मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुकुम पश्चिम मोडेललाई कार्यदिशाको स्तरमा विकास गरौँ

मङ्गलबार, ३१ चैत २०७७, १० : २१
मङ्गलबार, ३१ चैत २०७७

चैत २४ गते रुकुम पश्चिममा एक भव्य कार्यक्रममा सहभागी भइयो । प्रभाकर दाइले फागुन १ जनयुद्ध दिवसकै अवसरमा रुकुम जाऊ भन्नुभएको थियो । त्यो बेला विभिन्न कारणले जान सकिएन । जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिम माओवादी केन्द्रले  ‘आर्थिक समृद्धि सामाजिक सांस्कृतिक रुपान्तरणका लागि जन प्रशिक्षण कार्यक्रम’ आयोजन गरेको थियो । प्रभाकर दाइले चैत २२ गते हाते फोनमा भन्नुभयो, ‘लोकेन्द्र ऐरीसँग रुकुम आउनुस् । म रुकुम आइसकेको छु ।’

पश्चिम रुकुम जानुपर्ने महत्त्वपूर्ण दुई कारण थिए । पहिलो कारण– रुकुम नेपाली जनयुद्धको उद्गम स्थल मात्रै होइन, संसार हल्लाउने वर्गयुद्धको केन्द्र पनि हो । हामी कम्युनिस्ट कार्यकर्ताका लागि यो एउटा विश्वविद्यालय थियो । कामी बुढाले सुरु गर्नुभएको सामन्तवाद विरोधी आन्दोलन जनयुद्धको उद्गम स्थलको रूपमा रुकुमेली जनताले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । साढे तीन सयभन्दा बढी रुकुमेली योद्धाहरुले आफ्नो बलिदानी दिएर नेपाली क्रान्तिको सेवा गर्नुभएको थियो ।

दोस्रो र सबैभन्दा महत्त्वपूर्ण कारण चाहिँ रुकुम पश्चिम सुरु गरिएको ‘आर्थिक समृद्धि र सामाजिक– सांस्कृतिक रूपान्तरण’ अभियान थियो । समाजवादी क्रान्तिका लागि आधार तयार पार्ने एक बेजोड अभियानको अध्ययन हाम्रो रुचिको विषय थियो । नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको थियो । मूलधारका अनलाइन मिडियामा फिचर लेखेका केही विषय थिए, जो हामी कम्युनिस्टले सिक्न योग्य थिए । कम्युनिस्ट पार्टीले स्थानीय सरकार जितेपछि के गर्नुपर्ने हो, त्यो रुकुम पश्चिमले दुनियाँलाई सिकाइरहेको थियो । सरकार र पार्टीबीचको अन्तरसम्बन्ध कस्तो हुने ? त्यो रुकुमबाटै सिक्नुपर्ने थियो ।

कार्यक्रमको अर्काे महत्त्वपूर्ण पाटो जनसभा थिएनन्, जनप्रशिक्षण थियो । त्यो विशाल जनसभालाई जनप्रशिक्षण सभा भन्नुको खास अर्थ थियो । जसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्य एवं रुकुम मोडेलका सूत्रधार प्रभाकरले सम्बोधन गर्दै हुनुहुन्थ्यो । यस कार्यक्रमका मूल पक्षहरु थिए ।

मौसममा आएको खराबीका कारण प्रचण्डको आगमन ढिला भएको थियो । तैपनि त्यो विशाल जनसागर अनुशासित भएर तातो घामको प्रवाह नगरी चौरमा बसेका थिए । सायद पार्टी अनुशासनमा प्रतिबद्ध थिए जनता । ढिलो गरी रुकुम पश्चिमको आकसमा जहाज आइपुग्यो । व्यग्र प्रतीक्षाको घडी सकिएको थियो । भव्य जनसभा स्थलमा कमरेड प्रचण्डको आगमनमा नाराहरु गुन्जिए । सबै जनता उठेर अध्यक्ष कमरेड प्रचण्डको स्वागतमा तालीको गडगडाहाट भयो । हामी सबैले मञ्चबाट प्रचण्ड र कमरेड प्रभाकरलाई स्वागत ग¥यौँ । शान्ति प्रक्रियापछि रुकुममा प्रचण्डले १७ वर्षपछि पाइला टेक्दै थिए ।

नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजवाद उन्मुख राज्यको अवधारणालाई पश्चिम रुकुमले कसरी व्यावहारिक कार्यान्वयन गर्दैछ भन्ने जान्ने उत्सुकता बोकेर हामी रुकुम हिँडेका थियौँ । समाजवाद र समाजवादी क्रान्तिलाई बुद्धि विलासको साधन र दिमागी कसरतको मनोरञ्जनात्मक पक्षको रूपमा भँजाई हिँड्ने जमातबाट वाक्क भएका हामी आफ्नै मौलिकतामा कसरी समाजवादको आधार खडा गर्ने भन्ने अलमलमा थियौँ र छौँ । सुनिने र पढिने समाजवाद होइन, देखिने र भोगिने समाजवादको आधार निर्माण गर्ने मौलिक चुनौतीका बीच कमरेड प्रभाकरको नेतृत्वमा पश्चिम रुकुमले अभ्यास गर्न खेजेको अभ्यासबारे नयाँ पत्रिका दैनिकमा सम्पादकीय लेखिएपछि बढी उत्सुकता जागेको हो ।

नेपाल मूलतः १९९० को जनआन्दोलनपछि दक्षिण एसियामा खुला बजारवादी अर्थराजनीति अँगाल्ने मुलुकमध्ये एक हो । नवउदारवादी अर्थराजनीतिविरुद्ध जनयुद्धको उठान गरेका हामी माओवादीले संविधान सभामा पहिलो पटक सरकार गठन गरेपछि पनि यो अर्थराजनीतिक संरचनामाथि धावा बोल्न सकेनौँ । सायद यो तत्कालीन राजनीतिक शक्ति सन्तुलनको प्रभाव पनि थियो । तर यो हाम्रो कमजोरीका रूपमा रह्यो । जसका कारण हाम्रो आफ्नै वर्ग हामीसँग बिच्किए । यो धरातलीय यथार्थता हो ।

तर नयाँ संविधान बनेपछि भएको निर्वाचनमा पवित्र ढङ्गले बाम गठबन्धन निर्माण गरेर कम्युनिस्ट सरकार बनाएर मुलुकलाई आर्थिक समृद्धि र सामाजिक न्यायसहित समाजवादको आधार तयार पर्ने सङ्कल्प भयो । तर दुर्भाग्यको कुरा खड्ग ओलीजस्ता उग्रदक्षिणपन्थीको नेतृत्वमा यो धोकाधडीमा परिणत भयो । कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्ने साम्राज्यवादीहरुको मतियारका रूपमा संविधान नै ध्वस्त पारेर देशलाई पश्चगामी दिशामा धकेल्ने दुस्प्रयास भइरहेको छ ।

तर त्यसका बाबजुद रुकुम पश्चिममा राज्य (स्थानीय सरकार), निजी क्षेत्र (बैङ्क) र जनताको संयुक्त प्रयासमा आर्थिक समृद्धि र सामाजिक सांस्कृतिक अभियान थालनी गरेर यो संविधानको मूल स्प्रिट पक्डेको छ । जो नेपालको सन्दर्भमा पहिलो जनआन्दोलनपछि लागू गरिएको नवउदारवादी अर्थराजनीतिको वैकल्पिक अभ्यास हो । यसले समाजवाद र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न ऐतिहासिक महत्त्व राख्ने छ । त्यसकारण रुकुम पश्चिम मोडेललाई सिङ्गो आन्दोलनको कार्यदिशाको स्तरमा विकास गर्नुपर्ने छ । यदि कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने हो भने यसको विकल्प नै छैन ।

कृषक सहकार्य समूह निर्माण गरेर आफ्नै मौलिक उत्पादनलाई जोड दिँदै आत्मनिर्भर बन्ने र कृषिलाई बहुपक्षीय उत्पादनमा रूपान्तरण गरेर रोजगारी सिर्जना गर्ने, गरिबी अन्त्य गर्ने, कृषि उद्योगलाई समुदायको स्वामित्वमा बदल्ने जस्ता समाजवाद निर्माणका महत्त्वपूर्ण आधारहरु पश्चिम रुकुमले तयार पार्ने जमर्काे गर्दैछ । समाजवाद कुहिरोको कागजस्तै कागजी बहसको विषय होइन । यो जीवन पद्धतिमा बदल्नु पर्छ । जीवन पद्धति बन्नुपर्छ । यो पश्चिम रुकुमले देखाउने प्रयत्न गर्दैछ ।

समाजवादको आधार तयार गर्ने पश्चिम रुकुम हिजो सामन्तवादविरुद्धको जनयुद्धको आधार इलाका थियो । आज समाजवादी क्रान्तिको पनि आधार इलाकामा परिणत भएको छ । यसका सामु बहुआयामिक चुनौतीहरु पनि हुनेछन् । ती चुनौतीसँग जुध्न स्थानीय सरकार, पार्टी र जनताको सम्बन्धलाई अझै माथिल्लो स्तरमा विकास गर्नुपर्ने छ । अहिले जुन सम्बन्ध स्थापित भएको छ, त्यो आफैमा उच्च स्तरको त छँदैछ । त्यसका निम्ति कमरेड प्रभाकरले जनप्रशिक्षण सभामा भन्नुभएझैँ २१औँ शताब्दीमा जनवादको विकास भन्ने प्रस्तावमा पार्टी सत्ता र नेतृत्वको बारेमा परिभाषित जननियन्त्रित पार्टी, पार्टी नियन्त्रित नेतृत्वलाई दरिलो ढङ्गले लागू गर्नुपर्ने छ । प्रभाकरले खुला रूपमा पार्टी र नेतृत्वलाई गल्ती गरे खबरदारी र आलोचना गर्न अह्वान गरेर एउटा गम्भीर सन्देश प्रवाह गर्नुभएको छ । कमरेड प्रचण्डले त्यही सभामा आफू रुकुमेली जनताबाट प्रशिक्षित भएको सगर्व स्वीकार गर्नुभएको छ । उहाँले पश्चिम रुकुमेली जनताको अभियानलाई आफ्नो साथ रहने वचनबद्धता व्यक्त गर्नुभएको छ ।

त्यसैले पश्चिम रुकुमेली अभ्यासलाई सिङ्गो पार्टीले स्वामित्व लिएर यसलाई माथि उल्लेख गरिएझैँ कार्यदिशाको स्तरमा विकास गरेर कम्युनिस्ट आन्दोलन तत्कालीन कार्यक्रम बनाउन जरुरी छ । इतिहासको समाजवादी क्रान्तिको कथा पढाएर होइन, अबको कम्युनिस्टहरुको कार्यभार भनेको केन्द्रीय सत्ता कब्जा गरेपछि मात्र समाजवाद लागू गर्ने भन्ने कुरा पछौटे कुरा हो । जहाँबाट सम्भव छ त्यहीँबाट प्रारम्भ गरेर देखाउने हो । खुसीको कुरा त्यो अभ्यास हामीले पश्चिम रुकुममा देख्न पाउने भएका छौँ । हामीले सोभियत सङ्घ, चीन क्युबा, कोरिया र पूर्वी युरोप पढ्यौँ तर नेपाल पढेर नेपालको मौलिक समाजवादी कार्यक्रम तय गर्न सकेका थिएनौँ र छैनौँ ।

तसर्थ आग्रह र पूर्वाग्रहको चस्मा फुटाएर पश्चिम रुकुम मोडेललाई परिष्कृत र विकसित गर्दै समाजवादी क्रान्तिको नेपाली मोडेल बनाऔँ । यो हाम्रो आन्दोलनबाट जनता र राष्ट्रको हित हुनेछ । माओवादी आन्दोलनमा बाँकी रहेको कार्यभार पूरा गर्ने यही नै वस्तुवादी बाटो हो । माओवादी आन्दोलनका बाँकी कार्यभार न वाम विसर्जनवादी धोकाधडीबाट हुन्छ न दक्षिणपन्थी विसर्जनवादी निकृष्टताबाट । वाम विसर्जनवाद दक्षिणपन्थी फाँसीवादसँग सङ्घर्ष होइन । सम्झौतामा टुङ्गिएको छ । दक्षिणपन्थ जमिनदार वर्गको पुच्छर बनेको छ । कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी फासीवादको अतिक्रमणबाट घायल भएको छ । हामी घायल कम्युनिस्ट आन्दोलन लिएर यतिखेर गौशाला चोकमा उभिएका छौँ । आर्यघाट लगेर जलाएर खरानी पार्ने कि हस्पिटल लगेर शल्यक्रिया गरेर जिउँदो बनाउने यो यक्ष प्रश्न छ । जिउँदो बनाउने हो भने रुकुम पश्चिमलाई सञ्जीवनी बुटी बनाऔँ । यसको मुख्य कार्यभार आज पनि प्रचण्डकै हो ।

अन्त्यमा अभिभावकीय प्रेमका साथ निमन्त्रणा गर्नुहुने प्रभाकर दाइ बाटोभरी फोन गरेर निकै स्नेहका साथ हाम्रो टिमको यात्राबारे जानकारी लिनेहुने रुकुम पार्टीका अध्यक्ष कमरेड अनल र माओवादी केन्द्र पश्चिम रुकुमप्रति आभार व्यक्त गर्दै बिट मार्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रजमान तामाङ
रजमान तामाङ
लेखकबाट थप