारेन्टी छैन । के उनले आफ्नो कार्यकालको अन्तिम मन्त्रिपरिषद बैठक पनि बालुवाटारमै बोलाउलान् ? त्यो भने हेर्न बाँकी छ ।

योचाहिँ सुखद कुरा हो कि २०७८ साल बैशाख १ गते बिहानै प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै देशबासीका नाममा सम्वोधन गर्न लागेका छन् । २०७८ सालमा सिंहदरबारभित्र प्रधानमन्त्रीलाई नियमित जसो देख्न पाइयोस् !  

यो पनि...

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप