बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ वर्षमा पोखरा जाँदै हुनुहुन्छ ? यी हुन् घुम्ने ठाउँ

मङ्गलबार, ३१ चैत २०७७, १५ : २६
मङ्गलबार, ३१ चैत २०७७

पोखरा । नयाँ वर्षमा घुमघामका लागि पुग्नैपर्ने रमणीय ठाउँ हो पोखरा । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको पोखरा पछिल्लो समय चाडपर्व र कामको थकान मेट्नका लागि जाने नयाँ गन्तव्य नै बनेको छ ।

लामो समयसम्म कोभिडको त्रासले रोकिएको घुमघाम गर्ने प्रवृत्ति विस्तारै बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनले व्यवसायीमा आशा बढाएको छ । व्यवसायीले छुटसहितका प्याकेज बनाएर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी विभिन्न अफर ल्याएसँगै पोखरा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

केही समय पहिले व्यवसायीले प्याराग्लाइडिङ उडानमा छुटको व्यवस्था गरेसँगै पोखराको आकासमा दैनिक ५ सयभन्दा बढीले प्याराग्लाइडिङ उडान गरेका थिए ।

नेपालीहरुको नयाँ वर्षको आगमनसँगै पोखरा घुमघाममा आउनेको सङ्ख्या बढिरहेको छ । केही दिन यता पोखरा र वरिपरिका पर्यटकीय ठाउँमा घुमघामका लागि आएका आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।

पर्यटकीय नगरी पोखरामा नयाँ वर्षसँगै प्राकृतिक सौन्दर्यको मजा लिने मनोरम दृश्य भएका धेरै स्थान छन् । पोखराको बीचमा सुन्दर फेवाताल र उत्तरतर्फका मनमोहक हिमशृङ्खलाका साथै तालबाराही मन्दिर, पातलेछाँगो, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, सेती नदी लगायत दर्जनौँ मनमोहक ठाउँहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

त्यति मात्रै होइन पोखराको उत्तरतर्फको सराङकोट डाँडाबाट प्याराग्लाइडिङ उडाएर फेवा किनारामा अवतरण गराउँदाको मज्जा नै बेग्लै । यस्तै सराङकोटबाटै उत्तरतर्फको माछापुच्छ«े लगायतका हिमशृङ्खलासँग लुकामारी गर्दै हेम्जासम्म ‘जिप फ्लाई’को मजासमेत लिन पाइन्छ । पछिल्लो समय पोखराको याम्दीमा सञ्चालनमा आएको अर्को साहसिक खेल बन्जी जम्प पनि पर्यटकका लागि आकर्षणको केन्द्र हो । शरीरमा फिताले बाँधेर डोरीको सहायताले करिब तीन सय मिटर तल हामफालेर बन्जी गर्न सकिन्छ ।

पोखरामा वार्षिक करिब ३ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ३५ प्रतिशत पोखरा आउने गरेका छन् । पछिल्लो समय यहाँ भित्रिने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक यात्रा एवं प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी आउने गरेका छन् ।

विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटकमध्ये धेरैको रोजाइमा विश्वकै चर्चित अन्नपूर्ण पदयात्रा पर्ने गरेको छ । अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर, गोरखा र कास्की समेटिएको छ । पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पोखरा फर्कने गर्छन् । यसको प्रवद्र्धन पर्यटन व्यवसायी, टे«किङ गाइड र टे«किङ व्यवसायीले गर्दै आएका छन् ।

त्यस्तै अर्को पदमार्गका रूपमा पोखराबाट वीरेठाँटी, घान्द्रुक, घोरपानी, जोमसोम, मुक्तिनाथ र माथिल्लो मुस्ताङ पार गरी मनाङ हुँदै बेँसीसहरबाट फर्कने गर्छन् ।

गण्डकी प्रदेश सरकारले गत वर्ष एक सय १० वटा विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्रदेशमा पर्यटन प्रवद्र्धनका कार्य गरिरहेको छ । प्रदेशका ११ जिल्लालाई समेटेर प्रत्येक जिल्लामा १०÷१० वटा पर्यटकीय स्थलको भौतिक पूर्वाधार निर्माणका काम अगाडि बढिरहेको छ ।

प्रदेश सरकारले पोखरा र छिमेकी जिल्लाहरूमा सञ्चालन हुँदै आएका प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ‌¥याफ्टिङ, घोडचढी, बन्जी जम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर बेलुनिङ र जङ्गल सफारी लगायतलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

फेवाताल र तालबाराही मन्दिर

पोखराको बीचमा रहेको फेवातालको मनोरम दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । विशेषगरी पर्यटकीय सिजनमा पश्चिमा र युरोपियन पर्यटकहरुको चहलपहल हुनेगर्छ । अन्य समयमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । नेपालीमा पछिल्लो समय बढेको चेतना, विलासी जीवनशैली र बढ्दो घुमघाम गर्ने संस्कृतिको विकाससँगै केही वर्षदेखि आन्तरिक पर्यटकको सङ्ख्या निकै बढ्न थालेको छ ।

पोखरा आउने अधिकांश पर्यटक फेवातालमा डुङ्गा सयर गर्ने र तालको बीचमा रहेको तालबाराही मन्दिमा दर्शन गर्न जाने गर्दछन् । मन्दिरमा दैनिकरूपमा पूजा गर्ने धार्मिक पर्यटकको समेत घुइँचो लाग्ने गर्छ ।

तालको बीच भागमा रहेका कारण तालबाराही मन्दिरमा जान डुङ्गा चढ्नुपर्ने हुन्छ । डुङ्गा भाडामा लिएर दिनभर बोटिङ गर्ने युवा जोडी प्रशस्तै भेटिन्छन् । फेवातालमा माछापुच्छ«े हिमालको छायाँ देखिन्छ । जुन अत्यन्तै मनमोहक हुने गर्छ । बोटिङ गर्ने पर्यटक फेवातालमा माछापुच्छ«ेको छायाँ देखेर मोहित हुने गर्छन् ।

फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्षक छ । पोखरा पुग्ने अधिकांश पर्यटक लेकसाइडमै बस्न रुचाउँछन् । युरोपकै झल्को दिने रात्रिकालीन जीवनशैलीमा घुलमिल हुन रुचाउनेहरु मन्त्रमुग्ध हुने गर्छन् । पोखराका अधिकांश होटल तथा लज लेकसाइडमै छन् ।

डेभिड फल्स (पाताले छाँगो)

पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको डेभिड फल्स सिद्धार्थ राजमार्गकै छेउमा पोखराको छोरेपाटन क्षेत्रमा पर्छ । फेवातालको ड््यामबाट छाडिएको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीमा मिसिन पुग्छ । सन् १९६१ मा स्विजरल्यान्डका डेभिड नाम गरेका नागरिक पातले छाँगोमा खसेका थिए । उनको शव तीन दिनपछि सेती नदीको किनारामा पाएपछि उनी खसेको स्थानको नाम डेभिड फल्स रहन गएको हो ।

वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा साँच्चिकै लोभलाग्दो देखिन्छ । पोखराकै मध्य भागमा रहेका कारण यहाँ दैनिक रूपमा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् । पर्यटकीय सिजनहरुमा यहाँ भीड नै लाग्ने गर्छ ।

गुप्तेश्वर गुफा

सिद्धार्थ राजमार्ग तथा पोखरा उपमहानगरपालिका–१७, छोरेपाटनस्थित गुप्तेश्वर गुफा डेभिड फल्सको खोँचमा छ । यहाँ गुप्तेश्वर महादेवको मूर्ति छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डेभिड फल्सको पानी देख्न सकिन्छ ।

डेभिड फल्ससँगै रहेको एक किलोमिटर लामो यस गुफामा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गर्छन् । महानगरपालिका क्षेत्रभित्र र पोखराकै आकर्षक गन्तव्य भएका कारण गुफामा पर्यटकहरुको आगमन बढ्दो छ ।

सेतो गुम्बा

पोखराको पश्चिमतर्फ फेवाताल र रानीवनसँगै माथिको डाँडामा अवस्थित सेतो गुम्बा (शान्तिस्तुपा) पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बौद्ध तथा हिन्दू धर्मावलम्बीका साथै पोखरा पुग्ने सबैजसो पर्यटक यो गुम्बामा पुग्न गर्छन् । पछिल्लो समय यस गुम्बा पोखराकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बिहानदेखि बेलुकासम्म यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ ।

शान्ति स्तुपाबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, बेगनास ताल, रानीवन, सराङकोटको डाँडालगायत देखिने हुँदा यहाँबाट पर्यटकले प्राकृतिक सौन्दर्य अवलोकन गर्न सक्छन् ।

विन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर नेपाल तथा भारतीय हिन्दू धर्मावलम्बीका बीच विभिन्न धार्मिक ग्रन्थ र आस्थासँग जोडिएको मन्दिर हो । त्यसैले पोखरामा हिन्दू धर्मावलम्बीको बाहै्रमास भीडभाड हुने गर्छ । यहाँ दर्शन गर्न भारतीय पर्यटकको समेत भीड लाग्ने गर्छ ।

मन्दिर अग्लो स्थानमा रहेका कारण यहाँबाट पोखरा सहर अवलोकन गर्न सकिन्छ । पछिल्लो समय यस मन्दिरमा अपाङ्ग र अशक्त पर्यटकहरुलाई लक्षित गरी लिफ्टको समेत व्यवस्था गरिएको छ ।

सराङकोट

सराङकोट पोखराबाट उत्तर पश्चिममा फक्रिएका हिमशृङ्खलासँग सामीप्यता जोड्दै गरेको अग्लो डाँडा हो । यहाँबाट पोखरा र लेखनाथ सहर देख्न सकिन्छ । साथै आँखै अगाडि माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी लगायतका हिमशृङ्खला हेर्न पाइन्छ ।

सराङकोटबाट पोखरा आसपासमा रहेको मनमोहक हरियाली वन देखिन्छ । प्याराग्लाइडिङ र जिप फ्लाईसमेत सराङकोटबाटै हुने गर्छ । यहाँ पर्यटकीय सिजनमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् ।

पछिल्लो समय सराङकोट पोखराको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । यहाँ पर्यटकका लागि सुविधा प्रदान गर्न ठूला रिसोर्ट र होटलहरु समेत सञ्चालित छन् । यहाँको प्रसिद्ध प्याराग्लाइडिङ सराङकोटबाटै उडेर फेवातालको किनारमा ल्यान्ड गरिन्छ । यसको अलावा बिहानीपख सराङकोटमा सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइँचो लाग्ने गर्छ ।

बेगनास र रूपा ताल

लेखनाथ नगरपालिकामा रहेका बेगनास र रूपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । तालमा डुङ्गा सयर गर्ने व्यवस्था छ । माछाका विभिन्न परिकारका लागि बेगनास निकै चर्चित मानिन्छ । पोखरा पुग्ने अधिकांश पर्यटक बेगनास तालमा पुगेर मन बहकाउने गर्छन् । डाँडावारि बेगनास र डाँडापारि रूपाताल छ ।

सहरी कोलाहलबाट अलि टाढा भएकाले यहाँ पुग्दा छुट्टै आनन्दको अनुभूति हुने गर्दछ । पोखराबाट बेगनास तालको रूटमा सार्वजनिक गाडी प्रशस्तै चल्छन् । पोखराबाट तालमा पुग्न १० किलोमिटरको दूरी पार गर्नुपर्छ ।

प्याराग्लाइडिङ

चराजस्तै आकाशमा उड्ने साहसिक खेलका रूपमा प्याराग्लाइडिङ विकास हुँदै गएको छ । पोखरामा करिब ५५ वटा प्याराग्लाइडिङ कम्पनी छन् । प्याराग्लाइडिङमा उडेर मज्जा लिनका लागि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पोखरा आउँछन् । पछिल्लो समय प्याराग्लाइडिङ पोखराको मुख्य आकर्षण बनिरहेको छ ।

साहसिक खेलका रूपमा रहेको प्याराग्लाइडिङमा उड्दै पोखरा, हिमाल र आसपासको क्षेत्रको दृश्यावलोकन गर्छन् । १ सय ५० जना टेन्डम (व्यावसायिक) प्याराग्लाइडिङ पाइलट यहाँ छन् भने १ सय ९० जना सोलो (सिकारु) पाइलट पनि छन् । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्ड हुन्छ ।

अल्ट्रालाइट फ्लाइट   

पोखराको अर्को आकर्षण हो– अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा सहर तथा हिमशृङ्खला हेर्न पाइन्छ । अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । एभिया क्लब, फिस्टेल र पोखरा अल्ट्रालाइट लगायतले अनुमति लिएर सञ्चालन गरिरहेका छन् । यसलाई पोखरेलीले पुतली जहाजसमेत भन्ने गर्छन् ।

जिप फ्लाई

सराङकोटबाट हेम्जासम्म जिप फ्लाई गराइन्छ । एक पटकमा दुईजनाले गर्न सकिने जिप फ्लाई युवायुवती र नयाँ जोडीका लागि आकर्षण बनेको छ ।

जिप फ्लाई पोखराको महत्त्वपूर्ण पर्यटकीय मनोरञ्जनात्मक खेलका रूपमा स्थापित बनिसकेको छ । साहसिक खेलमा पर्ने जिप फ्लाईका पारखीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिप फ्लाई गर्दा कृषि गाउँको उपनामले परिचित हेम्जाको सुन्दर बस्ती, आसपासको घना जङ्गल र हिमशृङ्खला अवलोकन गर्दै सराङकोटबाट भुपी राजमार्गमा पर्ने हेम्जा झर्ने व्यवस्था छ ।

बन्जी जम्प

पछिल्लो समय पोखरामा व्यावसायिक साहसिक खेलका रूपमा भित्रिएको बन्जी जम्पले व्यावसायिकता ग्रहण गर्न थालेको छ । साहसिक पर्यटनमा रुचि राख्नेहरुका लागि बन्जी जम्प अत्यन्त रोमाञ्चकारी खेल हो । पोखराको हेम्जा र पर्वतीय सङ्ग्रहालयस्थित रातोपैह्रोमा टावरसहितको बन्जी जम्म सञ्चालनमा आइसकेको छ ।

तुलनात्मक रूपमा भोटेकोसी र पर्वतको मादी नदीको बन्जी जम्पभन्दा आधा होचो भए पनि यहाँबाट फाल हान्दा पनि बेग्लै मज्जा महसुस हुने गर्छ ।

पामे (फेवाताल किनार)

फेवातालको उत्तर पश्चिम किनारमा रहेको पामे पोखरा पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँ हो । यो ठाउँ माछाको परिकारका लागि प्रसिद्ध छ । पोखरेलीहरुले बिदाका अन्य दिनमा शनिबार विशेषगरी यहाँ पुग्ने गर्छन् ।

फेवातालको किनारै किनार पुगिने पामेमा राम्रा होटल तथा लज सञ्चालनमा आइसकेका छन् ।

फेवातालका गतिविधि अवलोकन गर्दै माछाको स्वाद चाख्न पामे प्रख्यात रहेको छ । पछिल्लो समयमा यहाँ पोखराका व्यवासयीको लगानीमा अपार्टमेन्ट लगायतका अन्य भौतिक पूर्वाधार निर्माण भइरहेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय

पोखरा पुगेपछि पुग्नैपर्ने ठाउँ हो– अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय । यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभूषा लगायत हिमाली कला र संस्कृति अवलोकन गर्न सकिन्छ । विभिन्न जातजाति भाषाभाषी र भेषभूषाबारे अध्ययन र अवोलकन गर्ने उपयुक्त स्थानका रूपमा यो सङ्ग्रहालय छ । २०६० साल माघबाट सञ्चालनमा आएको सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोवास गर्ने जातजातिहरुको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिको साथै भौगोलिक अवस्थालगायत अन्य जानकारीमूलक सामग्री राखिएका छन् ।

महेन्द्र गुफा

यो पोखराको निकै चर्चित ठाउँ हो । महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गर्न सकिन्छ ।

घना जङ्गलको छेउमा अवस्थित चमेरी र महेन्द्र गुफा अवलोकन गर्दा रोमाञ्चकारी अनुभव हुन्छ ।

सेती खोँच

पोखरा बजारको मुख्य भागबाट बगेको सेती नदी पोखराको अर्को आकर्षण हो । सेती नदीले धेरै पर्यटकको ध्यान खिच्ने गर्छ । साँघुरो र गहिरो खोँचबाट बगेको हुँदा हिउँदमा पानी देख्न मुस्किल पर्छ । वर्षमा भने पानीमाथि आउने हुँदा सहजै देख्न पाइन्छ ।

पोखराको बीचबाट बगिरहेको सेती नदी एकपटक अवलोकन गर्नैपर्ने ठाउँ हो । सेती नदी पुलबाट मात्र हेर्न सकिन्छ । पोखराको बीच भागमा रहेको रामघाटमा भने ठूलो बगर भएको हुँदा बाहिरबाटै स्पष्ट रूपमा सेती नदी हेर्न सकिन्छ । यहाँ पुगेपछि पोखराको वास्तविकता जानकारी हुन्छ । केही स्थानमा सेती फराकिलो घाट भए पनि त्यहीँबाट सानो दुलो हुँदै सेती नदी बिलिन भएको समेत देख्न सकिन्छ ।

माटेपानी गुम्बा

पोखरामा घुम्नका लागि छुटाउनै नहुने अर्को ठाउँ हो– माटेपानी गुम्बा । पोखरा क्षेत्रीय अस्पतालदेखि पूर्वी भागमा पर्ने माटेपानी गुम्बा निकै आकर्षक छ ।

अग्लो ठाउँमा रहेको हुँदा यहाँबाट पनि पोखराको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो गुम्बाबाट लेखनाथ र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलसमेत देखिन्छ । यो बौद्ध तथा हिन्दू धर्मावलम्बीका लागि आकर्षक ठाउँ हो । पोखराको यस स्थान महाभूकम्पले सबैभन्दा धेरै असर गरेको ठाउँमा पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप