शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख ३ गतेका लागि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान

सोमबार, ३० चैत २०७७, १८ : ५०
सोमबार, ३० चैत २०७७

सुर्खेत । लामो समयदेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक वैशाख ३ गतेका लागि आह्वान गरिएको छ ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०७८ वैशाख ३ गते दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यही चैत २९ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख समक्ष प्रदेशसभाको बैठक आह्वान गर्न सिफारिस गरेको थियो । कर्णाली प्रदेश सभामा हालसम्म ५१ वटा विधेयक दर्ता भएका छन् । त्यसमध्ये दुई वटा विधेयक फिर्ता भएका छन् भने ३६ वटा विधेयक सभाले पारित गरेको छ ।

यी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । प्रदेशसभामा दर्ता भइ टेबुल हुन बाँकी ७ वटा विधेयक रहेको छन् । असोज यता मात्रै पाँच वटा विधेयक प्रदेशसभामा दर्ता भएका हुन् । सचिवालयको अभिलेखअनुसार कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक र कर्णाली प्रदेश सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दर्ता भएका छन् ।

यस्तै प्रदेशसभामा पर्वतीय ज्ञान, विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक र शान्ति तथा पुनस्र्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक दर्ता गरिएको छ ।

लामो समय सभा नचल्दा यी विधेयकहरु सचिवालयमै थन्किएका हुन् । त्यस्तै, उपभोक्ता संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिमा छलफलको क्रममा छन् । 

कर्णाली प्रदेशभित्रको राष्ट्रिय वनको संरक्षण र सुु–व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशमा व्यापार व्यवसायको दर्ता तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि विषयगत समितिमा अड्किएका छन् ।  

मुख्यमन्त्री विश्वासको मत लिने सोचमा प्रदेश सभाको बैठक आह्वान गरेसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही के गर्छन् भन्ने कुरा अड्कलबाजी गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्रोतको भनाई  छ । 

एमालेले गत चैत्र ४ गते नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमाले कर्णालीका आफ्नो एकल सरकार बनाउन चाहन्छ । त्यसका लागि एमाले संसदीय दलका नेता समेत रहेका यामलाल कँडेल गृहकार्यमा लागिरहेका छन् । एमाले सांसद सुशील कुमार थापाले भने ,‘कर्णाली प्रदेशमा नयाँ बर्ष मा नयाँ सरकार बन्ने बैशाख ३ गते साँझबाट नयाँ सरकार निर्माण को प्रक्रिया सुरु हुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप