त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो सेमेस्टरकी विद्यार्थी, आठ कक्षामा अध्ययनरत १३ वर्षीय छोरीकी अभिभावक अनि परिवारको आर्थिक भार थाम्ने श्रीमती, बुहारी अनि आमा । काँधमा यति धेरै जिम्मेवारी बोकेर दिनभर काठमाडौँका सडकमा दौडिन्छिन् सृजना गुरुङ ।
प्रष्ट विचार र इमानदारीता सृजनाको परिचय हुन् । छोरी, बुहारी, श्रीमती अनि आमा, सबै भूमिकासँगै चल्छ सृजनाको व्यावसायिक जीवन । कुनै समय अध्यापन पेसामा सक्रिय सृजना परिवार र आफ्नो भविष्य सुधार्न भन्दै वैदेशिक रोजगारीका लागि दुबई पनि पुगिन् । घरपरिवार अनि सन्तानसँग टाढा रहेर कहाँ सन्तुष्टि मिल्थ्यो र ! परिवार अनि सन्तानका लागि फेरि उनले आफ्नो यात्रालाई मोड्नु पर्याे अर्थात् फेरि नेपाल फर्किनु पर्याे । सन्तानका लागि वैदेशिक रोजगारी त्यागेर नेपाल फर्किएको सृजना बताउँछिन् ।
सृजना नेपालका ती पठाओ राइडरमध्ये एक हुन्, जो हरेक दिन पठाओसँग आफ्नो सपनाहरु साट्दैछिन् । सृजना आठ कक्षामा अध्ययनरत छोरीसँगै साँझबिहान अध्ययनमा पनि लाग्छिन् । घरपरिवारको जिम्मेवारी, विश्वविद्यालयको अध्ययन सँगसँगै स्कुटर लिएर काममा दौडिनु उनको दैनिकी नै हो ।
पठाओ अर्थात् भाडाका मोटरसाइकल, स्कुटर र ट्याक्सी आज धेरैका लागि सजिलो उपाय बनेर खडा भइदिएको छ । चाहे त्यो यात्रुका लागि होस् या रोजगारी खोज्दै गरेकाहरूका लागि । सार्वजनिक यातायातमा खेप्नुपर्ने सास्तीको सजिलो विकल्प बनेर आएको पठाओ रोजगारीका लागि भौँतारिएकाहरुका लागि पनि सहज विकल्प बनिदिएको छ पछिल्लो ३ वर्षदेखि ।
सृजना विगत डेढ वर्षदेखि पठाओमा आबद्ध छिन् । रोजीरोटीका लागि मात्रै होइन, अध्ययन र परिवारका लागि पनि समय दिन सकिने भएकाले पठाओलाई मुख्य पेसा बनाएको उनी बताउँछिन् । पठाओले एक लाखभन्दा बढीलाई रोजगारी मात्रै दिएको छैन, काठमाडौँजस्ता सहरमा सार्वजनिक यातायात र ट्याक्सीमा हुने असुरक्षा र जथाभावी भाडा असुलीबाट यात्रुले मुक्ति पनि पाएका छन् । यात्रा गर्न सहज र निश्चित भाडा दरले आज पठाओ, टुटल अनि सवारीमा जस्ता राइडिङ सेयरिङ एपले बजार लिँदै छन् । मात्र राज्यले यस्ता व्यवसायलाई प्रोत्साहन गर्न जरुरी रहेको सृजना बताउँछिन् ।
विद्यार्थी वा ‘पार्ट टाइम’ कामको खोजीमा रहेकाहरुका लागि यस्ता राइडिङ सेयरिङ एप रोजगारीको सहज माध्यम बनेको छ ।
आफ्नो अधुरो सपना अर्थात् मास्टरर्स डिग्री पूरा गर्नकै लागि पठाओ राइडर बनेकी सृजनालाई अहिले न हाकिमको गालीको डर छ, न त घरमा केटकेटी आत्तिए कि भन्ने चिन्ता नै । आफ्नो समय मिलाएर राइडिङमा निस्किन पाउँदा उनले अध्ययन, परिवार अनि अन्य घरायसी कामलाई सजिलै व्यवस्थापन गर्न सकेकी छन् । राइडिङबाट हुने कमाइ नै उनको आम्दानीको मुख्य स्रोत हो र यसबाटै जीविकोपार्जन हुँदै आएको उनी बताउँछिन् ।
धादिङ स्थायी घर भएकी सृजनाको सपरिवार काठमाडौँ बसोबास गर्न थालेपछि परिवारको आर्थिक भार पूरा गर्नकै लागि उनी विदेशिएकी थिइन् । राम्रो शैक्षिक योग्यता भए पनि समय व्यवस्थापन र पढाइकै लागि राइडिङलाई रोजेकी उनी आठ कक्षामा अध्ययनरत छोरी सँगसँगै अध्ययनमा लाग्दा खुब आनन्द महसुस गर्छिन् ।
महिलाहरुलाई कमजोर ठान्नेहरूका लागि उदाहरण बनेका छन् महिला पठाओ राइडरहरु । सृजना जस्तै तीन सयभन्दा बढी महिला अहिले पठाओमा आबद्ध छन् । पठाओजस्तै अन्य राइडिङ सेयरिङ एपहरु (टुटल, सवारीमा)लगायतमा पनि महिलाहरुको सहभागिता बढ्दो छ ।
जोखिम लिन तयार छन् महिलाहरु
सृजनाको अनुभवमा काठमाडौँका सडकमा राइडिङ त्यति सहज भने पक्कै छैन । पुरुष होस् या महिला, दुवैका लागि काठमाडौंका सडक जोखिमले भरिएका छन् । त्यसैले निकै होसियारीपूर्वक राइडिङमा निस्किने गरेको सृजना बताउँछिन् ।
कतिपयले ‘कस्तो विस्तारै चलाएको ? हुन त जातैले पाको...’ भनेको सुन्दा भने निकै चित्त दुख्छ सृजनालाई । एक त काठमाडौँको सडक, त्यसमाथि ट्राफिक अनि यात्रीलाई सकुशल गन्तव्यमा पुर्याउनुपर्ने अवस्थालाई धेरैले बुझे पनि कोही कोहीले भने अलि नबुझ्दा चित्त दुख्छ । तर सबैको स्वभाव एकै हुँदैन भन्ने ठानेर सामान्य रुपमा लिने गरेको सृजना बताउँछिन् ।
महिला पठाओ राइडरलाई धेरैले प्रोत्साहित गर्छन् । कतिले निकै इज्जत पनि दिन्छन् । सृजनाले ४ जना मादक पदार्थ (अल्कोहल) सेवन गरेका यात्रीलाई पनि सर्भिस दिइन् । आफूले मादक पदार्थ सेवन गरेको कुरा ती यात्रीहरुले सुरुमै सृजनालाई जानकारी गराए । सृजनालाई निकै हार्दिकताका साथ ‘दिदी मैले अल्कोहल सेवन गरेको छु, मैले दिएको लोकेशनमा झारिदिनुहोला’ भने । उनीहरुको इमानदारिता देखेर सृजनालाई कत्ति पनि डर लागेन र गन्तव्यसम्म पुर्याएको उनी बताउँछिन् ।
सृजनाले अल्कोहल सेवन गर्ने यात्रीसँगको रमाइलो अनुभव पनि यसरी सुनाइन्– ‘पठाओ राइडिङ सुरु गरेदेखि ४ जना अल्कोहल सेवन गरेका यात्रुलाई मैले गन्तव्यसम्म पुर्याएँ । जसमा ३ जना अलि सानो उमेरका भाइहरु हुनुहुन्थ्यो । उहाँहरुले दिदी मैले अल्कोहल लिएको छु, अप्ठ्यारो नमानिदिनु है भन्नुभयो । त्यति मात्र होइन खुट्टा लागे माफ गरिदिनु है दिदी भन्दै स्कुटरमा चढ्नु अगाडि मेरो छुट्टा ढोग्नु भयो । यसले मलाई मानवता यहाँ जिउँदै रहेछ भन्ने महसुस गरायो ।’
सृजनालाई यस्ता कुराले मोटिभेट गर्छ । भन्छिन्, ‘हाम्रो समाजमा असल मान्छेको कमी छैन । यहाँ मानवता हराएको रहेनछ ।’
सृजनाले राइडिङमा निस्किएपछि अहिलेसम्म त्यस्तो हिंसा जन्य क्रियाकलापको सामना गर्नुपरेको छैन । ‘महिलाहरु अलि पेलेर जान सक्दैनन्, जातैले पाएको’ भन्ने जस्ता भनाइ सुन्दा पनि खासै नराम्रो नलाग्ने उनी बताउँछिन् ।
सृजनासँग महिला भएकै कारण ‘रिक्वेस्ट क्यान्सिल’ गरिएका अनुभव पनि छन् । तर यस्ता कुराले उनलाई खासै असर गर्दैन ।
खाल्डाखुल्डी सडक, सडक लाइटको समस्या, ठूला गाडीको पेलानले राइडरहरुलाई निकै सास्ती दिने गरेको छ । अझ रातको समयमा राइडिङ जोखिमयुक्त हुने भएकाले सृजना सकेसम्म रातमा राइडिङ गर्दिनन् ।
राइडिङमा लागेपछि सृजनासँग थोरै तीता र धेरै मीठा अनुभव छन् । राइडरले कस्ता समस्या झेल्नुपर्छ ? महिनावारी हुँदा राइडिङ कति सहज छ ? यस्ता प्रश्न प्रायः महिला यात्रीहरूले सोध्ने गरेको सृजना सुनाउँछिन् । कोही कोही पुरुष यात्रीले पनि सोध्ने गरेको सृजना बताउँछिन् । उनी भन्छिन्, ‘एकजना पुरुष यात्रीले त स्कुटरमा चढेदेखि धन्यवाद भन्न थाल्नुभएको, झर्दासम्म पनि धन्यवादको धन्यवाद भन्नुभयो । त्यतिबेला उहाँको हार्दिकताले निकै खुसी दिएको थियो ।’
सृजनाको आम्दानीको मूल स्रोत नै राइडिङ हो । अध्ययनका साथै परिवार सञ्चालनमा पनि राइडिङबाट हुने आम्दानीले नै धान्ने गरेको छ । पठाओ राइडिङमा सामाजिक, आर्थिक कुराहरु प्रत्यक्ष रुपमा जोडिने भएकाले पढाइमा पनि मद्दत मिलेको उनी बताउँछिन् ।
दिनमा १० देखि १५ जना मानिससँग सङ्गत हुन्छ । केही मानिस बोल्दैनन् भने कोही धेरै बोल्छन् । जसबाट नयाँनयाँ कुराहरु सिक्ने अवसर पनि मिल्छ । यो पेसा निकै रमाइलो छ र समय व्यवस्थापन गर्न पनि सहज भएको सृजना बताउँछिन् ।
नेपालमा सञ्चालनमा आएका राइडिङ सेयरिङ एपलाई सरकारले मान्यता दिएको छैन । सृजना भन्छिन्, ‘राइडिङ पेसा अलि जोखियुक्त भएकाले यसलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्छ । यसलाई थप विस्तार व्यवस्थित गर्न राइडरको सेवा सुविधा र क्षमता अभिवृद्धिका लागि कम्पनी अनि सरकारले चासो दिनुपर्छ ।’
प्रतिक्रिया