किशोर-किशोरीदेखि ट्याक्सी ड्राइभरसम्मः म्यानमारको सैन्य शासनमा मारिएकाको कहानी
फेब्रुअरी १ तारिखमा म्यानमारमा सेनाले सत्ता हडपेपछि सेनाको हातबाट सात सय बढीको ज्यान गएको बर्माको असिस्टेन्ट असोसिएसन फर पोलिटिकल प्रिजनर्सले बताएको छ । बीबीसीले सेनाद्वारा मारिएका तीनजनाको आफन्तसँग कुराकानी गरेको छ ।
म्यानमारमा सैन्य कूको विरुद्धमा प्रदर्शन दिनप्रति दिन चर्कंदो छ । प्रदर्शन चर्किएसँगै यसमा ज्यान गुमाउनेको संख्या पनि उच्च छ ।
मृतकमध्ये कतिले सैन्य कूको विरुद्धमा भाग लिएका थिए भने कतिजना घरमा यत्तिकै बसिराखेका बेला मारिए । तीमध्ये कति बालबालिका पनि छन् ।
यहाँ तीनवटा परिवारले आफ्नो कथा साझा गरेका छन् ।
टिकटकमा लोकतन्त्र समर्थनको गीत गाएकी किशोरीः
१४ वर्षका पन इ फ्यू लोकतन्त्रको समर्थनमा भइरहेको प्रदर्शनका समर्थक थिए । उनले लोकतन्त्रको समर्थन गर्ने थुप्रै गीत गाउँदै टिकटकमा भिडियोमा बनाउने गर्थिन् ।
उनको सुरक्षामा आँच आउला भनेर उनकी आमा ठिडा सानले सडकमा भइरहेको विरोध प्रदर्शनमा सरिक हुन दिँदैनथिन् ।
तर आमाको यो कदमले उनलाई जोगाउन सकेन ।
पन ई फ्यूलाई उनको घरभित्र गोली हानियो । मार्च २७ मा सेनाबाट बच्नका लागि भागिरहेका प्रदर्शनकारीहरुका लागि आफ्नो घरको ढोका उनी खोल्न चाहन्थिन् । सैन्य कू भएदेखि त्यस दिन सर्वाधिकको मृत्यु भएको थियो । त्यसदिन ११४ जनाले ज्यान गुमाएका थिए जसमा ११ जना बालबालिका समावेश थिए ।
‘उनी अचानक लडिन् । मलाई लाग्यो उनी चिप्लिइन् । त्यसपछि मैले उनको पिठ्यूँमा रगत देखेँ, थाहा भयो उनलाई गोली हानियो,’ ठिडा सानले बलिद्र धारा आँसुसहित बीबीसीलाई भनिन् ।
बर्मेली भाषामा ‘पन’ को अर्थ फूल हो, ‘ई’ को अर्थ नरम र फ्यूको अर्थ सेतो हो ।
‘मेरी छोरी जन्मिँदा निकै सुन्दर थिइन्, नरम सुन्दर फूल झैं । त्यसैले मैले उनलाई यो नाम दिएँ ।’
आफ्नी छोरीले घरको काम सघाउने गरेको र पछि गएर अनाथालय खोल्ने उनको सपना भएको ठिडाले स्मरण गरिन् ।
‘मेरी छोरी बिना मेरो जीवन केही होइन जस्तो लागेको छ मलाई । उनी बिना जीवन के बाँचौं भन्ने सधैं आइरहन्छ ।’
पान ई फ्यूको मृत्युले उनका १० वर्ष कान्छा मेग साई साई नामका भाइलाई पनि अत्यधिक प्रभाव पारेको छ । ‘ऊ दिदीको मृत्यु भएको रात फिटिक्कै निदाएन । दिदीको टिकटक भिडियो मात्रै हेरेर बसिरह्यो,’ ठिडाले भनिन् ।
उनको परिवार त्यसपछि बसाईं सरेको छ । ठिडालाई केही आपत् आइलाग्ने हो कि भन्ने पिर छ ।
‘हाम्रो जीवन सुरक्षित रहेन ।’
‘सुनारको तालिम लिइरहेका यी किशोर’
जिन मीन टेटले आफ्ना साथीहरुलाई सहयोग गर्न जे पनि गर्दथे ।
‘ऊ जतिपनि आर्थिक समस्यामा भएपनि उसले आफ्ना साथीहरुलाई कि त आर्थिक कि अन्य तरिकाले सहयोग गर्ने गर्दथ्यो । उनको निकै राम्रो आत्मा थियो । सधैं हासिरहन्थ्यो,’ उनका साथी को साईले बीबीसीलाई भने ।
८ मार्चमा उनलाई गोली लाग्नु अघि २४ वर्षे उनी सैन्य कू विरोधी प्रदर्शनको अग्र स्थानमा थिए । उनीसँग एउटा सिल्ड थियो, अन्य प्रदर्शनकारीहरुलाई जोगाउँदै पनि थिए ।
उनकी आमा डह ओन मा छोरालाई गोली लागेको खबर सुन्ने बित्तिकै अस्पताल दौडिइन् ।’
‘छोराले अन्तिम पटक ‘आमा’ भनेर बोलाएको सुन्न चाहन्थेँ तर सकिनँ । जताततै रगत थियो । उसलाई मैले हेर्न पनि सकिनँ । ऊ पहेँलो भइसकेको थियो, चिसो थियो, उसको धेरै नै रगत बगिसकेको थियो,’ उनले बीबीसीलाई भनिन् ।
‘म के भनूँ ? यो निकै निर्मम र निर्दयीपन हो ।’
‘त्यतिबेला मेरो एउटै कुरा मात्रै दिमागमा आइरहेको थियो । उसको शवलाई जतिसक्दो चाँडो घर ल्याउने ।’
जिन मीन टेट, पछिल्लो तीन वर्षदेखि सुनारको तालिम लिइरहेका थिए । उनी घरका कान्छो र एक्लो छोरा थिए ।
उनले स्मरण गर्दै भनिन्, ‘उसले पैसा कमाउने बित्तिकै एउटा घर किन्ने सपना देख्थ्यो ।’
‘ऊ सधैंजसो खुसी भइरहन्थ्यो । कहिले पनि दुःख दिने, रिस उठाउने खालको क्रियाकलाप गरेन । उसलाई मैले पकाएको खाना असाध्यै मन पर्दथ्यो । ऊ बाहिर खासै खाँदैनथ्यो र घरमा साथीहरुलाई डिनरका लागि बोलाइरहन्थ्यो ।’
उनलाई गोली हानिएको दिन जिन मिट टेटले उनकी आमालाई आफू काममा जान लागेको बताएका थिए । उनले त्यसदिन झुटो बोले किनभने उनकी आमाले एकदिन अघि मात्रै प्रदर्शनमा भाग नलिन भनेकी थिइन् ।
उनले भनिन्, ‘तर अन्त्यमा उसलाई जे गर्न मन लाग्थ्यो त्यहि गरेर नै प्राण त्याग्यो ।’
‘म मेरो छोराप्रति निकै गर्व गर्छु, ऊ एउटा हिरो थियो । देशका लागि केही गर्ने उसको उत्कट चाहना थियो ।’
एक ट्याक्सी ड्राइभर जसलाई श्रीमती अगाडि गोली हानियोः
२८ फेब्रुअरीको दिन हेन टुट आङ्ग र उनकी श्रीमती मा जिन मार प्रदर्शनमा सरिक हुन जाँदै थिए ।
आफ्नो काम सिद्धिएपछि यो जोडी सधैंजसो विरोध प्रदर्शनमा भाग लिन जाने गर्दथ्यो । तर त्यसदिन मा जिन मार मात्रै घर फर्किइन् ।
उनीहरु बसमार्फत् विरोध प्रदर्शनमा जाँदै थिए । तर बस रोकियो र गोलीबाट बच्नका लागि यात्रीहरु बाहिर निस्कनुपर्‍यो ।
‘बाटो काट्न लाग्दा उनलाई गोली लाग्यो,’ उनले बीबीसीलाई भनिन् । हामीभन्दा केही पर मात्रै प्रदर्शनकारीमाथि गोली चलाइरहेका सेनालाई रोक्नका लागि डस्टबिनमार्फत् बाटो ब्यारिकेड गरिएको थियो र काँडे तारले छेकिएको थियो ।’
‘उनी पिडामा कराए । मैले उनको छातीमा रगत देखेँ । उनलाई समाउन खोजेँ र प्वाल परेको स्थानलाई दबाएँ । ’
उनलाई तत्काल अस्पताल लगियो तर त्यतिबेलासम्म ढिला भइसकेको थियो ।
हेन टुट मोटरसाइकल–ट्याक्सी ड्राभइर थिए । त्यसैले उनलाई छिमेकमा लगभग सबैजसो चिन्दथे ।
‘उनी निकै साधारण मानिस थिए । उनलाई शान्त बस्न मन पर्दथ्यो र धेरै बोल्दैनथे । खाली समयमा उनी मोबाइलमा गेम खेलेर बस्थे । आफूले इमान्दारितापूर्वक जे जति कमाए, त्यसमार्फत् परिवारको राम्रोसँग रेखदेख गरे ।’
उनको पाँच वर्षअघि विवाह भएको थियो र दक्षिण दागोन टाउनशीपमा निकै शान्त तरिकाले जीवनयापन गरिरहेका थिए ।
‘हामी जहाँ पनि सँगै जान्थ्यौं । मलाई उनको असाध्यै याद आउँछ ।’
मा जीन मारले अब सैन्य कू अन्त्य नभएसम्म आफ्नो विरोध जारी राख्ने बताएकी छिन् ।