शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डमा लकडाउन खुल्यो, मध्यरातमै पबमा भीड

सोमबार, ३० चैत २०७७, ०८ : ५०
सोमबार, ३० चैत २०७७

 

लन्डन । सन् २०२१ को सुरुबाटै बन्दाबन्दी (लकडाउन) को मारमा परेका इङ्ल्यान्डवासीहरुले आज सोमबार ( १२ बजे राति) बाट आंशिक मुक्ति पाएका छन् ।  पब गार्डेन, रेस्टुरेन्ट, अत्यावश्यक बाहेकका रिटेल पसल, हेयर ड्रेसर, ब्युटी नेल सलुन, जिम, स्पा, स्विमिङ पुल आदि व्यवसाय  पुनः खोल्न पाउने  भएका छन् । नयाँ प्रकृतिको कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि सरकारले ५ जनवरी २०२१ बाट  तेस्रो राष्ट्रव्यापी लकडाउन घोषणा गरेको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत हप्ता सम्बोधन गर्दै दोस्रो चरण अन्तर्गत अप्रिल १२ देखि पूर्व घोषित रोड म्यापअनुसार नै लकडाउन खुला गरिने घोषणा गरेसँगै इङ्ल्यान्डवासी थप उत्साहित बनेका थिए । सोमबारबाट पब, रेस्टुरेन्टले बढीमा ६ जनाको समूहलाई आउटडोर (बाहिर) टेबल सर्भिसमा  खाना तथा पेय पदार्थ बिक्रीवितरण गर्न पाउने भएका छन् । लकडाउन सहज भएसँगै  इङ्ल्यान्डका कतिपय पबहरुमा रातको १२ बजे नै मानिसहरुको भीड लागेको थियो ।

आजबाट स्पा, थिम पार्क, चिडियाखाना, पुस्तकालय, कम्युनिटी सेन्टर पनि खुल्नेछन् । एउटै घरका परिवार इङ्ल्यान्डमा होलिडे जान सक्नेछन् तर खाने बस्ने उनीहरु आफैंले प्रबन्ध गर्नुपर्नेछ । बिहेमा १५ जना र अन्त्यष्टिमा बढीमा १५ जनासम्म सहभागी हुन पाउनेछन् । सोही नियमलाई मध्यनजर गर्दै  बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको यही अप्रिल १७ मा हुने अन्त्येष्टि कार्यक्रममा ३० जना मात्र उपस्थित हुन पाउने बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले जनाएका छन् ।

यसैगरी ड्राइभिङसम्बन्धी तालिम लिन पाइने छ तर ड्राइभिङ परीक्षा भने २२ अप्रिलबाट मात्र दिन पाइनेछ ।  केयर होम भिजिटर सङ्ख्या बढाएर प्रतिघर दुई जनालाई भेटघाट गर्न छुट दिइएको छ । अभिभावक र बालबालिका (५ वर्षमुनिका बाहेक) १५ जनासम्मले इन्डोर गतिविधि गर्न पाउनेछन् । चरणबद्ध रुपमा लकडाउन सहज बनाउँदै लैजाने सरकारी घोषणा अनुसार आगामी १७ मेमा विदेश यात्रा सुरु हुन सक्ने आशा सरकारको रहेको पनि बताएका छन् । तर, युरोपसहित अन्य देशमा कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले अन्तरराष्ट्रिय यात्रा तय गर्न हतारिन नहुने बताइएको छ ।

हाल जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिएसँगै पछिल्लो समयमा बेलायतमा कोरोना सङ्क्रमणको प्रभावमा निकै कमी आएको छ । तेस्रो लकडाउनको अवधिमा सङ्क्रमण दर, मृतक सङ्ख्या र अस्पताल भर्ना हुनेको सङ्ख्या महामारीयताकै उच्चतम् बिन्दुमा पुगेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या ७० हजारको हाराहारीमा पुगेको थियो भने दैनिक मृतक सङ्ख्या एक हजार ८ सय  नाघेको थियो ।  तेस्तै अस्पताल भर्ना हुनेको सङ्ख्या करिब ४० हजार पुगेका थिए ।तर, लकडाउन खुल्नु केही घण्टा अगाडि सार्वजनिक तथ्यांक अनुसार दैनिक मृतक सङ्ख्या  २४ घन्टामा  मात्र ७ जनामा झरेको थियो भने सङ्क्रमित सङ्ख्या एक हजार ७ सय रहेको छ । मृतक सङ्ख्या  विगत सात महिनायताकै कम भएको अधिकारीहरुले बताएका छन् । महामारी सुरु भएयता बेलायातमा एक लाख २७ हजार ८७ जनाको मृत्यु भइसकेको छ भने ४३ लाख ६९ हजार ७७५ जना सङ्क्रमित भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जनाएको छ । बेलायतमा  खोप वितरण कार्य तीव्र बनाइएको छ । हालसम्म  तीन करोड २१ लाख २१ हजार ३५३ जनाले खोपको पहिलो र ७४ लाख ६६ हजार ५४० जनाले दोस्रो डोज लिइसकेका छन् । खोपको पहिलो र दोस्रो गरी तीन करोड ९५ लाख ८७ हजार ८९३ डोज खोप वितरण भइसकेको छ ।

बेलायतमा  गत वर्षको मार्च २३ तारिखबाट पहिलोपटक  तीन महिनाभन्दा लामो लकडाउन गरिएको थियो भने नोभेम्बर ५ बाट  ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो । तर, डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै  नयाँ कोरोना भाइरस भेरिएन्ट देखा परेपछि सङ्क्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो । जनवरी ५ बाट इङ्ल्यान्डमा तेस्रो देशव्यापी लकडाउन गरिएको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप