शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै नेतृत्वमा सरकार बनाउने जसपामा सहमति !

मङ्गलबार, ३१ चैत २०७७, २३ : २९
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको छ । तर, बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपाले टुंग्याएको छैन ।

जसपाको बैठक केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेर केही दिनका लागि स्थगित भएको छ । नयाँ वर्षको पर्वका कारण केही दिनका लागि बैठक स्थगित भएको हो । बैठक रोकेर केही शीर्षनेता नयाँ वर्ष मनाउन उपत्यका बाहिर गएका छन् ।

दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो । जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई एवं अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको आ–आफ्नो अडान बैठकमा पनि कायमै रह्यो । तर, एउटा कुरामा सहमति भयो, त्यो हो जसपाकै नेतृत्वमा सरकार बनाउने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने भनी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको तर्क थियो भने ओलीले माग पूरा गरे पनि त्यसको बहिर्गमनका लागि जसपा नेपालले पहल गर्नुपर्ने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको तर्क थियो ।

ओलीलाई जति दिनसम्म टिकाइ राख्ने हो, लोकतन्त्रमाथि त्यति नै खतरा हुने उपेन्द्र यादव पक्षको दाबी थियो भने महन्थ ठाकुरले लोकतन्त्रमाथि ओलीबाट मात्र होइन, अन्य दलका नेताबाट पनि खतरा रहेको दाबी थियो । यिनै तर्क–वितर्कमा जसपा नेपालको पदाधिकारी बैठक जारी छ ।

अन्ततः आफ्नै नेतृत्वमा सरकार बनाउने गरी दुवै पक्ष सहमतिको विन्दुमा आएका छन् । जसपाको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार नेपाली काँग्रेसले ओली विरुद्ध आविश्वासको प्रस्ताव ल्याउन नसकेको हुँदा त्यसको अगुवाई जसपाले गर्ने र त्यसका लागि अन्य दलसँग सहयोग माग्ने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको प्रस्ताव थियो ।

तर, महन्थ ठाकुरले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपा सक्दैन, कुनै दलले त्यसमा साथ दिँदैन, बरु जसपाकै नेतृत्वमा सरकार गठन गर्ने आह्वान गर्दा ओली नेतृत्वको एमालेले पनि सहयोग गर्न सक्छ भन्ने तर्क बैठकमा गरेका थिए । यसमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र शेरबहादुर देउवा नेतृत्वको काँग्रेसले पनि सहयोग गर्न सक्छ भन्ने ठाकुरले बैठकमा बताए ।

आफ्नै नेतृत्वमा सरकार बनाउने महन्थको प्रस्तावमा दुवै पक्ष सहमत भएको र नयाँ वर्ष मनाएपछि पुनः बैठक बसेर टुंगो लगाउने सहमित भएको जसपा स्रोतको भनाइ छ ।

बैठकमा पार्टीको समायोजन प्रकृया कसरी टुगों लगाउने त्यस विषयमा पनि छलफल भएको थियो । समायोजनका लागि पटक–पटक निर्णय गरेर सर्कुलर गरे पनि काम सम्पन्न भएको छैन । जिल्ला जिल्लामा विवाद भइरहेको छ, यसलाई कसरी टुंगो लगाउने भन्ने विषयमा पदाधिकारी बैठकले नै टुंगो लगाउने नेताहरु बताउँछन् ।  

पदाधिकारीमा सहमति भइसकेपछि कार्यकारिणी समितिको बैठकबाट त्यसलाई अनुमोदन गराउनेछ ।

जसपाका पाँचजना पदाधिकारीमा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई छन् ।

यो पनि...

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप