बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा खनाल–नेपाल समूहले गर्‍यो ओली पक्षका दुई नेतालाई कारबाही

आइतबार, २९ चैत २०७७, २१ : ५७
आइतबार, २९ चैत २०७७

नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीका दुई नेतालाई कारबाहीको घोषणा गरेको छ । कारबाहीमा पर्नेमा ओली समूहका सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावल रहेका छन् ।

खनाल नेपाल समूहको चैत्र २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको आठौं विस्तारित बैठकबाट उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्णयानुसार थापालाई विभाजन गर्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको हो । उनलाई नवौं महाधिवेशनबाट पारित विधानको धारा ४९ को क को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबैै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरिएको नेता भीम रावलले जानकारी दिए । ।

यसैगरी कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेका  रावलले पार्टीको विधान विपरीत आफूलाई सुदूरपश्चिम प्रदेश कमिटीको सचिव दावी गरेको पाइएकाले जिल्ला कमिटीबाट कारबाही गर्ने निर्णय गरिएको निर्णयमा उल्लेख गरिएको छ ।

त्यसैगरी बैठकले केन्द्रीय प्रतिनिधि, जिल्ला इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी सदस्य तथा जिल्ला कमिटीका पदाधिकारीहरूका रिक्त स्थान पूर्ति गर्ने निर्णय गरेको छ भने जिल्लाहरुमा अध्यक्ष पनि चयन गरिएको छ ।

जसमा कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल, बैतडी जिल्ला कमिटी अध्यक्षमा महादेव भट्ट, अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, कैलाली जिल्ला कमिटी अध्यक्षमा दीर्घबहादुर सोडारी, डडेल्धुरा जिल्ला अध्यक्षमा डा. तारा जोशी, डोटी जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल र बझाङ जिल्ला अध्यक्षमा दिलबहादुर सिंहलाई चयन गरिएको एमाले प्रदेश कार्यालय सचिव दिनेश चन्द्र सुवेदीले जानकारी दिए ।

बैठकले सुदूरपश्चिम प्रदेश अन्तरगत नौ वटै जिल्लामा जनसंगठन पेशागत संगठन, प्रदेश र जिल्ला कमिटी पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने निर्णय गरेको पनि उनले बताए ।

साथै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष डा. भीम रावल, उपमहासचिव घनश्याम भुसाल स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट समेत नरहने गरी ओलीबाट भएको कारबाहीको विरोध गरिएको छ । 

ओलीबाट ठूलो भूल भयोः भीम रावल

बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ठूलो भूल भएको बताए ।

उनले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नबोलाई फागुन २८ गते आफ्ना गुटको बैठकबाट महाधिवेशन आयोजक कमिटी बनाउनु ओलीको ठूलो भूल बताएका हुन् ।

ओलीले पार्टीको विधानमा उल्लेखित बुदा नं. १३ को क तथा १४ र ५८ उलङ्घन गरी महाधिवेशन आयोजक कमिटी बनाएर ठूलो गल्ती गरेको रावलको भनाइ छ । उनले नवौं महाधिवेशनमा जस्तो संरचनामा थियो त्यस्तै संरचना अनुसार जिल्ला प्रदेश वडा स्तरसम्ममा पार्टी र जनसंगठनका सबै कमिटीहरु सकृय तुल्याउन  आफूहरुले कमिटी गठन गरेको पनि दावी गरे । 

देशलाई आवश्यक परेमा आफूहरु कुनै पनि पदमा नरही अनवरत रुपमा पार्टी, देश र जनताका निमित्त बलिदानी दिन तयार रहेको उनको भनाइ छ ।

रावलले केपी ओलीको कारबाही स्वेच्छाचारी र  विधान विपरित भएकाले नडराउन समेत पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरे ।

शनिबार सिके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशनका बेला जनकपुरमा राखिएको पर्चा पम्प्लेट ब्यानरमा ‘स्वतन्त्र मधेश’को नारा लेखेको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

राउतसँग केपी ओलीले गरेको ११ बुँदे सहमतिको सार यही थियो भन्ने प्रश्न गर्दै उनले यसबारे सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको तक्मामा नेपालको पुरानो नक्सा प्रयोग गरिएको प्रति पनि उनले आपत्ति जनाए ।

उनले मानपदवीमा अंकित नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नराखिनुको जवाफ प्रधानमन्त्री ओलीले जवाफ दिनु पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप