उड्यो ठमेलको चमकधमक रङ्ग, अब रात्रिकालीन व्यवसायमा खतरा
पर्यटक कुरिरहेको ठमेलमा नयाँ वर्षको छैन रौनक
काठमाडौं । कतै बाँसुरी र सारङ्गीको सुरिलो आवाज त कतै ड्रमसेटको लाउड साउन्ड, कतै दोहोरी घन्किरहेको हुन्थ्यो त कतै हेभी मेटल गीत । रातभर पार्टी जम्थ्यो । स्वदेशी र विदेशीको भिड थामिनसक्नुहुन्थ्यो र पो नयाँ वर्ष आएजस्तो हुन्थ्यो ठमेलमा ।
रुसी पर्यटन व्यवसायी केटको सम्झनामा विगतका वर्षहरुमा ठमेलमा नेपाली नयाँ वर्षको चहल–पहल साँच्चै अद्भूत थियो । ह्यान्डीक्राफ्ट र पस्मिना पसले, होटल रेस्टुरेन्टका मालिक र फुटपाथ व्यापारीसम्मले नयाँ वर्षमा मनग्ये कमाउँथे । गत वर्ष लकडाउनका कारण देश नै ठप्प भयो, ठमेल अछुतो रहेन । यसवर्ष अहिलेसम्म त ठमेल खुलै छ, तर कोरोनाको त्रासका कारण नेपाल घुम्न आउने पर्यटकहरुको संख्या न्यून छ ।
‘पर्यटकहरुका लागि भिसा प्रक्रिया कडा छ । त्यसमाथि प्लेन टिकट महंगो, अनि कोरोनाको त्रास छँदैछ,’ पर्यटन व्यवसायी केटले भनिन्, ‘विगत वर्षहरुमा मस्कोबाट हाम्रो ट्राभल एजेन्सी हुँदै महिनामा औसत दुुईवटा टोली नेपाल भ्रमणमा आउँथे, एउटा टोलीमा औसतमा १५ जना हुन्थे ।’
पर्यटकहरु धेरै आउने भएकाले आफूले सिजनको समय नेपालमै बिताउने गरेको केट बताउँछिन् । उनले भनिन्, ‘सामान्यतः मार्च–अप्रिल र अक्टोबर–नोभेम्बरमा म नेपालमै हुन्छु । तर, गत वर्ष लकडाउनले बस्न पाइएन । यसपटक पनि सिजनको समय पर्यटक आएका छैनन् ।’
अर्को साता बल्ल ९ जनाको टोली मस्कोबाट आउने बताउँदै केटले भनिन्, ‘हामीले नेपाल भ्रमणका लागि प्रचार पनि गरिरहेका छौं ।’ लकडाउनपछि केटले रुसी पर्यटकहरुलाई नेपाल भित्र्याउन लागेको यो नै पहिलो अवसर हो । ‘भिसा प्रक्रिया खुकुलो हुने हो भने पर्यटकहरुलाई नेपाल ल्याउन सहज हुन्छ,’ उनले भनिन् ।
कोरोना महामारी सुरु भएयता विश्वभर पर्यटन क्षेत्र घाटामा छ । पर्यटन गाइड विक्रम थापामगर पर्यटकीय गतिविधि ठप्प भएपछि नुवाकोटस्थित गाउँ फर्किएर केही समय कृषिकर्ममा संलग्न भए । ‘लकडाउनपछि यस क्षेत्रबाट गुजारा चल्ने अवस्था रहेन । त्यसकारण, गाउँ फर्किएर कृषिमा संलग्न भएँ । खेतीपातीसँगै बोयर बाख्रापालन पनि थालेको छु,’ थापाले रातोपाटीसँग भने, ‘लकडाउन खुलेको केही महिनापछि अब केही होला कि भनेर काठमाडौं फर्किएको हुँ । तर, यस क्षेत्रको अवस्था अझै सुध्रिएको छैन ।’
कोरोनाको अर्काे लहर आउन सक्ने त्रासको मारमा ठमेल छ । अवस्था सुध्रिएला भन्ने आशमा बसेका ठमेलका धेरै व्यवसायीहरु अहिले अप्ठ्यारो अवस्थामा छन् । ‘मेरोमा सामान किन्ने ग्राहकमध्ये ९० प्रतिशत विदेशी हुन्थे,’ १० वर्षदेखि ठमेलमा पस्मिना पसल चलाइरहेका शिव काफ्लेले सुनाए, ‘सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेसँगै व्यापार बढ्ने आशमा सामान थपें । अहिले लगानीकै मुल्यमा सेलमा राखेर बेच्न पनि नसकिने अवस्था आयो ।’
अझै यस्तै अवस्था रहिरहे कपडा नै ड्यामेज हुने अवस्था आउने बताउँदै काफ्ले भन्छन्, ‘भकारीमा राखेको अनाजमा किरा परेजस्तो अवस्था पो आउला कि भन्ने भयो । २०७७ साल घाटामा गयो, ०७८ साल नजाओस् भन्ने कामना हो ।’
ठमेल क्षेत्रमा २० वर्षदेखि व्यवसाय गरिरहेका भैरव पाण्डेको अनुभव पनि यस्तै छ ।
‘०७७ सालमा जस्तो घाटा कहिल्यै व्यहोरिएन । लकडाउनले ३–४ महिना त पसल नै बन्द गर्नुप¥यो’ पाण्डेले भने, ‘त्यसपछि पनि नियमित खोल्न पाइएको छैन । अहिलेसम्म डरै–डर छ ।’
अब रात्रिकालीन व्यवसायमा खतरा
ठमेलमा दिउँसोको समय हुने व्यापार ठप्पजस्तै भइरहेका बेला रात्रिकालीन व्यापार भने जेनतेन चलिरहेकै छ । तर, कोरोनाको दोस्रो लहरको खतरासँगै व्यापारीहरु फेरि चिन्तामा छन् । भेला, पार्टी, सम्मेलन आदिमा रोक लगाउनुपर्ने सुझाव स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दिएको छ ।
मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित भएमा ठमेलको रात्रिकालीन व्यवसाय पनि डुब्ने खतरा रहेकोे ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोलले बताए ।
डंगोलले भने, ‘ठमेलमा दिउँसो हुने व्यापारको ८५ प्रतिशत ग्राहक विदेशी हुन् । रात्रिकालीन व्यवसायमा भने ८५ प्रतिशत नेपाली ग्राहक हुन्छन् । तर, भर्खरै स्वास्थ मन्त्रालयले ९ बजे पसल बन्द गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । यसको प्रत्यक्ष मार ठमेलको रात्रिकालीन व्यापारलाई पर्नेछ ।’
ठमेलमा डिस्को, दोहोरी, लाइभ म्युजिक, डान्स, बार, लाउन्जलगायत क्षेत्रहरु राति चल्ने व्यवसाय हुन् । विदेशी पर्यटक नआउँदा दिउँसोको व्यापार चौपटक भएको डंगोल बताउँछन् । उनी भन्छन्, ‘मन्त्रिपरिषदले स्वास्थ मन्त्रालयको सुझावलाई पारित ग¥यो भने रात्रिकालीन व्यापार पनि ठप्प हुन्छ । त्रास नै त्रास पो हुने भो !’
सतर्कता अपनाएर निर्वाधरुपमा व्यवसाय सञ्चालन गर्न दिइनुपर्ने डंगोलको सुझाव छ । ‘घरमै बस्दा तनाव हुने समयमा रात्रिकालीन व्यवसायले मनोरञ्जन पनि त दिइरहेको छ । यसलाई रोक्दा ठूलो व्यापारिक क्षति हुनेछ,’ उनले भने ।
लकडाउनयता ठमेल क्षेत्रका व्यवसायीहरु ठूलो मारमा परेको र यहाँ कार्यरत कर्मचारीहरु बेरोजगार बनेको डंगोलले बताए । उनले भने, ‘व्यापार नभएपछि धेरै व्यापारीहरू ऋण लिएर पसल टिकाउन बाध्य छन् ।’
कोरोनाअघि ठमेलका ६५ सय व्यवसायी मातहत २ लाख ९७ हजार कर्मचारीहरुले प्रत्यक्ष रोजगारी गरिरहेका थिए । यसमध्ये अधिकांश व्यवसाय होटल, रेस्टुरेन्ट र ट्राभलहरु थिए । लकडाउनले ती व्यवसायहरु ठप्प भएपछि ठूलो संख्यामा कर्मचारी पनि कटौती भएको डंगोल बताउँछन् ।
यसबाहेक रिक्सा र ट्याक्सी चलाउने अनि फुटपाथ व्यापारीलगायत स्वतन्त्र उद्यम गर्नेहरुको ठूलो तप्का पनि काम छाडेर हिँडेको छ,’ डंगोलले भने, ‘त्यसमध्ये धेरैजना गाउँ गए । कतिपय रोजगारी खोज्दै कतार र दुबई पुगिसकेका छन् ।’
सरकारले समस्या पर्दा पनि व्यापारीहरूलाई केही सहुलियत दिन नसकेको उनको गुनासो छ । ‘यहाँ घरधनीले ३० देखि ५० प्रतिशतसम्म भाडा छुट दिएका छन्, तर उनीहरुले सरकारबाट कर छुट पाएका छैनन्,’ डंगोल भन्छन्, ‘व्यापारीहरुले यति धेरै गुमाइसके, सहुलियत केही छैन । बैंकबाट ऋण लिने प्रक्रिया पनि झन्झटिलो छ ।’ तस्बिरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...