ad
केन्द्रीय संस्करण
समाचार

राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जाऔँ

‘ओली एसियामा मोदीसँग मात्र हार्लान्’

person explore access_timeचैत ३०, २०७७ chat_bubble_outline0

आज बडो असमन्जसमा म बोल्न उठेको छु । बोलूँ कठिन, नबोलूँ झन् कठिनको अवस्था छ । विगत महिनाहरुमा के कस्ता घटनाहरु भए, ती घटनाले यस संसदलाई समेत कसरी प्रभावित गर्यो, र अब संसदको पुनर्स्थापनापछि के कस्ता कठिनाइ छन् संसदभित्र र संसदबाहिर समेत आइरहेको छ । त्यसमा हामी सबै विज्ञ छौँ । सभामुखको आफ्नै पीडा होला ।

व्यवस्था एउटा कुरो हुन्छ, व्यक्ति अर्को कुरा हुन्छ । व्यवस्थागत त्रुटीलाई व्यक्तिले आफ्ना क्षमताका साथ, त्यागका साथ परिस्कार र परिमार्जन गर्दै लैजान सक्छ । कुनै पनि मुलुकमा लेखिएको संविधान परिवर्तन र संशोधन नै नभइ कहिल्यै पनि चिरञ्जिवी भएको छैन । जुन संविधानले आफूलाई अपरिवर्तनीय स्वीकार गर्यो, त्यसको अन्त्य भएको छ । त्यसको उदाहरण नेपालमा पनि छ । अपरिवर्तनीय केही पनि कुरा हुँदैन । त्यस्तो परिवर्तन गर्नुपर्ने, परिस्कार गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने कुरालाई बिर्सिएर एकैपटक ड्याङ्ग संसद भंग भन्ने कदम हामीले देख्यौँ । त्यसपछि संसद पुनर्स्थापना पनि भयो । र, पुनर्स्थापना गर्ने निकायलाई, त्यसका लागि सडकमा आउनुभएका जनतालाई, त्यसका लागि भूमिका निर्वाह गर्ने राजनीतिक नेताहरुलाई, उहाँहरुलाई म धन्यवाद र बधाई दिन चाहन्छु  । अगाडि के त ? अगाडिको कठिनाइको व्याख्यामा म जान चाहन्नँ ।

एउटा कुरा म सम्झन्छु, केही महिनाअघि मैले यहाँ एक पटक सरकारको क्रियाकलापको विषयमा कुरा गर्दा इङ्ल्याण्ड इतिहासबाट पैँचो लिएर ‘इनफ इज इनफ, प्रधानमन्त्री महोदय ! इनफ इज इनफ’ भनेको थिएँ । त्यहाँ विद्रोही नेता चर्चिलले उनकै पार्टीका नेतालाई चेतावनी दिए । चेतावनी दिइसकेपछि तत्काल त च्याम्बर्लिनलाई राजीनामा दिएनन् । तर त्यही प्रसिद्ध ऐतिहासिक लर्ड एम्बेरले प्रस्ताव र चर्चिलले समर्थन गरेको प्रस्तावको आधारमा अन्ततः च्याम्बर्लिनको राजीनामा भयो । तर, त्यो सुखद राजीनामा भयो । बेलायतले अर्को नेता पायो ।

मेरो त्यसबेलाको ‘इनफ इज इनफ’ को बडो चोटिलो, गहकिलो र मलाई परास्त गर्ने खालको उत्तर प्रधानमन्त्रीले दिनुभएको थियो । उत्तर दिन मामिलामा नेपालमा मात्रै होइन मेरो विचारमा एसियामा हारे मोदीसँग हार्नुहुन्छ, अरूसँग त हार्नुहुन्न उहाँ । यस अवस्थामा अहिले सबैभन्दा ठूलो प्रश्न एकछिन अघि शुन्य समयका वक्ताले भन्नुभयो–त्या चुच्चे नक्सा कता हरायो ? त्यो चुच्चे नक्साको भ्रूण हत्या भएको हो ? बालहत्या भएको हो ? या एउटा राजनीति हो ? राष्ट्रिय राजनीति एउटा सानो मोहोरा मात्र थियो ? सतरन्ज खेलको एउटा प्यादा मात्र थियो ?

‘इनफ इज इनफ’ भन्दा भ्रष्टाचारको कुरा थिए । राज्यशक्तिको अनुपस्थितिको कुरा थियो । एकपछि अर्को बलात्कार भइरहेका घटनाको कुरा थियो । अहिले आइकन त संसद विघटन र पुनर्स्थापना त यो भन्दा पनि धेरै गम्भीर कुरा उठाएका छन् । भ्रष्टाचार मात्र भएको छ भनेर पुग्ने भएको छैन, विकासको गतिमा जुन स्थिरता र जडता भएको छ त्यो मात्र सम्झाएर भएको छैन । हामी त राष्ट्र कै नियतिका किनारामा उभिएका जस्ता छौँ ।

म एउटा सानो घटनाबाट सकारात्मक ढंगले प्रधानमन्त्रीका, पार्टी सभापतिहरूका, राष्ट्रपतिका, सभामुखका सबैका भूमिकालाई संकेत गर्न चाहन्छु । २०४७ सालमा हामीले संविधान बनायौँ । हाम्रो नेपाली काँग्रेस भनौँ या हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान बनायौं । हामी उहाँका धेरै शिष्य हामी यही बेन्चमा बसिरहेका छौं । संविधान बनाएपछि उहाँले घोषणा गर्नुभयो–यस्तो सुन्दर संविधान विश्वमा कहीँ छैन । हामीले पनि पत्याएकै हो  । ताली र थपडी बजायौँ । हो छैन हाम्रो सन्तले भनेको । विद्वान नेताले भनेको । संसदीय व्यवस्थाका सबभन्दा जानकार महानुभावले भनेको पनि पत्यायौँ । तर संविधानको परिणति के भयो ? तपाईँलाई थाहा छ । त्यसको परिणति गर्न गराउन, जोगाउन, जोगाउन नसक्नुमा, यसलाई सिध्याउन उद्धत हुनुमा हामी सबै संलग्न थियौँ । म कुनै विरोधी पक्षलाई मात्र जिम्मेवार ठहर्याउँदिन ।

२०७२ को  संविधान त त्यस किसिमको सुखद स्वागतका साथ पनि बनेको छैन । याद राख्नुहोला ठूलो विवादका बीच, विभाजनका बीच, एकातिर दीपावली हुँदै थियो भने अर्कोतिर कालोरात्रि (ब्लाक डे) मनाउँदै हुनुहुन्थ्यो । स्पष्ट छ, नेपाली काँग्रेसले प्रजातन्त्रका माध्यमबाट, अन्य माध्यमबाट दलित, महिला, जनजाति मधेसी, पछि हामीले कर्णाली थप्यौँ । यस संविधानसँग, दलित असन्तुष्ट, जनजाति घोर असन्तुष्ट, मधेस त विद्रोहका लागि लिएका थिए । यस संविधानलाई हामीले सम्हाल्ने कि नसम्हाल्ने ? यसलाई हामीले मलजल गर्ने कि नगर्ने ? मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर जरो लागेको छ कि छैन भनेर हेर्ने ? विरुवा लगाउनेले विरुवालाई केही समय धैर्यपूर्वक जलमल गर्नुको साटो विरुवा उखेलेर त्यसको जरा हेर्ने प्रवृत्ति हामीले विगत महिनाहरुमा देख्यौँ । अब जरा हेर्न नखोज्नेले नयाँ दायित्व लिनुपरेको छ । यो संविधानको रक्षा हामी गर्छौं कि गर्दैनौँ ? रक्षा हामी यही रुपमा गर्न सक्छौं कि यथोचित परिमार्जनका साथ गर्छौँ ? त्यो परिमार्जन टालटुले हुन्छ या मुलुकको सबै जाति, जनजाति, पहिचान चित्त बुझाउनु हुन्छ ? यो काम कसैले गर्न सक्दैन । चाहेर पनि प्रधानमन्त्रीले गर्न सक्नुहुन्न, प्रतिपक्षका नेता र दलले पनि सक्नुहुन्न । संविधानको पहिलो परिभाषा के हो भने संविधान मूलतः सहमतिको दस्तावेज हो । यो मेरा शब्द होइनन्, विश्वका इतिहासमा सबैभन्दा लोकप्रिय रहेको, सबैभन्दा चिरञ्जिवी रहेको अमेरिकन संविधान, सबैभन्दा सानो र चुस्त रहेको सो संविधानमा त्यस संविधानका मस्यौदाकारले लेखे, ‘मेरो चित्त नबुझेका कुरा धेरै छन्, तर मेरा कुरा वर्षेनी बदलिरहेका छन् । कुनै समय राजतन्त्रको सपोर्टर थिएँ । आज विरोधमा छु । कुनै दिन मेरो पनि विचार बदलिएला । आजको सहमतिको आधारमा कुरा गर्छु । राज्य र अधिकारको कुरा गर्छु । राष्ट्रपतिको सापेक्ष अधिकारको कुरामा, यस संविधानमा लेखिएको कुरामा म सहमत छैन’ भनेर संविधानका प्रमुख मस्यौदाकार बेन्जामिन फ्यांकलिन बोलेपछि उनको प्रान्तले सही गर्न मानेको थियो ।

आज सबैभन्दा पहिले यस सदनको माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्छु । बाहिर सब कुरा आइरहेका छन् । को प्रधानमन्त्री बन्ने भन्ने कुरामा, प्रधानमन्त्री मानौँ सडकमा फ्याँकिएको छ । शेरबहादुरजी, महन्थ ठाकुरदेखि प्रचण्डसम्म । वर्तमान प्रधानमन्त्री त चिरञ्जिवी प्रधानमन्त्री भइहाल्नु भयो । प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन । पहिलो प्रश्न जवाफ दिनुस् यो संविधानलाई बचाएर यसैमा हामी टेकेर अगाडि बढ्ने हो अथवा यसलाई २०४७ सालको जस्तै बिजोग गर्ने हो ? अथवा चच्चे नक्साको जस्तै बिजोग बनाउने हो ? दोस्रो कुरा, अब हामीले संविधान लेख्दा कसरी लेख्छौँ ? चुनावको कुरा आएको छ, यसमा कुनै शंका छैन कि चुनाव लोकतन्त्रको अत्यन्तै सार्थक र विश्वस्त कसौटी हो । चुनावमा त जाने तर कसरी जाने ? सबै मिलेर जाऔं यसै सरकारको नेतृत्वमा चुनावमा जान हामी सबै तयार हुन्छौं कि ? कुनै व्यक्ति वा शक्तिले बाहिर बसेर विद्रोह गर्छ कि ? याद राख्नुस् चुनावमा पनि सहमतिमा जाने कुरा हो ।

स्वयम् सभामुखलगायत अनेकन क्रान्तिकारी संलग्न भएको बेलामा २०४७ सालको संविधान हामी मान्दैनौँ भनेर मुख्यगरी यत्तिले मात्रै भनेका थिए । ती व्यक्ति मुस्किलले १२ वा १३ जना कति थिए । मलाई थाहा छ पूर्व सभामुख महरा पनि त्यतिबेला हाउसमा आउनुभएको थियो । त्यही सानो समूहले तत्कालीन संविधानलाई नमानेको हँदा ०४७ सालको विनाशको विजारोपण त्यहीँ भएको थियो । त्यस्तो समय आज पनि आएको छ । त्यसैले म सभामुखको माध्यमबाट के भन्न चाहन्छु भने कसैलाई विष वमन गर्न चाहन्नँ, कसैको प्रताडना गर्न चाहन्न, प्रधानमन्त्रीको प्रताडना भित्रबाट बाहिरबाट सबैतिरबाट गरिसकेका छौँ । एक पटक म उहाँलाई के भन्छु भने आफूभन्दा, आफ्नो अहम्भन्दा माथि उठेर, हिजो त उहाँले प्रतिपक्षको नेता समेतलाई आफ्नो इरादामा बगाउनु भएको थिएन, सभामुखसमेतलाई विश्वासमा लिनु भएको थिएन  । संकट एक दिनमा आएको होइन, क्रमशः आएका छन् । र, म विनम्रतापूर्वक भन्न चाहन्छु मुख्यतः प्रधानमन्त्रीको कारणले आएको छ । अब अप्ठेरो समय आएको छ, प्रधानमन्त्रीलाई तिमीले छोड मात्रै भनेर पुग्नेवाला छैन, समाधान पनि दिनुपरेको छ ।  यसमा मधेसवादी पार्टीलाई, काँग्रेसलाई स्वयम् कम्युनिस्टलाई पनि फरक परेको छ । दिनप्रतिदिनको विवाद, दिनप्रतिदिनका भ्रष्टाचारको कथा, हाम्रो संसदको भनाभन र जुहारीबाट हल हुँदैन । हामी जुहारीमा व्यस्त छौँ । त्यसैले भावुक भएर म यस उमेरको मोडमा भन्न चाहन्छु, हामी यसका लागि जम्मा भएका होइनौँ ।  आज मुलुकलाई यो अवस्थामा पुर्याउनका लागि म दुखी छु । यो संसदमा हामी सबै दोषी छौं । अब हामी अर्को बाटो जान चाहन्छौँ भने को जिम्मेवार छ त ? जिम्मेवार खोजिन्छ । कोही भन्छन्, चीनले यस्तो गर्यो कोही भारतले यस्तो गर्यो भन्छन् त कोही युरोपियनले यसो गर्यो । अहँ, हामी त्यसमा सहभागी नहुन्जेल कसैले केही गर्न सक्दैन । त्यसैले हामीले आफैलाई चिह्याऔँ र यस संकटको घडीमा सबै एक भएर कसरी राष्ट्रिय सहमति गर्न सक्छौं, चुनावै अघि पनि जरुरत पर्छ भने राष्ट्रिय सहमतिको सरकार समेत बनाउन तयार होऔं । होइन भने जुन भावनामा हामीले प्रधानमन्त्रीको चुनाव गराउने एकाधिकारलाई अस्तिको संविधानमा निरस्त्र गरेका थियौँ त्यसलाई ध्यानमा राख्दै संसदलाई पूरा कार्यकाल चल्न दिऔँ । म मेरै गोरुको बाह्रै टक्का गर्ने पक्षमा छैन । मैले नै भनेको मान्न पर्छ भन्ने पक्षमा छैन ।

यो देशका सबैभन्दा बलवान मानिस मैले भनेको सबै कुरा ठीक छ भनेर भन्दै हुनुहुन्छ । यो भन्दा हामी मै देश, मै पार्टी भन्ने अवस्थामा पुग्छौँ । म प्रधानमन्त्रीलाई भन्छु आजको राष्ट्रिय नियतिलाई आफ्नो तजबिजको कुरा नमानी, संसदमा उपस्थित प्रत्येक पार्टी, नागरिक समाजले उठाएका एकपछि अर्को ज्वलन्त सवालहरुलाई सम्बोधन गरिकन नयाँ उचाइ प्राप्त गर्नुस् । नेपालमा ओलीले साँच्नै नै नयाँ युगको प्रबर्द्धन गरे भन्ने होस् । जालझेल गरेर शकुनीले पासा फ्याँकेजस्तो दाेबारा पासा फ्याँकेर फेरि पाण्डवलाई बनबास पठाएजस्तो फेरि संसद विघटन गर्ने दिशामा नगइदिनुस्, यति प्रार्थना गर्न चाहन्छौँ ।

(प्रतिनिधिसभा बैठकमा प्रदीप  गिरीले गरेकाे सम्बाेधनकाे सम्पादित अंश)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.